काठमाडौं । कलाको न भूगोल हुन्छ न भाषा, जाति र रङ । त्यसैले त भनिन्छ– कलालाई कुनै भूगोल र भाषाले छेक्न सक्तैन । त्यसैले त हो हामी कोरियन ‘ग्याङनम स्टाइल’मा पनि आफ्नो शरीर हल्लाउँछौँ । टेलर स्विफ्टको ‘ब्ल्यान्क स्पेस’ पनि गाउँछौँ । भलै, नेपाली कला विदेशी भूमिमा कति पुगेको छ र पपुलर छ, त्यो समीक्षाको विषय हो । तर, एकाध चलचित्र विदेशका सिनेमा हलमा लाग्न थालेका छन् । अधिकांश सिनेमा त कम्युनिटी हलमा नेपाली दर्शकमाझ मात्र प्रदर्शन हुने गरेका छन् ।
कलाको भूगोल हुँदैन भन्नेचाहिँ निःसन्देह सत्य हो । यद्यपि, नेपाली चलचित्रको आकार निर्धारण गर्ने प्रयास भइरहेको नायक निखिल उप्रेतीको गुनासो छ । नेपाली सिनेमा उद्योगमा मिहिनेत गर्ने प्रचलन नै नरहेको उनी टिप्पणी गर्छन् । ‘बोर्डरलाइन’ नभएको कुरामा अनावश्यक भ्रम छरेर कलालाई आकार दिन खोजिएको उनको भनाइ छ ।
“जसको आकार नै हुँदैन, त्यसलाई निराकार भनिन्छ । यो शब्द सामान्यतः अध्यात्ममा प्रयोग हुन्छ । तर, म यसलाई कलामा पनि प्रयोग गर्छु,” निखिल भन्छन्, “कलालाई म निराकारमा लिन्छु । चलचित्र पनि कला हो । त्यसैले यसलाई म निराकार छ, भन्छु ।”
नेपाली चलचित्र उद्योगले भने आकार बनाएको निखिलको गुनासो छ । फिल्म यस्तो हुनुपर्छ भनेर निर्धारण गरिनु नै गलत भएको उनको तर्क छ । “सायद यहाँका सिनेमा कलेजले यही पढाउँछ कि ! पठाउँछ भने त्यो पढाउने को हो र कतिसम्म भ्रममा बसेको हो ?,” निखिलको जिकिर छ, “कला यस्तो हुनुपर्छ भन्ने कहिल्यै पनि हुँदैन । कला जस्तो पनि हुनसक्छ । मात्रै त्यो राम्रो हुन्छ ।” कलालाई कुनै सीमित घेरामा राख्नु नै आफैँमा गलत भएको उनको धारणा छ ।
कुनै आकार नहुने कला क्षेत्रलाई स्वतन्त्र छोडिदिनुपर्नेमा उनको जोड छ । “नेपाली चलचित्र क्षेत्र पूर्ण रूपमा डिजाइन गर्दैगर्दै घेरामा सीमित गरिएको छ । अहिले सबभन्दा मजबुत घेरा बनेको छ । अहिलेको अवस्थालाई सबैले राइज भन्छ भने म एक्लै यसको विरोध गर्छु,” निखिल अगाडि थप्छन्, “आफैँले बनाएको घेराभित्र खुम्चिएर अहिलेको कलाकार ‘ए’ ग्रेडको कलाकार प्रमाणित हुन सक्तैन । र, त्यस्तो चलचित्र पनि ‘ए’ ग्रेडको हुन सक्तैन ।”
निखिलको विचारमा अर्का नायक धीरेन शाक्य भने सहमत छैनन् । समय र दर्शकको चाहअनुसार सिनेमा बनिरहेको उनको बुझाइ छ । पछिल्लो समय बनाइएका सिनेमा गुणस्तरीय रहेको उनी सुनाउँछन् ।
“म पछिल्लो समय बनेका सिनेमाको अध्ययन गरिरहेको हुन्छु । एकदम राम्रा सिनेमा बनिरहेका छन् । छक्का पञ्जा होस् वा कबड्डी, जारी वा महापुरुष यी सिनेमाले हिन्दी सिनेमालाई पनि पछि पारेका छन्,” धीरेन भन्छन्, “यस्ता सिनेमा अरू पनि बन्नुपर्छ । यसैगरी राम्रा सिनेमा बन्दै जाने हो भने हाम्रो सिनेमा उद्योगले चाँडै फड्को मार्छ ।”
समयानुसार दर्शकको रुचि फेरिने हुन्छ । त्यहीअनुसार सिनेमा पनि फेरिएको धीरनको तर्क छ । एक्सन सिनेमा चल्दा त्यहीअनुसारका चलचित्र बनाउने गरिएको बताउँँदै उनी भन्छन्, “अहिले कमेडी सिनेमा चलिरहेका छन् । छक्का पञ्जा, कबड्डी, महापुरुष, पशुपतिप्रसादजस्ता हास्यरस भएका सिनेमा चलिरहेका छन् । त्यसैले त्यस्तै चलचित्र बनिरहेका छन् । यो स्वाभाविक प्रक्रिया हो ।”
अहिले एक्सनप्रधान सिनेमाको समय नरहेको भन्दै सलमान खानका चलचित्र पनि नचलिरहेको धीरेन बताउँछन् । शाहरुख खानको ‘पठान’बाहेक अहिले भारतीय सिनेमाले पनि नेपालमा खासै राम्रो व्यापार नगरेको उनी स्पष्ट पार्छन् । उनी अगाडि थप्छन्, “हामी नेपाली भएर नेपाली सिनेमा उद्योगलाई सपोर्ट गर्नुपर्छ । गरिरहेका पनि छौँ । यसलाई अझै बढाउँदै लैजानुपर्छ ।”
सानो बजेटमा बनाइएका सिनेमा पनि राम्रो रहेका र त्यसले नेपाली चलचित्र उद्योगलाई उकास्ने काम गरिरहेको धीरेनको धारणा छ । यसले नेपाली चलचित्र उद्योगमा विविधता पनि थपेको उनी बताउँछन् ।
नायिका करिष्मा मानन्धर पछिल्लो समय बनेका इन्टरनेसनल फिल्म फेस्टिभलमा जाने चलचित्रले सिने उद्योगमा विविधता थपेको यथार्थ भएको बताउँछिन् । तर, त्यही मात्र सिनेमा हो भन्नु गलत भएको उनको बुझाइ छ । सिनेमा साहित्य भएको र साहित्य फिक्सन पनि हो भनेर बुझ्नुपर्नेमा उनको जोड छ ।
“साहित्यको कुनै एउटा मात्रै जानरा हुँदैन । जसरी विभिन्न प्रकारका पुस्तक हुन्छन्, त्यस्तै सिनेमान पनि विभिन्न प्रकारका हुन्छन्,” करिष्मा भन्छिन्, “कला/साहित्य फिक्सन पनि हो । त्यसैले यसलाई सीमित घेरामा बाँधिनु हुँदैन ।”
परिकल्पनाको कुनै दायरा नहुने उनी बताउँछिन् । चित्रकला वा पफर्मिङ आर्ट कलाका सबै विधामा परिकल्पना गर्न सकिने तथ्यलाई कसैले भुल्न नहुनेमा उनको जोड छ । सिनेमा पफर्मिङ आर्टको विधा हो ।
“कला यही हुन्छ भन्ने हुँदैन । यो हामीले सोचेभन्दा पनि फराकिलो हुन्छ । कला ब्रह्माण्ड हो,” करिष्मा आफ्नो धारणा राख्छिन्, “कलाको सीमा हुँदैन । यो लिमिटेड छैन । परिकल्पनाको सीमा हुँदैन ।”
रियालिस्टिक सिनेमालाई चलचित्र नै होइन भनेर भने आफूले भन्न नखोजेको उनी स्पष्ट पार्छिन् । रियालिस्टिक सिनेमाले समाजको मुहार देखाउने र त्यो राम्रो पक्ष भएको उनी बताउँछिन् । “सिनेमाले समाजको रियालिटी पनि देखाइरहेका छन् । जसमा हामीले देशको समाज देख्ने र बुझ्ने मौका पनि पाइरहेका छौँ,” करिष्मा भन्छिन्, “यो आफैँमा राम्रो कुरा हो । हाम्रै वरिपरिको कथा सिनेमाले भनिरहेका छन् ।”
तर, सधैँ एकैप्रकारका कला मात्र नरुचाइने उनको भनाइ छ । समयानुसार फरकफरक शैलीको कला दर्शकले रुचाउने उनी बताउँछिन् । एउटै शैली र विधाका सिनेमा कुनै एक समयसम्म मात्र बनाइने उनको अनुभव छ ।
सिनेमा कलेजले रियालिस्टिक मात्र चलचित्र हो भनेर नपढाउने लामो समय ओस्कार इन्टरनेसनल सिनेमा कलेजमा पढाएका महेश त्रिपाठी बताउँछन् ।
“सिनेमा कलेजमा चलचित्रमा के–के चाहिन्छ भनेर पढाउने हो । चलचित्रका इलिमेन्टबारे पढाउने हो,” महेश भन्छन्, “सिनेमामा जति पनि एक्सपेरिमेन्ट पाइन्छ । र, कलेजले सिकाउने पनि त्यही नै हो ।”
नयाँ–नयाँ प्रयोग गर्न पाउने भएर नै साइन्स छोडेर आर्टमा आएको उनी बताउँछन् । “आर्टमा एक्सपेरिमेन्ट गर्न पाइन्छ भनेर नै हामी साइन्सबाट आर्टमा आएका हौँ,” महेश भन्छन् ।
महेशको एकेडेमिक पृष्ठभूमि इन्जिनियर हो । उनी इन्जिनियरपछि सिनेमा कलेज पढेर र पढाएर अभिनयमा आएका हुन् ।
आर्टमा कुनै दायरा नहुने तर हरेक चलचित्रमा त्यसको भ्यालु हुनुपर्ने उनको स्पष्ट धारणा छ । अभिनेता समेत रहेका महेश चलचित्रमा भ्यालु र स्पेस भने हुने र त्यसका आधारमा मूल्यांकन हुने बताउँछन् ।
“सिनेमाले देखाउन खोजेको कुरा स्पष्ट र क्लियर भने हुनुपर्छ,” महेश भन्छन्, “सिनेमाले जे देखाउन खोजेको हो, त्यो भने विश्वसनीय हुनुपर्छ । सिनेमाले क्रिएट गरेको वर्ल्डलाई दर्शकले विश्वास गर्न सक्नुपर्छ ।”
‘जहाँ पुग्दैन रवि त्यहाँ पुग्छन् कवि’ भन्ने उक्ति नै कलाको काल्पनिक संसारलाई लिएर बनाइएकाले यसको सीमित दायरा नहुने महेश बताउँछन् । कसैले यसलाई सीमित गर्छ भने कलाप्रति उसको बुझाइमा रहेको कमजोरीका रूपमा बुझ्नुपर्ने महेशको मत छ ।
फेस्टिभलमा जाने सिनेमा वा लार्जर देन लाइफका चलचित्र सबैमा आर्टको भ्यालु भए त्यसमा प्रश्नचिह्न उठाउन नसकिने र नहुनेमा उनको जोड छ । फिल्म फेस्टिभल सिनेकर्मीका लागि उत्सव भएको उनी बताउँछन् । इन्टरनेसनल फेस्टिभल भन्दैमा नाक खुम्च्याउन नहुने धारणा छ ।
पैसा नभएका रहर मात्र भएकाले चलाएको नेपाली सिने उद्योग
पहिलेका हिरोइन सुपरस्टार, अहिलेका...