site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फेरि गाउँ पस्ने तरखरमा एमाले : युवालाई पार्टीमा जोड्न ‘छोराछोरी अभियान’

काठमाडौं । ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा गर्न तीन दिनसम्म चलेको नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकबाट सोही प्रकृतिको कार्यक्रम चलाउने निर्णय गरिएको छ ।

गएको फागुनदेखि वैशाखसम्म केन्द्रीय सदस्यलाई गाउँगाउँ खटाएर संगठन सुदृढीकरण र समस्या पहिचान गरेको एमालेले फेरि सोही प्रकृतिको अभियान चलाउने निर्णय गरेको हो ।

केन्द्रीय सदस्यलाई गृहजिल्लामा नभई पृथक् भूगोलमा वर्षभर खटाउने निर्णय गरिएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । एमालेमा दुई निलम्बितसहित ३३५ केन्द्रीय सदस्य छन् ।

“हामीले दुईमहिने मिसन ग्रासरुट अभियान चलायौँ । हामी आफ्नो जिल्लाभन्दा बाहिरको जिल्लामा गएर पार्टी निर्माणमा सक्दो योगदान गर्‍यौँ । यो क्रम एक वर्षभरि कायम राख्ने हाम्रो बैठकले निर्णय गरेको छ,” उनले भने, “मिसन ग्रासरुटकै नाम नदिए पनि आफ्नो भूगोलभन्दा पृथक् भूगोलमा गएर केन्द्रीय कमिटी सदस्यले आगामी एक वर्षसम्म पार्टी काममा योगदान गर्ने निर्णय भएको छ ।”

त्यसबारे कार्यविभाजनसहितको निर्णय पार्टी सचिवालय बैठकबाट गरिने उनले बताए ।

फरक भूगोलमा जाँदा समस्या पहिचान हुने भएकाले केन्द्रीय सदस्यलाई त्यसरी पठाउने तयारी गरिएको स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ बताउँछन् ।

“त्यहाँको स्थानीय समस्या के छन् भन्ने कुरा पत्ता लगाउन बाहिरबाट गएकालाई असहजता हुँदैन । बाहिरबाट गएको नेता कसैको पक्षमा लाग्नुपर्ने हुँदैन,” उनले भने, “त्यसले पार्टी काममा सजिलो हुन्छ । त्यसलाई अभियानकै रूपमा भन्दा पनि केन्द्रीय कमिटी सदस्यहरूलाई खटाउने तयारी हो ।”

गएको मंसिर ४ गतेको निर्वाचन परिणामपछि एमाले गाउँ पसेको थियो । केन्द्रीय सदस्यलाई गाउँगाउँ पठाएर अभियान चलाइएको थियो । यो अभियानले पार्टीलाई चलायमान बनाएको र निर्वाचनमा सघाउ पुर्‍याउने नेताहरूको विश्वास छ । उपनिर्वाचनले पार्टीको मत घटेको निष्कर्षसहित त्यो बढाउनका लागि भूगोलमा जाने तयारी रहेको नेताहरू बताउँछन् ।

ग्रासरुट अभियानका क्रममा ८७५ पालिकाको बैठक राखिएको रिजालले बताए । उक्त अभियानबाट नयाँ सदस्यताका लागि एक लाख १९ हजार ९५ आवेदन आएको र १३ हजार २३८ जना पार्टी प्रवेश गरेको उनले जानकारी दिए ।्

नेता ठाकुर गैरले ग्रासरुट अभियानबाट समस्या पहिचानसहित आएका सुझावको कार्यान्वयन गर्ने निर्णय गरिएको बताए । “ग्रासरुट अभियानबाट धेरै सुझाव आएका छन् । त्यसको कार्यान्वयन गर्ने निर्णय भएको छ,” उनी भन्छन्,” पार्टी सुदृढीकरणमा लाग्छौँ । अब सदनमा पनि जोडदार रूपमा प्रस्तुत हुन्छौँ ।” 

यही वर्षभित्र एमालेका सबै कमिटीको अधिवेशन गर्ने तयारी पनि गरिएको छ । प्रदेश, जिल्ला, पालिका हुँदै वडा कमिटीसम्मको अधिवेशन यसैवर्ष गरिसक्ने निर्णय गरिएको हो ।

युवालाई पार्टीमा जोड्न ‘छोराछोरी अभियान’
एमालेले नयाँ पार्टीप्रति युवा आकर्षित भएको निष्कर्ष निकालेको छ । नेता–कार्यकताका छोराछोरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत दलप्रति आकर्षित भएको भन्दै उनीहरूलाई जोड्न छोराछोरी अभियान चलाउने निर्णय गरिएको एक नेताले जानकारी दिए ।

“मिसन ग्रासरुटको दुईमहिने अभियानले पार्टीमा युवा आकर्षण र युवा सहभागिता विस्तार गर्न जरुरी देखिएको हुँदा नयाँ अभियान सञ्चालन गरिनेछ,” केन्द्रीय कमिटीको पाँचौँ बैठकको निर्णयमा उल्लेख छ, “‘देशभरि छोराछोरी’को नारामा पार्टीका नेता–कार्यकर्ताको घरबाटै युवा कार्यक्रम सञ्चालन गरिनेछ ।”

मध्यपहाडी लोकमार्ग अभियान 
एमालेले मध्यपहाडी लोकमार्ग अभियान र हुलाकी राजमार्गकेन्द्रित अभियान पनि सञ्चालन गर्ने भएको छ । ०७३ मा एमालेले मेची–महाकाली अभियान चलाएको थियो । सोही खालको अभियान चलाउन लागिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

कार्यकर्तालाई पढाउने 
एमालेले पार्टीको प्रशिक्षण र स्कुललाई थप प्रभावकारी बनाउने तयारी गरेको छ । “वैचारिक राजनीतिक प्रशिक्षणको कामलाई नियमित र योजनाबद्ध रूपमा अघि बढाइनेछ । प्रशिक्षणको तह वर्गीकरण हुनेछ,” निर्णयमा भनिएको छ, “उच्च, माध्यमिक र आधारभूत तहका प्रशिक्षणका लागि केन्द्रीय पार्टी स्कुल विभागले पाठ्यक्रम, पाठ्यसामाग्री तयार गर्नेछ ।”

तीन बैठकमा अनुपस्थित हुनेलाई कारबाही 
एमालेले पार्टीका कमिटीहरू भद्दा भएको निष्कर्ष पनि निकालेको छ । लगातार तीन बैठकमा अनुपस्थित हुने सदस्यलाई कारबाही गरिने गुरुङले बताए ।

“सूचना पाएर पनि लगातार तीनवटा बैठकमा अनुपस्थित हुनेलाई कमिटीबाट हटाइनेछ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  २१:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro