काठमाडौं । आजदेखि सुरु भएको साफ च्याम्पियनसिपको पहिलो खेलमा कुवेतविरुद्ध नेपाल हाफ टाइमको खेलसम्म २–० ले पछि परेको छ ।
भारतको बेंगलुरुस्थित श्री कान्तिरेभा रंगशालामा सम्पन्न पहिलो हाफको अधिकांश समय बलमाथि नियन्त्रण बनाएको कुवेतका लागि कप्तान खलिद हाजियाले गोल गर्दै अग्रता दिलाएका थिए । २३औँ मिनेटमा फवाज अलोटाइबीले प्रहार गरेको कर्नरबाट आएको बललाई कप्तान हाजियाले हेडमार्फत गोल गरेका थिए ।
४१औँ मिनेटमा कुवेतका सबाइब अलखाल्दीले गोल गर्दै कुवेतको अग्रता दोब्बर पारेका थिए । अलखाल्दीले बायाँतर्फबाट आएको लोअर क्रसलाई नियन्त्रणमा लिँदै नेपाली टिमबाट रक्षापंक्तिमा रहेका विमल पाण्डेको चुनौतीलाई सहजै बिट गर्दै कुवेतका लागि दोस्रो गोल गरेका हुन् ।
यसबाहेक पहिलो हाफ दुवै टिमले गोलका केही राम्रो अवसर खेर फाले । ३५औँ मिनेटमा अञ्जन विष्टले १८ यार्ड बक्सको दायाँबाट चतुर्याइपूर्ण क्रस गर्न खोजे पनि कुवेती रक्षकबाट डिफेक्ट भएपछि गोलकिपर अब्दुलरहमान मर्जोउकले नियन्त्रणमा लिएका थिए । लगत्तै त्यसको अर्को मिनेटमा फवाज अलोटाइबीले बायाँ भागबाट गरेको क्रसमा मोहम्मद अब्दुल्लाहले गरेको हेडर बारमा लागेर फर्किदा नेपालको खतरा टरेको थियो ।
४०औँ मिनेटमा पुजन उपरकोटीले पेनाल्टी बक्सबाहिरबाट गरेको लामो प्रहार पोस्टको दायाँतर्फबाट बाहिरियो ।
च्याम्पियनसिपमा योपटक दुई आमन्त्रितसहित आठ टिमले प्रतिस्पर्धा गर्दै छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा सात टिम रहे पनि योपटक फिफाको प्रतिबन्धका कारण श्रीलंका प्रतियोगितामा सहभागिताको अवसरबाट वञ्चित छ ।
सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै प्रतियोगिताको सर्वाधिक सफल तथा साविक विजेता भारत, पाकिस्तान र कुवेत छन् । समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।