संवत् २०१४ सालमा पहिलो पटक ‘जङ्गबहादुरको बेलाइत यात्रा’ छापिएपछि त्यस कितापमा धेरैले चाख लिए । कितापको निकै चर्चा पनि चल्यो । त्यसैले पुस्तकको दोस्रो संस्करण (२०२०) गरिँदा त्यसमा त्यो यात्रा र त्यस पुस्तकसम्बन्धी धेरै कुरा टिप्पणीमा थपिएका थिए । थपिएका कुराहरूमा मुख्य थियो— बेलाइत (लन्डन)का अखबारहरूले जङ्गबहादुरको बेलाइत वासका समयमा दिएका समाचार र टिप्पणी !
लन्डनका अखबारहरूका ती उद्धृतांश दिँदा प्यारिसका अखबारहरूले जङ्गबहादुरसम्बन्धमा गरेका टिप्पणीहरू पनि दिन पाएको भए हुन्थ्यो भनी कोसिस गरियो तर प्यारिसमा त्यसताका भएका एक–दुई जना नेपाली मित्रहरूबाट कामलाग्दो सहयोग प्राप्त भएन र त्यो इच्छा त्यसै दबाएर राख्नुपरेको थियो ।
तर यसरी दोस्रो संस्करणमा त्यो दिन नसके पनि तेस्रो संस्करणमा दिन सकिन्छ कि भनी प्रयास जारी नै राखियो ।
यस्तोमा, प्यारिसको आर.सी.पी. नेपालका कार्यकर्ता श्री खेमबहादुर विष्ट र उहाँका साथी त्यही संस्थाका नेपालविशेषज्ञ श्री अलेक्जान्डर विलियम म्याकडानल्डसँग लेख्नेको चिनजान भयो । मदन पुरस्कार पुस्तकालयमा आफ्नो कामको सिलसिलामा उहाँहरू आउनुभएको थियो । त्यस बेला जङ्गबहादुर प्यारिस छँदाको वर्णन त्यसै बेलाका फ्रेन्च अखबारहरूबाट जम्मा गरिदिन सकिन्थ्यो कि भनी कुरा उठाइयो ।
उहाँहरूले यो कुरा मादाम एल. बुलनुवासँग भन्नुभएछ र सहयोग माग्नुभएछ । मादाम एल. बुलनुवाले यस कामको अम्बर गर्नुभयो । यो थियो पोहर (२०२६) सालको कुरो ।
श्रीमती बुलनुवाले धेरै मिहिनेत गरी प्यारिसको न्यासनल लाइब्रेरीमा पुराना पत्रपत्रिका खोजी ४/५ ओटाबाट कामलाग्दा कुरा सबै टिपोट गरी टिप्पणीका साथ चाँडै नै म्याकडानल्डलाई बुझाइदिनुभएछ । फ्रेन्च भाषाको त्यो उद्धृतांश र टिप्पणी हामीलाई काम नलाग्ने भएकाले श्री म्याकडानल्डले प्रयागराज शर्माज्यूद्वारा त्यो अनुवाद गराउनुभएछ । त्यसपछि द्वारान्तरबाट त्यो कागत फ्रेन्च राजदूतावासमा पुगी त्यहाँबाट बल्ल पुस्तकालयले प्राप्त गर्यो ।
यहाँसम्म त भयो । तर त्यो छाप्ने बारेमा फेरि केही अप्ठ्यारो पर्यो । प्यारिसका अखबारहरूमा त्यस बेला छापिएका यी समाचार र टिप्पणीहरूमा कतैकतै जङ्गबहादुरका सम्बन्धमा अन्यायपूर्ण शब्द परेका छन् भन्ने महामहिम फ्रेन्च राजदूत श्री फ्राँसेलाई लागेछ र तिनलाई त्यस्तै छाप्न दिन महामहिमले आपत्ति गर्नुभएछ ।
त्यसको सूचना त्यहाँका सेक्रेटरी श्री जिल्वारले हामीलाई दिनुभयो । त्यसमा एकदोटा शब्द हटाएर मात्र छाप्नुपर्छ भन्ने उहाँको आशय भएकाले संकलक (सम्पादिका) मादाम बुलनुवासँग स्वीकृति लिनुपर्ने राजदूतावासले ठहराएछ । अनि श्रीमती बुलनुवाले स्वीकृति दिनुभएपछि बल्ल यो छाप्ने अनुमति हामीले पायौँ । प्यारिससँग लेखापढी गर्नुपर्दा यसैलाई पनि केही महिना त लागि नै हाल्यो ।
ढिलो भए पनि छोरा पाउँदा खुसी लाग्छ । आफूले चाहेको कुरा यो लेख्नेले पनि पायो । त्यसैले माथि नाम लिइएका प्रत्येक सज्जन र महिलालाई ऊ धन्यवाद भन्छ । यति धन्यवाद भनिसकेपछि उल्ले अलि लज्जित हुनुपर्छ । कारण के भने यतिकसा उदारमना व्यक्तिहरूलाई जसरी हुटहुटी लगाई छिटोछिटो काम गराइयो, त्यति छिटो ‘जङ्गबहादुरको बेलाइत यात्रा’ले काँचुली फेरेन ।
तेस्रो संस्करण अझै निस्कने सुरसारमा छैन ।’ के गर्ने ? यस्तो सामग्रीलाई कति कहाँ कोचिराख्ने ? बरु कानै मामा सही ! जनसमक्षचाहिँ यसलाई ल्याइहाल्नुपर्छ भनी मदन पुरस्कारको मुखपत्र ‘नेपाली’ को शरण पर्न आइयो ।
लन्डनका अखबारका उद्धृतांश पढ्नेहरूले लक्ष्य गर्नुहुनेछ— जङ्गबहादुरका समाचारहरूलाई लन्डनका पत्रकारहरूले जुन शिष्ट र गम्भीर कौतूहलका साथ प्रस्तुत गरेका छन्, त्यसको विपरीत प्यारिसका अखबारहरूले सनसनीपूर्ण ढङ्गले उत्तेजनात्मक मार्ग अपनाएका छन् । यसका धेरै कारण हुन सक्तछन् । पहिलो त के भने जङ्गबहादुर लन्डन धेरै महिना बसे । त्यहाँकाहरूले जङ्गबहादुरको बारेमा लेख्ने समयावधि नै धेरै पाए; समाचारको समयावधिले उत्तेजनामा उत्तिकै मात्रामा असर पार्नु स्वाभाविक हुन्छ ।
दोस्रो कुराचाहिँ, लन्डनमा बस्ता भएका जङ्गबहादुरका रोमाञ्च कथाहरू अमुद्रित रूपमा श्रुतिपरम्पराबाट पनि उनीभन्दा पहिल्यै प्यारिस पुगिसकेको हनुपर्छ । प्रेम र यौनकाण्डका विषयमा चिसा बेलाइतनिवासीहरूभन्दा न्यानो फ्रान्सका बासिन्दाहरू बढी खुला र उन्मुक्त रूपमा चाख लिन्छन् र चर्चा गर्छन् । त्यसैको प्रत्यक्ष प्रभाव पनि प्यारिसका पत्रपत्रिकाका यी उद्धृतांशमा देखिएको हुन सक्तछ ।
त्यसबाहेक, बेलाइतका अंग्रेजहरू जङ्गबहादुरका सामरिक मित्र भैसकेका थिए । त्यसैले गोर्खा फौजका लोभी अंग्रेजहरू जङ्गबहादुरका बारेमा सत्यै भए पनि नराम्रा खबर छाप्न हिचकिचाउँदा हुन् । फ्रान्सका सरकार र जनतालाई उनीसँग कुनै आस र वास थिएन । त्यसैले उनका राम्रा नराम्रा खबरमा मीनमेख गरिरहनुपर्ने फ्रेन्च पत्रकारहरूलाई आवश्यक थिएन ।
त्यो जे होस्, बेलाइतका खबर र टिप्पणीभन्दा जोसिला यी उद्धृतांशहरूबाट जङ्गबहादुर उताभन्दा यता बढी रसिला रङ्गिला देखिन्छन् । जङ्गबहादुर आफैँ पनि मित्रराष्ट्र भएको इङ्ल्यान्डमा अलि नियन्त्रित रूपमा बसेको हुनुपर्छ । प्यारिस आएपछि भने— प्यारिस नगरी देख्ता कैलाशमा रह्याका जस्तो कैलाश हो कि भन्या जस्तो लाग्न्या’ प्यारिस देखेर त्यहाँका अप्सराहरू देख्ता बढता मोहित भई ब्रिटिस भारतीय समाजको आँखाबाट मुक्त भएको बोध गरी अलि रसिक भएका थिए कि ? यो कुरो हो भन्ने प्रमाण जङ्गबहादुरले भनेका भनी ‘ओपिनियों प्युब्लिक’ मा लेखिएको यस वाक्यले दिन्छ ।
ब्यालेको नर्तकीहरूको तारिफ गर्दै जङ्गबहादुर भन्छन्— ‘बराबर मेरो मन नेपालको दरबार छाडी तपाईंहरूको माझमा आउनेछ... मैले कहिले पनि यस्तो सुन्दर आकर्ष... यस्तो रूप र यौवन देखेको थिइनँ । त्यति मात्र पनि होइन अंग्रेज र फ्रेञ्चहरूको तुलना गरी फ्रेञ्चहरूलाई बढी मन पराएको उनको उक्ति पनि यसका लागि प्रमाण मान्न सकिन्छ । अंग्रेजहरूको बारेमा मेरो उचा धारणा छ तर यदि मलाई यूरोपमा आफ्नो निवास खोज्नुपर्यो भने म फ्रेञ्चहरूसँग बस्नेछु’, यसबाट उनले इङ्ल्यान्डमा इज्जत जाला भनी बढी उच्छृंखल भै रसपान गर्न नसकेका र फ्रान्समा चाहिँ खुलेआम मनपरी गर्न पाएको छनक पाइन्छ ।
यही सब भएकाले फ्रेन्च पत्रकारहरूले पनि उनको बारेमा लेख्ता मनपरी लेखेको पाइन्छ । पसलेहरूका पैसा नतिरेकादेखि नाच्ने, गाउने केटीहरूलाई गहना र पैसा लुटाई हिँडेको कुरासम्म फ्रेन्च पत्रकारहरूले आफ्नै पाराले अतिरञ्जित पारेको देखिए तापनि तिनमा सत्यता छैन होला भन्न सकिन्न । जङ्गबहादुरको रसिकताको बयान गर्दा उनीहरूले सभ्यतालाई तिलाञ्जलि दिएका छैनन् भन्नलाई लान्सफिल्डको काउन्टेस चौतरानीलाई जङ्गबहादुरले नेपाल ल्याउन खोजेको खबरले मद्दत दिन्छ ।
पाएको भए जङ्गबहादुरले दुई सयभन्दा बढी मीम तरुनीहरूलाई लैजान्थे होलान् भन्ने ‘ओपेनियाँ प्युब्लिक’को अड्कल पनि असत्य होओइन । सोह्र सय ‘गोपिनी’ पुर्याउने महत्त्वाकाङ्क्षा भएका जङ्गबहादुरको विचार गर्ने हो भने यो नयाँ कुरा होइन । आउँदाआउँदै बाटामा कुर्गकी राजकुमारी बिहा गरी ल्याउन सक्ने जङ्गबहादुरले लान्सफिल्डकी चौतरानीलाई नेपाल ल्याउन खोजे भने के आश्चर्य ?
तर एउटा कुरामा चाहिँ हामीले दुःखमनाउ गरे हुन्छ जस्तो लाग्छ । जङ्गबहादुरले कुर्गकी मैयाँ ल्याएजस्तै कुनै फ्रेन्च केटी ल्याउन पाएका भए नेपाली जातभातको ऐनमा उस बेला केही फेरफारचाहिँ हुने थियो होला । अंग्रेजहरूले जङ्गबहादुरलाई मीम चौतरानीलाई नेपाल भित्र्याउन दिएनन् । त्यो पाएको भए तिनलाई दरबारमा राख्न आफैँले बनाएको ‘आइन’ मा जङ्गबहादुरले एउटा दफा थप्नै पर्थ्यो ।
जे होस्, फ्रेन्च पत्रपत्रिकाका ती उद्धृतांशहरूले जङ्गबहादुरका विषयमा धेरै नयाँ कुरा बताउँछन् । उनका बहुपक्षीय व्यक्तित्वमा केही पक्ष र ‘बेलाइत यात्रा’ को नेपाल डायरीले संकेतसम्म गरेका कुनै कुरामा यसले सप्रसङ्ग व्याख्या गर्छ, कुनै आद्योपान्त नयाँ कुरा बताउँछ । अनि कुनै कुरा छाडी नै दिन्छ । यसबाट नेपाली र फ्रेन्च आँखाको फरक पत्ता लगाउन पनि मद्दत हुन्छ ।
नेपाली, अंग्रेजी र फ्रेन्च आँखाले जङ्गबहादुरलाई कस्तो चित्रण गरे त्यसबाट जोडघटाउ गरी इतिहासकारहरूले केके नयाँ बुँदा फेला पार्छन् त्यो हेर्नु छ ।
गन्थन गरे जति पनि हुन्छ, तर मुख्य कुरा— श्रीमती बुलनुवाले खोजखाज गरी तयार पार्नुभएको (स्व. प्रा. श्री प्रयागराज शर्माले अनुवाद गर्नुभएको) प्यारिसमा प्रकाशित तीन दैनिक अखबारले जङ्गबहादुरको फ्रान्सयात्राबारे लेखेको उद्धृतांशहरूको ऐतिहासिक महत्त्व छ भन्नेमा दुई मत नहोला । ती उद्धृतांश र तिनमा मादाम बुलनुवाका टिप्पणीहरू यिनै हुन्–
टिप्पणी–
पेरिसबाट प्रकाशित नेपाली दूतमण्डलसँग सम्बन्ध राख्ने अखबारका विवरणहरू (यस दूतमण्डललाई प्रायः पेरिसका पत्रकारले ‘हिन्दूस्तानी राजकुमारहरू’ भनेका छन्) आद्योपान्त मूल आनुपूर्वीमै सारेर यहाँ अनुवाद गरिएका छन् ।
तलका उद्धरणहरू दैनिक पत्र ला प्रेसको २० अगस्तदेखि १५ अक्टोबर १८५० को वर्णनबाट झिकिएका हुन् ।
नेपाली आगन्तुकहरूसँग सम्बन्ध राख्ने सम्पूर्ण वाक्यहरू नूभेल द पारी अर्थात् पेरिसको समाचार भन्ने प्रायः दोस्रो पृष्ठमा छापिने कालममा छापिएका थिए ।
१४ सेप्टेम्बरसम्म राजकुमार–राष्ट्रपति अर्थात् भविष्यका नेपोलियन तृतीय फ्रान्सका प्रान्तहरूको भ्रमणमा थिए । यसै कारणले गर्दा फ्रेन्च प्रशासनका प्रमुखहरूले जङ्गबहादुरलाई ढिलो गरी मात्र स्वागत गरेका थिए ।
(दीक्षित सम्पादित ‘जङ्गबहादुरको बेलाइत यात्रा’ बाट ।)