site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘भारत र काजखस्तानको खेलबाट बलियो टिमसँग कसरी खेल्नुपर्छ भन्ने अनुभव पायौँ’

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले भारत र काजखस्तानसँगको खेलबाट बलियो टिमसँग कसरी खेल्नुपर्छ भन्ने अनुभव हासिल गरेको बताएकी छन् । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप–२०२३ मा त्यस्तो अनुभव हासिल गरेको उनले उल्लेख गरिन् ।

नेपाल यो प्रतियोगिताको पछिल्ला दुई संस्करणको विजेता हो । तर, योपटक सेमिफाइनलमा काजखस्तानसँग पराजित भएपछि उपाधिमा ह्याट्रिक गर्नबाट चुक्यो । काठमाडौंमा जारी प्रतियोगितामा आइतबार तेस्रो स्थानका लागि भएको खेलमा भने नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा हरायो ।

समूह ‘ए’को उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको नेपाल काजखस्तानसँग ३–२ को सेटमा हारेको थियो । त्यसअघि, समूह चरणमा नेपाल भारतसँग ३–१ को सेटमा पराजित भएको थियो ।

आइतबार उज्वेकिस्तानको खेलपछि प्रतिक्रिया दिँदै कप्तान अरुणाले प्रतियोगिता समग्र रूपमा राम्रो भएको बताइन् ।

“प्रतियोगितामा आफूभन्दा राम्रो टिमसँग खेल्न पाउँदा हामीले राम्रो अनुभव लिन पायौँ । यसले अबका दिनमा अरू टिमसँग खेल्न सजिलो हुन्छ जस्तो लाग्छ । टिमको रूपमा धेरै कुराहरू सिक्न पायौँ । घरमै भएको प्रतियोगितामा फाइनल पुग्ने मौका गुमाउँदा नराम्रो लागिरहेको छ,” उनले भनिन्, “एसियन गेममा हामीभन्दा उच्चस्तरका टिमसँग प्रदर्शन गर्नुपर्ने हुन्छ । त्यसकारण भारत र काजखस्तानजस्ता शारीरिक रूपमा उच्चस्तरका टिमसँग खेल्दा बलियो टिमसँग कसरी खेल्नपर्छ भन्ने अनुभव पाएका छौँ । यसले एसियन गेममा सजिलो हुन्छ जस्तो लाग्छ ।”

अरुणाले प्रतियोगितामा नयाँ खेलाडीले पनि राम्रो प्रदर्शन गरेको बताइन् । उनीहरूको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको उनले सुनाइन् ।

“नयाँ सबै खेलाडीको प्रदर्शनबाट खुसी छु । किनभने, पहिले टिममा भए पनि खेलको अनुभव भने पाउनुभएको थिएन । अहिले बलियो टिमसँग खेल्दा पनि उहाँहरूले राम्रो प्रतिस्पर्धा दिइरहनुभएको थियो । टिमको रूपमा सबैको प्रदर्शनबाट खुसी छु । सबैले राम्रो खेल्नुभएको छ,” अरुणाले थपिन् ।

नेपाली टिमका मुख्य प्रशिक्षक यान ब्रान्ड्टले पनि प्रतियोगिताबाट आफूले राम्रो अनुभव लिन पाएको बताए । नेपाली टिमले राम्रो आधार बनाएको उनले प्रतिक्रिया दिए ।

“यो मेरो लागि निकै राम्रो अनुभव रह्यो । नेपालमा तीन खेल जित्न यो टिमसँगको सहकार्य राम्रो रह्यो । र, यो प्रतियोगितामा सुखद नतिजा ल्याउन पनि सफल भयौँ,” ब्रान्ड्टले भने, “नेपाली टिमको यो राम्रो आधार र सुरुआत हो । टिममा १४ खेलाडी छन् र हामीले अझै चार–पाँच खेलाडी खोज्नुपर्छ । हामीले अग्ला खेलाडी खोज्नुपर्छ । तर, केही महिनामै उनीहरूलाई पाउन सहज छैन । किनकि, उनीहरू प्राविधिक रूपमा पनि राम्रो हुनुपर्छ । हामीले जुलाईदेखि १८ देखि २० खेलाडीलाई लिएर तयारी सुरु गरेका थियौँ । र, अहिले बाँकी खेलाडीलाई अहिले रहेका १४ भित्र पर्न सहज छैन । मलाई लाग्छ, यो टिम निकै उच्च बनिसकेको छ ।”

उनले उज्वेकिस्तानविरुद्ध पहिलो सेट राम्रो हुन नसके पनि त्यसपछि टिमले उत्कृष्ट प्रदर्शन गरेको बताए ।

“हामीले सहजै जित्यौँ । मलाई लाग्छ, हामीले भारत र काजखस्तानविरुद्धको खेलबाट नेपालले पनि फाइनल खेल्न सक्थ्यो भन्ने प्रदर्शन देखायौँ । उज्वेकिस्तानको स्तर केही तल छ । तर, उनीहरूले पहिलो सेट राम्रो खेले । पहिलो सेटमा हामीले राम्रो खेल्न सकेनौँ । त्यसपछिका तीन सेटमा भने हामीले राम्रो प्रदर्शन देखायौँ । पहिलो सेटमा हामीले धेरै मिस्टेक गर्‍यौँ । डिफेन्समा अपेक्षाकृत प्रदर्शन भएन । दोस्रो सेटपछि हामीले सर्भिसमा योजना परिवर्तन गर्‍यौँ । मलाई लाग्छ, हामीले दोस्रो सेटपछि उज्वेकिस्तानलाई डोमिनेट गर्‍यौँ । र, खेल नै सजिलो बन्यो,” ब्रान्ड्टले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro