काठमाडौं । मध्यपश्चिमाञ्चलमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । पूर्वधार निर्माणका लागि राखेप लागि परेको भन्दै समयमै प्रतियोगिता हुने भएको हो ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चलका विभिन्न स्थान बाँके, दाङ, बर्दिया, सुर्खेत लगायत ठाँउमा आगमी बर्ष हुदैछ । गत बर्ष सम्पन्न सातौ राष्ट्रिय प्रतियोगितालाई मध्यनजर राख्दै युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद समयमा नै पूर्वाधार सम्पन्न गर्न लागि परेका छन् । आवश्यक अनुमानित बजेट समयमै प्राप्त भए पूर्वाधार निर्माणलाई पूर्णता प्रदान गर्न सकिने आठौं राष्ट्रिय खेलकुद सचिवालयका सचिव इन्द्र बहादुर कार्कीले बताएका छन् ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधार निर्माण तथा मर्मतमा ९९ करोड ५८ लाखको लागत अनुमान गरिएको छ । जस अन्तरगत २०७४÷७५ मा १३ करोड ३५ लाख विनियोजित भईसकेको छ । पूर्वाधार निर्माण कार्यका लागि प्राप्त बजेट सम्वन्धित क्षेत्रमा पठाई सकेको पूर्वाधार तथा निर्माण शाखाले जनाएको छ । नेपालगञ्ज पौडी पोखरीको टेन्डर भई निर्माण सुरु भईसकेको निर्माण शाखा प्रमुख अरुण उपाध्यायले बताएका छन् ।
उपाध्यायले नेपालगञ्ज कभर्डहल मर्मत, शुटिङहल निर्माण, भारोत्तोलन एकेडेमी निर्माण, लमही क्रिकेट मैदान निर्माणका लागि प्राप्त रकम क्षेत्रिय खेलकुद विकास समिति मार्फत नै निर्माणको रेखदेख गर्ने गरि बजेट पठाई सकेको बताए ।
यस्तै पूर्वाधार निर्माण तथा मर्मतका लागि युवा तथा खेलकुद मन्त्री राजन केसीले यसै आर्थिक बर्षमा थप २३ करोड ३५ लाख बजेट उपलब्ध गराउने आश्वासन दिईसकेका छन् ।
आठौंको पूर्वाधार तयारीको लागि लाग्ने थप आवश्यक ६२ करोड ८८ लाख आगामी आर्थिक बर्ष २०७५÷७६ मा प्राप्त गर्ने अनुमान गरिएको छ ।