काठमाडौं । बंगलादेशका नेपाली भाषी मनोजबहादुर गोरखा भाषा, संस्कृतिसँगै स्वत्वको खोजीमा निस्किएका छन् । सन् १८७१ मा उनको पुस्ता बंगलादेश गएको थियो । बंगलादेशमा रहेको गोरखाको सात पुस्ता भइसकेको छ ।
त्यस बेला हितमान माझी, श्रीलाल माझी, शुसे माझी, जीतबहादुर माझीपछिको पाँचौँ पुस्ताका हुन्, मनोजबहादुर । उनका दुई छोरामध्ये जेठो हिमात्रिबहादुरबाट नातिनी आराध्या पनि हुर्कंदै छिन् । आराध्यासँगै हितमानपछिको सातौँ पुस्ता तयार भएको छ ।
उनले जेठो छोराको नाम हिमात्रि राख्नुको पनि विशेष अर्थ छ । बाङ्ला भाषामा हिमात्रिको अर्थ हुन्छ, हिमालय । हिमालय त नेपालमा छ, नेपालको हिमालयसँग सम्बन्ध जोड्नकै लागि उनले हिमात्रि नाम रोजेका हुन् । उनले रोजेको नाम छोराले पनि स्वीकार गरिसकेका छन् ।
मनोजबहादुरले आफ्नो बाबुको माझी थर छोडेर गोरखा लेख्न थाले । उनीपछिको पुस्ता अब ‘गोरखा’ भएको छ । आफूसहित छोरा र नातिनीसम्मको थर गोरखा लेखाएका मनोजबहादुरले यसबारे अभियान नै चलाएका थिए । उनको बुवा पुस्तादेखि थालिएको अभियानलाई सन् २०१८ मा बंगलादेश सरकारले मान्यता दियो । तर, त्यहाँसम्म आइपुग्न उनीहरूले थुप्रै आरोह–अवरोह पार गरे ।
उनका पिता जीतबहादुर त्यहाँ संस्कृति रक्षाका निम्ति गीतिनाटक गर्थे । महिला पात्र नहुँदा पुरुष नै महिलाको भूमिकामा सजिएर निस्कनुपर्थ्यो । मनोजबहादुर उत्साहित हुँदै ती दिन सम्झिन्छन् ।
संगीतको पाठशाला चलाइरहेका उनले भाका हालिहाले, “है, सलल... सरगाउँको पहिरो, छैन भन्छ नेपाल दरबार... है, ककरी कहाँ ! हो कि होइन, हो हो हो...!”
त्यस बेला गाइने गीत र नाचले उनलाई अहिले पनि उत्तिकै ऊर्जा दिन्छ । ‘है, मासु मिठो मसलाले, चना मिठो घिउले...’ पिताले गाउने गरेको गीत उनले सुनाए ।
“यो त्यति बेला मेरो बुवाले गाउनुहुने गीत । हो, त्यस बेला नै मेरो बुवाले गोर्खाली भन्ने चिज मेरो टाउकोमा घुसाइदिनुभएको हो,” उनी भन्छन् ।
नेपाली गीतको लय चेतना र यसप्रति उनमा त्यही बेलादेखि मोह बढ्यो । अलग राष्ट्र, भाषा, संस्कृति हुँदा पनि नेपाली संकृतिको माया लाग्छ ? प्रश्न टुंगिन नभ्याउँदै जवाफ फर्काइहाले, “तपाईंलाई आमाबुवाको माया कति लाग्छ, हामीलाई नेपाली भाषा, संस्कृति त्यस्तै हो । तपाईंलाई पनि यहाँ नबस्ने हो भने त्यो महसुस हुने थियो”
पछिल्लो समम नेपाली विदेशी मुलुकमा बसाइँ सर्नेक्रम बढेको छ । उनीहरूले दोस्रो पुस्तादेखि पहिचानको संकट व्यहोर्नुपर्ने मनोजबहादुर टिप्पणी गर्छन् ।
“गोरखाका छोराछोरीले गोरखासँग बिहे गर्दैनन् । कसैले योग्यता बनाइसकेपछि मिल्ने योग्यता त खोज्छ, त्यसो हुँदा त्यहीँको समुदायसँग विवाह गरेपछि गोरखा पहिचान संकटमा पर्छ,” उनी भन्छन्, “बंगलादेशमा नेपाली भाषीले आफ्नो पूरा नामपछि गोरखा लेख्ने चलन सुरु भएको छ ।”
आफ्नै खोजीको ‘असाइन्मेन्ट’
चार वर्षपछि हालै मनोजबहादुर दोस्रोपटक नेपाल आएका छन् । उनीसँग आफ्नैबारे खोजी गर्ने ‘असाइन्मेन्ट’ छ । आफूले आफैँलाई दिएको असाइन्मेन्टका निम्ति उनी गोरखाको माझीगाउँ पुगेका छन् । पृथ्वीनारायण शाहको जन्मस्थान पुगेर आफ्नो ‘रुट’ (जरा) भेटिन्छ कि भन्नेमा उनी आशावादी छन् ।
गोरखाबाट फर्किएपछि नेपालका अन्तिम राजा ज्ञानेन्द्रसँग पनि भेट्ने उनको योजना छ । बाबुबाजेले ‘नारायणको साक्षात् अवतार’ भनेकाले ‘राजा’बारे आफ्नो दिमागमा रहेको कौतूहल मेटाउन उनी ज्ञानेन्द्रसँग भेट्ने योजनामा छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटिसकेका छन् ।
नेपाल आएकै मेसोमा उनको कवितासंग्रह ‘मेरो कविता’ पनि सार्वजनिक गरिएको छ ।
नेपाली संस्कृति परिष्कृत हुँदै अघि बढ्ने मनोजबहादुरको विश्वास छ । विश्वभरका नेपालीलाई उनको एउटै आग्रह छ– आफूलाई नबिसर्नुस् । म को हुँ भनेर खोज्नुस्, अनि आफू हुनुको औचित्य राख्ने प्रयत्न गरिरहनुस् ।