site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल एयरलाइन्सको रियाद उडान रोकिँदै, ‘पार्किङ स्लट’ पाएन

काठमाडौं । नेपाल एयरलाइन्सको काठमाडौं–रियाद–काठमाडौं उडान रोकिने भएको छ । नेपाल एयरलाइन्सले २२ अप्रिल २०२२ बाट काठमाडौं–रियाद–काठमाडौं उडान सुरु गरेको हो । 

अहिले काठमाडौं–रियाद–काठमाडौं उडान नेपाल एयरलाइनसको आरए १५८ सिट क्षमताको विमानले उडान गर्दै आइरहेको छ ।  जिएसएमार्फत् ‘पार्किङ स्लट’ लिँदै नेपाल एयरलाइन्सले काठमाडौं–रियाद–काठमाडौं उडान सुरु गरेको थियो । 

नेपाल एयरलाइन्सले सुरुमा साताको तीन उडान गर्दै आएको थियो ।  रियादमा ‘पार्किङ स्लट’ नपाएपछि त्यहाँ गर्दै आएको उडान जुलाई १ तारिखबाट अन्यत्र ठाउँबाट उडान भर्ने तयारी गरिरहेको उच्च स्रोतले जानकारी दियो ।

अक्कुपेन्सी हुँदाहुँदै पनि अहिले नेपाल एयरलाइन्सले काठमाडौं–रियाद–काठमाडौंको उडान साउदीको अर्काे सहर दमामबाट उडान गर्ने तयारी गरिरहेको छ ।  सुरुमा सातामा तीन उडान गरे पनि पछिल्लो समय पार्किङ ‘स्लट’ नपाउँदा एउटा उडानमा सीमित हुन पुगेको छ । 

स्रोतले दिएको जानकारीअनुसार अहिले काठमाडौं–रियाद–काठमाडौं उडानमा अक्कुपेन्सी ८० प्रतिशत छ । जबकि ७० प्रतिशत भन्दा बढी अक्कुपेन्सीलाई नाफाको रुपमा लिइन्छ । नेपाल एयरलाइन्सले आगामी जुन २९ तारिखसम्म रियादमा अन्तिम उडान तयारी गरिरहेको स्रोतले जानकारी दियो ।

अर्थात् जुलाई एक तारिखबाट नेपाल एयरलाइन्सले काठमाडौं–दमाम–काठमाडौं उडान भर्ने गरी तयारी गरिरहेको छ ।  रियादमा एयरलाइन्सले पार्किङ स्लट भनेको समयमा नपाउने र उनीहरूले दिएको समयमा उडान गर्नुपर्ने भएपछि अर्काे सहरबाट उडान गर्ने तयारी गरिरहेको छ ।

रियाद सहर साउदीको राजधानी हो । रियाद–दमामको दुरी ४१० किलोमिटर हो ।  साताको तीन उडान सुरु गरेको नेपाल एयरलाइन्सले अहिले उनीहरूले दिएको समयअनुसार सातामा कहिले दुई त, कहिले एक उडान गर्दै आइरहेको छ । 

सरोकारवाला निकायले चासो नदेखाउँदा सातामा तीन उडान गर्ने भनिए पनि अहिले एउटामात्र उडान हुँदै आइरहेको छ ।  

“हामीले साउदीमा रहेको नेपाली राजदूतावासलाई पनि उडान नसार्न भन्दै ज्ञापनपत्र बुझाएका छौं । जीएसएसँग पनि कुराकानी गर्‍यौँ तर जिएसएका कर्मचारीले पनि हामीलाई हैन, नेपालले कुनै पनि रेस्पोन्स गरेको छैन भन्नुभयो,” एनआरएनएका एक सदस्यले बाह्रखरीसँग भने । 

नेपाली यात्रु मारमा पर्न सक्छन् !  

नेपाल एयरलाइन्सको काठमाडौं–रियाद–काठमाडौं उडान सार्ने भएपछि रियादमा रहेका नेपाली यात्रु मारमा पर्ने ती सदस्यले बताए ।  नेपालीहरूको वैदेशिक रोजगारीको गन्तव्यमध्ये साउदी पनि प्रमुख गन्तव्य हो । 

अहिले वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा चार लाख बढी नेपाली मजदुर कार्यरत छन् ।  जसमध्ये साउदीका राजधानी रियादमा मात्र एकलाख २० हजार नेपाली मजदुर कार्यरत छन् ।  राष्ट्रिय ध्वजावाहक विमान नेपाल एयरलाइन्सले साउदीबाट सीधा काठमाडौं उडान हुँदा धेरै सहज हुन गरेको गैरआवासीय नेपाली संघ, समन्वय परिषद् रियाद (एनआरएनए) का अध्यक्ष महेश घिमिरेले बताए । 

केही दिन अगाडि एनआरएनएका टोली साउदीमा रहेको विभिन्न १८ संघसस्थाले नेपाली राजदूतावसमा रियादको उडान नसार्न भन्दै ज्ञापनपत्र समेत बुझाएको थियो ।

“अहिलेको हामी रियादमा एक लाख २० हजार नेपाली बस्दै आएका छौं । राष्ट्रिय ध्वजावाहकको जहाजबाट जाँदा हामी पनि सहज थियो,” उनले भने, “अरुले ३० केजी तौल दिँदै आएकामा नेपाल एयरलाइन्सले ४० प्लस सात केजी तौल दिँदै आएको थियो ।”

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro