site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सहकारीले बचत फिर्ता नगर्दा ‘सम्बन्धविच्छेद’ !

काठमाडौं । माइतीघर मण्डलानजिकैको थापाथलीतर्फको सडकमा बिहीबार सहकारीपीडितको आन्दोलनमा एक युवा थकित भएर सडकको छेउमा बसेका थिए । 

करिब ३५–४० वर्ष उमेर समूहका ती युवा हुन् बुटवलका विवेक पौडेल ।  उनले एभरेष्ट बैंकमा राखेको पैसा झिकेर देउराली बहुउद्देश्यीय सहकारीमा २५ लाख रुपैयाँ राखेका थिए । दुबइबाट कमाएर ल्याएको पैसा फसेपछि उनी आन्दोलनको बारेमा थाहा पाएर काठमाडौं आएका हुन् । 

उनी विदेशमा थिए । श्रीमती नेपालमै स्टाफ नर्स पढ्दै थिइन् । श्रीमान–श्रीमतीको सल्लाहअनुसार एभरेष्ट बैंकका पैसा राखिएको थियो ।  तर, पछि सहकारीले बढी ब्याज दिने भनेपछि उनले श्रीमतीलाई नभनी सातदोबाटोमा रहेको देउराली सहकारीमा एक साथीको सल्लाहमा पैसा जम्मा गरेका थिए । 

श्रीमती अट्रेलिया पढ्न जाने भएपछि सहकारीमा पैसा झिक्न जाँदा सहकारीले कार्यालय नै बन्द गरेर हिँडेको कुरा थाहा पाएको उनी बताउँछन् । “सल्लाहअनुसार मेरी श्रीमती विदेश पढ्न जाने कुरा भएको थियो । उसको भिसा पनि लाग्यो । १२ लाख रुपैयाँ चाहिने भएपछि म पैसा झिक्न सहकारी कार्यालय पुगेका थिएँ,” उनले भने, “तर, सहकारीले कार्यालय बन्द गरेर हिँडेछ । त्यसपछि मेरा दुःखका दिन सुरू भए । एक त म तनाबमा थिएँ । त्यसपछि घरपरिवारले अनेक शंका गर्न थाल्यो ।”

घरपरिवारले जुवातास खेलेको भनेर आफूलाई नराम्रो व्यवहार गरेको पनि उनले बताए ।  तर, ब्याज राम्रो आउँछ भनेर बैंकबाट झिकेर सहकारीमा पैसा जम्मा गरेको उनी बताउँछन् ।  पछि श्रीमतीले सहकारीमा जम्मा गरेको थाहा पाएको र पटक–पटक पैसा फिर्ता माग्न जाँदा सहकारीको कार्यालय बन्द भएको अवस्थामा रहेको पनि उनले बताए ।  

सहकारीमा पैसा राखेकै कारण श्रीमतीसँग सम्बन्ध विच्छेद भएको उनले बताए ।  “मलाई सहकारीमा पैसा राख्न लगाउने नर्वेमा छन् । भएको पैसा हिनामिना गरेको भन्दै दैनिक घरमा समस्या हुन थाल्यो पछि श्रीमतीले छोडपत्र दिइन् । मसँग छोडपत्र गरेर श्रीमती अहिले विदेशमा छन्,” उनले भने, “मेरो घरपरिवारले पनि मलाई राम्रो व्यवहार गर्दैन । मेरो ११ वर्षको छोरा छ । मैले जीवनमा कमाएको पैसा नै कहाँ खोज्न जाने थाहा छैन । यो आन्दोलनले केही हुन्छ कि भनेर म आएको हुँ । यो सबै सहकारीमा रकम राखेका कारणले निम्तिएको समस्या हुन् ।”

सहकारीका कारण उनको घर परिवार नै बिग्रिएको उनी बताउँछन् । सहकारीले लोभमा यसरी नपारेको भए आफ्नो बचत बैंकमा नै हुने उनी बताउँछन् ।

“हामी त साधारण मान्छे । जसरी फाइदा हुन्छ, त्यतैपट्टी हामीले सम्भावना खोज्ने हो । श्रीमतीलाई विदेश पढाउन पठाउनका लागि पैसा धेरै चाहिने भएर मैले त्यो पैसा जोहो गरेको हुँ,” बाह्रखरीसँग कुरा गर्दै उने भने ।

सहकारीले आफ्ना बचत फिर्ता नगरेपछि माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन् ।  सहकारीले बचत फिर्ता नदिएपछि बाध्य भएर सडकमा आउनुपरेको अधिकांशको भनाइ छ । यो आन्दोलनको नेतृत्व देउराली बहुउद्देश्यीय सहकारीकी बचतकर्ता सुनितासिंह राजभण्डारीको नेतृत्वमा भइरहेको छ । उनी सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिकी अध्यक्ष हुन् ।

यस आन्दोलनमा ४२ वटा सहकारीबाट पीडित भएकाहरू सहभागी रहेको उनी बताउँछिन् ।  उनको पनि वर्षौँदेखि यस सहकारीमा बचत डुबेको छ । यो सहकारीले सातदोबाटोबाहेक भक्तपुर र न्यूरोडबाट पनि सेवा दिँदै आएको थियो । 

यो सहकारीले बचतकर्ताबाट उठाएको पैसा जग्गा र बिल्डङमा लगानी गरेको तथ्य छ । 

जग्गा किन्न राखेको पैसा देउरालीमा बिलायो

देउरालीका अर्का बचतकर्ता रामनारायण श्रेष्ठ पनि आन्दोलनमा सक्रिय छन् ।  उनको पनि देउरालीमा १२ लाख रुपैयाँ बचत थियो ।  साधारण बचत गरेको भए उनलाई काम परेको समयमा देउरालीले पैसा फिर्ता नदिएको उनी बताउँछन् । 

“जीवनभरी दुःख गरेर कमाएको पैसाले घर बनाएको थिए । अर्काे ठाउँमा जग्गा किन्न त्यो घर बेचेर देउरालीमा बचत गरेको हो । मैले आधा पैसा जग्गा बैना गरेको थिए भने आधा पैसा सहकारीमा राखेको थिए । तर, फिर्ता आएन,” उनले भने, “जग्गाको पैसा समयमा दिन नसकेर जग्गा पनि पास गर्न पाएको छैन । जग्गामा भएको पैससा पनि फिर्ता आएको छैन । मन्त्रालयदेखि विभाग, प्रदेश, सीडीओ अफिस र प्रहरीसम्म पुग्यौं । सुनुवाई भएन ।”

त्यस्तै लतिलपुरको वाग्मती गाउँपालिका गिम्दी ७ का कृष्णप्रसाद तिमल्सिनाले पनि आफ्नो छोरो पढाउन भनेर जम्मा गरेको १२ लाख ५० हजार पैसा देउरालीले फिर्ता नदिएको उनका छोरा सविन तिमल्सिनाले बताए । 

उनका बुवा कृषक हुन् । कृषि व्यवसाय गरेर जीविको चलाउने तिमल्सिनाकी श्रीमती भवानी तिमल्सिना भने विदेशमा छिन् ।  आमाको नाममा पनि एक लाख रुपैयाँ यही सहकारीमा राखिएको छोराले बताए । एक वर्ष अघिदेखि नै पैसा फिर्ता नगरेको उनले बताए ।

यो सहकारीले बचत फिर्ता नगरेको भन्दै ५८ जनाले उजुरी दिएको वाग्मती प्रदेश सहकारी महाशाखाले जानकारी दिएको छ ।  यो सहकारीले २०७६ सालदेखि अडिट रिपोर्ट उपलब्ध नगराएको महाशाखाले बताएको छ । 

सहकारीलाई महाशाखाले प्रत्येक वर्ष अडिट रिपोर्ट बुझाउन भन्दै आएको भए पनि यो संस्थाले भने वेवास्ता गरेको सह–रजिस्ट्रार रोहित पोखरेलले बताए ।  २०७७ सालमा भने सेवा काउन्टर एकीकरण गरेको जानकारी दिएको थियो । त्यसयता यो संस्थाले विवरण नबुझाएको बताइएको छ ।

यो सहकारीको सञ्चालक समितिको अध्यक्षमा रबिन्द्र चौलागाईं, उपाध्यक्षमा अस्मिता खत्री, सचिवमा सुमन महर्जन र कोषाध्यक्षमा मनोहर बस्नेत रहेका छन् । त्यसैगरी सदस्यहरूमा राजु महर्जन, आशालाल महर्जन र गोबर्धन थापा रहेका छन् ।

वाग्मती प्रदेशले हाल तीन हजार २६२ सहकारीको निगरानी गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  ०९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro