काठमाडौं । आईसीसी विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा हुने खेलका लागि भएको टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गर्दै अमेरिकालाई ब्याटिङ को निम्तो दिए । समूह ‘ए’मा रहेका दुवै टिमको यो दोस्रो खेल हो ।
छनोटको पहिलो खेलमा हार बेहोरेका दुवै टिम पहिलो जितको खोजीमा छन् । यसअघि, पहिलो खेलमा नेपाल घरेलु टिम जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको थियो । पहिलो खेलमा अमेरिकाले पनि दुईपटकको विश्वविजेता वेस्ट इन्डिजसँग ३९ रनको हार बेहोरेको थियो ।
छनोटमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् ।
समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् ।
दुई समूहबाट समान शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सबाट शीर्ष दुई टिमले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।