site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पदम गिरीले दर्तै नगरेको प्रश्न सोधेपछि...यी हुन् सवाल–जवाफका रोचक दृश्य 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज करिब एक घण्टा १५ मिनेट प्रतिनिधिसभाको रोष्टममा उभिए । 

प्रत्येक महिनाको पहिलो साताको एक बार प्रधानमन्त्रीले प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी जनाउनुपर्ने प्रतिनिधिसभा नियमावली, २०७९ मा व्यवस्था गरिएअनुसार सांसदको प्रश्नको जवाफ दिन रोष्टममा उभिएका हुन् ।

प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ को दफा ५६ को उपदफा १ मा सो व्यवस्था गरिएको छ । संसद् बैठक सुरु भएको ६ महिनापश्चात् पहिलो पटक प्रधानमन्त्रीसँग प्रश्नोत्तर सुरु भएको हो । 

पहिलो दिन नै नियम निलम्बन 
प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको पहिलो दिन नै नियम निलम्बन गरिएको थियो । एक दिनमा १५ सांसदले मात्र प्रश्न सोध्न पाउने प्रतिनिधिसभा नियमावलीको नियम ५६ को (५) निलम्बन गरिएको छ । 

नियम निलम्बनका लागि नेपाली कांगेसका प्रमुख सचेतक रमेश लेखकले प्रस्ताव राखेका थिए । लेखकको प्रस्तावमा नेकपा (एमाले)का सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले समर्थन जनाए । 

नियम आज एक दिनका लागि मात्र निलम्बन गरिएको सभामुख देवराज घिमिरेले जानकारी दिए । आज दल र स्वतन्त्र गरी कुल २० जनाले प्रश्न गरेका थिए । 

स्वतन्त्र सांसदलाई प्रश्न सोध्न नदिने शीर्ष दलको तयारी थियो । तर, स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफूले प्रश्न सोध्न नपाए नग्न हुनेसम्मको चेतावनी दिएपछि नियम निलम्बन गरिएको एक सांसदको दाबी छ ।

प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको थियो । तर, स्वतन्त्र सांसदको व्यवस्थापनका लागि छलफल हुँदा दुई घण्टा ढिलो गरी बैठक सुरु भएको थियो । 

बैठक दुई घण्टा ढिला भएको र पहिलो दिनमै नियम निलम्बन गर्नुपरेकोमा प्रधानमन्त्रीले चित्त दुखाए । 

बैठकमा नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले पहिलो प्रश्न सोधेकी थिइन् । उनको प्रश्नको जवाफ दिनुअघि प्रधानमन्त्रीले आफू बिहान जवाफ दिन उत्सुक भएर आए पनि बैठक बस्न ढिलाई भएकोमा नमिठो लागेको बताएका थिए । 

Prachanda samsadma1684397368.jpg

“आज बिहान प्रश्नोत्तरका लागि जोसका साथ तयारी गरेर आउँदै थिए तर, दुई घण्टा ढिला भयो । अलिकति नमिठो त लागेकै छ,” प्रचण्डले भने, “सुरुकै दिनमा नियम निलम्बन गर्नुपर्ने जुन अवस्था आयो बडो नमिठो अनुभूति हामी सबैलाई भएकै छ । तर, सर्वसम्मत भएको खुसीकै कुरा हो ।”

आजको बैठकको सवाल–जवाफका क्रममा केही रोचक विषय पनि उठान भए । केही यहाँ प्रस्तुत गरिएको छ : 

पदम गिरीले दर्ता नगरेको प्रश्न सोधेपछि...  
दोस्रो प्रश्न एमालेका प्रमुख सचेतक पदम गिरीले गरेका थिए । उनले सुरुआतमा दर्ता नगरिएको प्रश्न सोधे । जनताले गाई बिरामी भएको, नागरिकता विधेयक नपाएको गुनासो सुनाइदिनु भनेकोले उनले प्रश्न गरे । 

Padam Giri1682668604.jpg

“मैले एउटा प्रश्न तयार गरेको थिएँ । यही क्रममा देशका विभिन्न ठाउँबाट किसानहरूले फोन गर्नुभयो । ‘लम्पी स्किन’ रोगले हाम्रा गाईहरू धमाधम मर्न लागे, सयौं हजारौंको संख्यामा गाई बिमारी भएका छन् । भ्याक्सिन पाइएको छैन हाम्रो कुरा उठाइदिनुस् भनेर भन्नुभएको छ,” उनले भने, “फेरि हिजो बेलुका मधेसतिरबाट धेरै साथीको फोन आयो । हजारौं प्लस टु पास गरेका युवाले नागरिकता पाएको छैन । नागरिकता विधेयक कहिले आउँछ , सोध्दिनु भन्नुभएको छ ।”

त्यसपछि मात्रै गिरीले आफूले सोध्नका लागि दर्ता गरेको जिज्ञासा राखे । प्रतिनिधिसभा नियमावलीको ५८ मा प्रश्न गर्न इच्छुक सदस्यले आफ्नो प्रश्नको विषय बैठक बस्ने तीन दिन अगावै सभामुखलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ । तर, दर्ता नभएको प्रश्न सोधिएपछि प्रधानमन्त्रीले कथन नै सुनाए । 

“माननीयले पहिला प्रश्न गर्दा म अलिकति झस्किएँ । रातभरी गाईको निबन्ध पढेर आएको बिहान प्रश्न आउँदा नदीको आएपछि कसरी लेख्ने भन्ने समस्या पर्‍याजस्तो होला कि भन्ने डर लाग्याथ्यो,” प्रधानमन्त्रीले भने, “तर फेरि माननीय सदस्यले दोस्रो भागमा निर्धारित नै प्रश्न सोध्नुभयो त्यसका लागि धन्यवाद ।”

त्यसपछि प्रधानमन्त्रीले गिरीले दर्ता गराएको प्रश्नको जवाफ दिए । 

अनि प्रकाशशरण र रामशरणमा झुक्किए प्रधानमन्त्री ...
प्रधानमन्त्री प्रचण्ड नेपाली कांग्रेसका नेता दाजुभाइद्वय रामशरण महत र प्रकाशशरण महतमा एकछिन झुक्किए । 

तत्कालीन अर्थमन्त्री रामशरण महत भन्नुपर्नेमा वर्तमान अर्थमन्त्री प्रकाशरणको नाम उच्चारण गरे । र, तत्कालै त्यसलाई सच्याए पनि । 

“...त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । डा. प्रकाशशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो,” प्रचण्डले लगत्तै सच्याउँदै भने, “सरी,.. रामशरण महत । प्रकाशरण त होइन् । प्रकाशशरण त अहिले हुनुहुन्छ ।”

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सोधेको प्रश्नको जवाफ दिने क्रममा झुक्किएका हुन् । 

शाहीले पूर्वमाओवादी लडाकुको विषयमा भ्रष्टाचार गरेको आरोप प्रधामन्त्रीलाई नै लागेको भन्दै संसदीय समिति बनाएर छानबिन गर्न तयार हुनुहुन्छ ? भन्दै सोधेका थिए । सोही प्रश्नमा प्रधानमन्त्री अल्मलिएका हुन् ।

जवाफमा प्रधानमन्त्रीले भ्रष्टाचार भएको आरोपमात्रै लागेको बताए । उनले आरोप प्रमाणित भए आफू जेल जानसमेत तयार रहेको बताए । 

रघुजीको व्यङ्ग्य, प्रधानमन्त्रीको जवाफ र रामहरिको चासो 
एमालेबाट प्रश्न सोध्ने तीन सांसदमध्ये एक थिए, रघुजी पन्त । १७औँ नम्बरमा प्रश्न सोध्ने क्रममा पन्तले प्रधानमन्त्री प्रचण्डमाथि व्यंङ्ग्य गरे । 

उनले जनता दुब्लाएको र प्रधानमन्त्री ह्याण्डसम देखिएको भन्दै कटाक्ष गरे । पन्तले केही अघिको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री हराएको सूचना समेत सुनाएका थिए । 

“आज धेरैपछि देखे, मेरो आँखालाई त भ्रम परेको होइन होला । प्रधानमन्त्रीज्यू पहिलेभन्दा ह्यान्डसम ह्यान्डसम देखिनुभएको छ ! झन् दौरासुुरुवाल लगाएर आउनुभएको छ,” रघुजीको व्यङ्ग्य थियो, “पहिलेभन्दा खाइलाग्दो देखिनुभएको छ । कामना छ, जनता पनि खाइलाग्दो देखिऊन् ।”

जवाफमा प्रधानमन्त्रीले आफू खाइलाग्दो नभएको बरु आफ्नो तौल घटेको सुनाए । 

“माननीय सदस्यले अलि धेरै नै (हाँस्दै) प्रशंसा भनुँ की व्यङ्ग्य के भन्ने हो ? त्यसका लागि धन्यवाद !,” प्रधानमन्त्रीले पनि व्यंग्य गरे, “म धेरै खाइलाग्दो भएको छु जस्तो लागेको छैन । मेरो तौल चाहिँ घटी रहेको छ । राम्रो देख्नुभएछ तपाईको आँखालाई पनि धन्यवाद !”

रघुजीको प्रश्नमा रामहरिको उत्तर !
२०औँ अर्थात् अन्तिम प्रश्न सोध्ने पालो नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाको थियो । उनले आफ्नो प्रश्न राखेपछि एमाले सांसद पन्तको कटाक्षप्रति चासो राखे । खतिवडाले पन्तको जवाफ दिँदै प्रधानमन्त्रीलाई सधैैं सदनमा उपस्थित हुनसमेत सुझाए । 

Ramhari Khatiwada1684400180.jpg

“प्रधानमन्त्रीलाई ह्याण्डस देख्ने चलन पनि यहाँ देखेका छौँ । सधैं प्रधानमन्त्री आएपछि अलि ह्याण्डसम देख्ने पद्धति कम होला,” खतिवडाको भनाइ थियो, “संसद्मा उपस्थित भयो भने अरुले पनि ह्याण्डसम देख्ने हामीले पनि ह्याण्डसम देख्ने पद्धतिको विकास होस् ।” 

प्रश्न पहिल्यै आउट भएकोमा सवाल–जवाफ 
प्रधानमन्त्रीलाई संसद्मा सोधिने प्रश्न यसअघि नै मिडियामा प्रकाशित भएको विषयमा संसद्मा सवाल–जवाफ नै चल्यो । एमाले सांसद पन्तले त्यसबारे प्रश्न तेर्साए । पन्तले सोधे– सांसदको प्रश्न पहिल्यै कसले आउट गर्‍यो ? सांसदले प्रश्न नसोध्दै अखबारमा आउनु राम्रो नभएको उनको भनाइ थियो । 

पन्तको जिज्ञासामा प्रधानमन्त्रीले पहिले नै मिडियामा आउनु उचित नभएको बताए । साथै, प्रधानमन्त्रीले आफूले दिने जवाफ पहिल्यै बाहिर आएको छ कि छैन भनेर जिज्ञासा राखिएको समेत सुनाए । 

346122794_179821608357593_2329451137245837756_n1684397015.jpg

“सदनमा माननीय सदस्यहरूले प्रत्यक्ष रूपमा प्रधानमन्त्रीलाई सोध्ने प्रश्न पहिले नै मिडियामा आउनु राम्रो होइन । यसमा सतर्क हुनुपर्छ र रोकिनुपर्छ । अगाडि मेरो कार्यकक्षमा थोरै व्यङ्ग्य जस्तो पनि भयो,” प्रधानमन्त्रीले सुनाए, “एउटा मान्य सदस्यले भन्नुभयो पहिल्यै प्रश्न गएछ । मैले सोधेँ– उत्तर आएको छ कि छैन बाहिर ? मेरो उत्तर पनि बाहिर आइसकेको छ भने त सदनमा बस्नै परेन । कम्तीमा उत्तर चाहिँ आएको रहेनछ ।”

प्रश्न दोहोरिएपछि... 
भ्रष्टाचार, भुटानी शरणार्थी प्रकरण, प्रधानमन्त्रीको भारत भ्रमण लगायतका विषयमा प्रश्न दोहोरिएको थियो । दोहोरिएका प्रश्नमा प्रचण्डले छोटकरीमा जवाफ दिए । उनले आफूले पहिलेनै दिएको उत्तर दोहोर्‍याउनु परेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro