काठमाडौं । आसन्न एसिया कपका लागि पाकिस्तानले प्रस्ताव गरेको ‘हाइब्रिड मोडेल’ एसियन क्रिकेट काउन्सिल (एसीसी) र भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले स्वीकार गरेका छन् ।
पाकिस्तानी समाचार संस्था ड्वनले स्रोतको उल्लेख गर्दै एसिया कपका लागि एसीसी र बीसीसीआई सहमत भएको खुलाएको हो । ‘हाइब्रिड’ प्रस्ताव स्वीकार भएसँगै पाकिस्तानले अब एसिया कपका चार खेल आफ्नो देशमा आयोजना गर्नेछ ।
प्रस्तावअनुसार नेपाल, श्रीलंका, अफगानिस्तान र बंगलादेशले समूह चरणका समान एक खेल पाकिस्तानमा खेल्नेछन् ।
भारतले भने प्रतियोगिताका लागि पाकिस्तानको यात्रा गर्नेछैन । चार खेल बाहेक प्रतियोगिताको सबै खेलहरू तटस्थ भूमिमा हुनेछ । क्रिकेट पाकिस्तानले जनाएअनुसार प्रतियोगिताको लागि श्रीलंकालाई तटस्थ भूमिको रूपमा प्रयोग गरिनेछ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को प्रतिनिधिमण्डलले विश्वकपमा सहभागिताका लागि पीसीबीसँग विचार आदानप्रदान गर्न भर्खरै पाकिस्तानको भ्रमण गरेपछि बीसीसीआईले एसिया कपका लागि प्रस्तावित ‘हाइब्रिड मोडेल’ मा स्वीकृति जनाएको हो ।
“भ्रमणले राम्रो भूमिका खेल्यो,” ड्वनले स्रोतको उल्लेख गर्दै लेखेको छ, “आईसीसीले विश्वकपका पनि यही मोडेल प्रयोग गर्न सकिने जनाउँदै भारतलाई हाइब्रिड मोडल स्वीकार गर्न सहमत गराएको हो ।”
एसिया कप सेप्टेम्बर २ देखि १७ सम्म आयोजना हुने तय भएको छ । प्रतियोगितामा यसपटक भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसँगै नेपाल पनि छनोट भएको छ ।
नेपालले एसीसी प्रिमियर कप विजेताको रूपमा प्रतियोगितामा स्थान बनाएको हो । प्रतियोगितामा नेपाल भारत र पाकिस्तानसँगै समूह ‘ए’ मा छ । नेपालले पाकिस्तानसँगको खेलका लागि पाकिस्तान भ्रमण गर्दा भारतविरुद्ध भने तटस्थ भूमिको प्रतिस्पर्धा गर्नेछन् ।