site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बाह्र वर्षपछि लेखिएको बाह्रदिने यात्रा
Sarbottam CementSarbottam Cement

कथा क्षेत्रमा विशेष ख्याति कमाएकी इल्या भट्टराई यात्रा लेखनमा पनि उत्तिकै दखल भएको देखिन्छिन् । ‘मिसर’ उनको पाँचौँ नियात्राकृति हो ।

विश्वका सप्ताश्चर्य भनेर पढेका हाम्रो पुस्ताका मानिसहरूले पिरामिड मिश्र देशवासीले बनाएको भनेर जानेका थियौँ । तर, मिसर भनेको त्यही देशको नाम हो र त्यहाँका मानिस मिश्रभन्दा मिसर भन्न रुचाउने रहेछन् भन्ने कुराको ज्ञान यही किताब पढेपछि मात्र थाहा भयो ।

आज इजिप्ट भनेर चिनिने मिसर देशको यात्रा वर्णनले मजस्तो डुल्न चाहने धेरैलाई लोभ्याएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विश्वकै प्राचीनतम सभ्यताको उद्गमस्थल मानिँदै आएको आधुनिक इजिप्टमा विचरण गर्दै गर्दा पाँच हजार वर्षअघिको सभ्यतासित साक्षात्कार गर्न पाएकोमा आनन्दको अनुभूतिसहित छोटोमोटो इतिहासै बताएकी छन् ।

त्यहाँको भौगोलिक अवस्थिति, भाषा, धर्म र विश्वास, रहनसहन, प्राचीनकालदेखि अहिलेसम्मका विकासका शृंखला पनि जोड्न भ्याएकी छन् नियात्राकारले ।

Global Ime bank

विश्वको वल्लो कुनादेखि पल्लो कुनासम्म ख्याति कमाएको पिरामिड मानवनिर्मित पहाडरूपी चिहानस्थल हो, जुन चिहान हेर्न विश्वभरिका पर्यटक यहाँ ओइरिन्छन् ।

यसको निर्माण र विशालताका साथै तत्कालीन फेरोहरूले रासायनिक पदार्थले बेरेर ममिफाइड गरिएका लासहरूलाई अनन्तकालसम्म सुरक्षित राख्नकै लागि यति विशाल संरचना बनाउनेहरूको विश्वास आश्चर्य लाग्ने खालकै छ ।

आफूलाई देवताको अंश मान्ने र सामान्य जनतासँगको संसर्गबाट बच्चा पैदा गर्न नहुने विश्वासअनुरूप राजवंशमा सहोदर सन्तानसँग विवाह गर्ने प्रचलन, अनि शरीरलाई परलोकमा पुर्याउने माध्यम गरुंगो, कलात्मक र महँगो सर्काफगसको निर्माण र उच्च घरानाका मानिसहरूको मृत्यु पनि भव्य उत्सवजस्तो हुने कुरा खुब रोचक ढंगले प्रस्तुत गरेकी छन् लेखिकाले ।

दुई करोडको जनसंख्या बोकेको देशको राजधानी कहिरो सहरको चहलपहल, यसका अनेकन् वैभवसँगै मरुभूमि नै मरुभूमि विस्तारित देशमा वरदान साबित भएर रहेको नाइल नदीको उपभोगबाट हराभरा बनाइएको यथार्थ, विश्वमा ख्याति कमाउँदै आएको कुरा इतिहासबाट थाहा हुँदै आएको हो । तर, यसको प्रत्यक्ष अवलोकनबाट नियात्राकारले प्रकाश पारेका विषयहरू पढ्दा झनै मजा आउनेरहेछ ।

क्लियोप्येट्राको सुन्दरताको कुरा केही सुनिएको थियो । तर, उनको विवाह, सौन्दर्य साधनालगायत उनले आफ्नो सुन्दरताको आडमा लोग्नेमानिसहरूलाई फसाएको लान्छनाका रमाइला प्रसंगहरू बडो रोचक छन् ।

त्योभन्दा रोचक कहानी अर्की रानीको छ– रानी हात्सेप्सुतको । बाह्र वर्षको उमेरमै फेरो तुतमुस द्वितीयसँग उनको विवाह भएको थियो । आफ्ना सन्तान नभएकी हाप्सेप्सुतले सौतेनी छोराको नायबी बनेर शासन गर्दा फेरो (पुरुष राजालाई मात्र दिइने पदवी) प्राप्त भएको रोचक बयान कृतिभित्र छ ।

किन दिइयो त उनलाई ‘फेरो’को पदवी ? कौतूहल जाग्छ ।

तल्लो र माथिल्लो भागमा विभक्त इजिप्टलाई एकै बनाएर राजकाज गर्न पुरुष राजाहरू (फेरो) लाई पनि कठिन हुँदो रहेछ । तर, हात्सेप्सुत यति कुशल शासक बनिछन् कि दुवै इजिप्टका जनतालाई सन्तुष्ट राख्न सफल बनेकी मात्र होइनन्, उनको पालोमा अनगिन्ती निर्माणका कार्यहरू भएछन् ।

उनी कठोर शासक मात्र नभई उत्तिकै जनप्रिय बनिछन् । सायद यही लोकप्रियताले उनलाई रानीबाट राजा (फेरो)मा पदोन्नति हुने मौका मिल्यो । किनकि, फेरो बन्ने कुरा उनको आफ्नो मात्र रोजाइले निर्धारण गर्ने विषय थिएन होला, निश्चय पनि ।

शक्तिशाली र लोकप्रिय भए महिलालाई पनि ‘फेरो’ पदवी दिइनेरहेछ । उस बेलाको व्यवस्थामा पनि ‘फेरो’ उपाधि महिलालाई दिने प्रचलन देख्दा मिसरवासीको महिलाप्रतिको लचकता केही हदमा सराहनीय नै लाग्यो ।

pravaaa1686976416.jpg

यस प्रसंगसँगसँगै संसारको इतिहासतिर फर्किन मन लाग्यो मलाई । हात्सेप्सुतजस्तै शासनकलामा निपुण, लोकप्रिय र दूरदृष्टि भएका महिला कति थिए होलान् संसारभरि ?

तर, सुरुदेखि अहिलेसम्मका राजतन्त्रात्मक मुलुकमा कति छोरीले त्यो कौशल देखाउने अवसर पाए ? पितृसत्तात्मक व्यवस्थाले अहिलेसम्म छोरीलाई राजा बन्ने अवसर दिएन, अधिकांश ठाउँमा ।

महिला भएकै कारण अल्पज्ञानी, अल्पबुद्धिवाला मानव भनेर नकारियो । हुन त ती दूर दिन र प्राचीन कथाको मात्र के कुरा गर्नु, अहिले नै पनि सभ्य समाज भनिने उन्नत लोकतन्त्रको अभ्यास गर्दै गरिएका कति देश र त्यहाँ रहेका राजनीतिक पार्टीले यथार्थमा महिलालाई पुरुषसरह स्थान दिएका छन् र ?

हात्सेप्सुत आफैँले बनाउन लगाएका आफ्नै मूर्तिहरूमा लामो दाह्री राख्न लगाउँथिन् रे ! यो देख्दा उनी महिला भईकन पनि महिला होइन, पुरुष हुने धोको कस्तो हुनेरहेछ भन्नेजस्तो लाग्छ ।

यस्तै पुरुषोचित व्यवहार नपछ्याएको भए त्यस बेलाका एक से एक कुटिल भारदार र ‘किङमेकर’हरूले सायदै उनलाई ‘फेरो’ बनाउने थिए होलान् ।

त्यसैले त कुनै अद्भूत काम गर्ने महिलालाई ‘मर्द’को उपाधि दिइन्छ । यिनै महिला फेरोले निर्माण गरेको मन्दिर ‘दार–ए–बाहीरी’को बयान निकै रमाइलो लाग्छ ।

मन्दिर भनिने ‘दार–ए–बाहीरी’जस्ता उत्कृष्ट वास्तुकला झल्काउने संरचना सबै चिहान हुनेरहेछन् यहाँ ।

आगा खानको मृत्युपश्चात् उनको चिहानमा हरेक दिन फूल चढाउने पत्नीको मायाको सम्मान गर्दै सरकारले नै त्यहाँ पुग्ने सबैलाई फूल चढाउने संस्कृति निर्माण गरेको कुरा सम्झँदै लेखिका भट्टराई नेपाली संस्कृतिसँग तुलना गर्न पुग्छिन् ।

उनी भन्छिन्, “दिनहुँ एउटा फूल चढाउनु के विशेष कुरा भयो र ? हाम्रो समाजमा त नारीले आफ्ना मृत पतिको नाममा आफ्ना सारा जीवन, इच्छा र सपना नै चढाएका हुन्छन् । तर, यतिसम्म गर्दा पनि ती नारीहरूलाई समाजले सम्मान त परै जाओस्, अपहेलना मात्र गर्छन् ।”

यसरी हरेक प्रचलन, संस्कार र पूरै संस्कृति पनि हाम्रो राम्रो कि उनीहरूको भन्ने तुलना विश्लेषण गर्दै अघि बढ्छिन्, इल्या ।

बिरालो पाल्ने सोख, क्रुज यात्राको अनुभव, पाँच हजार वर्षअघिदेखि मिश्रीहरूको क्यालेन्डरअनुसार चल्ने बानी, नाइल नदीको भीषण बाढीले निम्त्याएका दुःखद कथा, अंख भनिने जीवनको साँचोको बयान, मरुभूमिका व्यापारीहरूको करखाँ भन्ने प्रचलन, समुद्री जहाजलाई बाटो देखाउने हेतु ३०० बीसीअघि निर्मित एलेक्जान्ड्रियाको लाइट हाउसको इतिहास, ३५० फिट अग्लो फेरो अफ एलेक्जान्ड्रिया, मिश्रीहरूको केशविन्यास र बिग कल्चर, ममी बनाउने तरिका, स्वर्ग जाने आसमा बनाइने सर्काफगसजस्ता अनेकौँ प्रसंगहरू हाम्रा लागि नौला लाग्छन् ।

यसका लागि किताब नै पढ्नुपर्छ । इल्याको लालित्यपूर्ण वर्णनले झन्डै आफैँ मिश्र घुमेजस्तै आनन्द दिन्छ ।

इल्या यस्ती भाग्यमानी पात्र हुन्, जसलाई एउटी छोरीले टिकट किनिदिएकी छन् । अर्की छोरीले डुल्नलाई साथ दिएकी छन् । श्रीमान् उनको यात्रा चाहनालाई कुनै पनि बहानामा रोकटोक गर्न चाहँदैनन् । परिवारजन प्रोत्साहन गर्छन् अनि गन्तव्य देशका राजदूतले खुसी हुँदै यहीँ नै स्वागत गर्दै आफ्नो देश डुलाइको मिठो अनुभूति लिन सल्लाह दिएका छन् ।

हो, यी सबैको सदाशयताका शब्दहरूको स्मरण गर्दै इल्याले एक सुन्दर कृति उपहारस्वरूप उतारेकी छन् । बाह्र दिनको यात्रा सकाएपछि जीवनमा आइपरेका अनेकन् उहापोहमा थन्किएको प्रारम्भिक पाण्डुलिपिलाई आधार बनाउँदै कलात्मकताले भरिपूर्ण पारेर बाह्र वर्षपछि हामीमाझ ल्याइएको यो किताब केवल डुलेका लामा बयान मात्र हैन, यसभित्र जीवनका अनेकन् यथार्थको विवेचना पनि छ ।

डुल्ने सौख भएकाले पढ्नैपर्छ भने इजिप्ट जाने योजना भएकालाई त यो किताब एक सुन्दर पथप्रदर्शक बन्न सक्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २, २०८०  १०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC