काठमाडौं । नायक निखिल उप्रेती नेपाली सिनेमा उद्योग पैसा नभएका रहर मात्र भएकाले चलाएको इन्ड्रष्टी भएको टिप्पणी गर्छन् । लिखित सम्झौता गरेको पारिश्रमिक लिन समेत कलाकारलाई कठिन हुने गरेको उनको भनाइ छ ।
निखिको यो भनाइलाई केही समयअघि चलचित्र ‘प्रसाद–२’ का विषयमा भएको विवादले पनि पुष्टि गर्छ । ०७९ असार दोस्रो साता निर्माण युनिटसहित कलाकार पोखरा पुगेका थिए । सुटिङस्थलमा पुगेको १७ दिनसम्म पनि छायांकन सुरु नभपछि मुख्य कलाकार विपीन कार्कीले मुख खोले । सम्झौताअनुसार पारिश्रमिक उपलब्ध नगराएको उनले बताए । पटक–पटक सम्झौताअनुसार पारिश्रमिक माग गरे पनि निर्माण पक्षले उपलब्ध नगराएपछि आफू पछि हटेको उनले बताएका थिए ।
छायांकन सुरु हुनुभन्दा अगाडि नै सम्पूर्ण पारिश्रमिक उपलब्ध गराउने विपीनसँग सम्झौता गरिएको थियो । तर, निर्माण पक्षले सम्झौता उल्लंघन गर्यो । त्यसमा विपीन सहमत हुन सकेनन् ।
“तर, हिजो आएर सुभास थापा प्रोडक्सन कम्पनीसँगै अर्को कम्पनी पनि जोडिएर सिनेमा बनाउने भनियो । त्यसले बाँकी पारिश्रमिक उपलब्ध गराउने भनियो,” विपीनले ०७९ असार ३० गते बाह्रखरीसँग भनेका थिए, “तर, त्यो कम्पनी दर्ता नै भएको रहेनछ । दर्ता नभएको कम्पनीसँग कसरी काम गर्ने ? पहिला कम्पनी दर्ता हुनुपर्यो । र, दुवै कम्पनीले संयुक्त रूपमा चलचित्र बनाउने निर्णय भएको कागजात हुनुपर्यो ।”
कागजी प्रक्रिया पूरा नभएसम्म सिनेमाको छायांकनमा नजाने विपीनले अडान लिए । त्यो समय चलचित्रको छायांकन नै हुन सकेन । पारिश्रमिकसँगै विपीनले चलचित्रको भिजुअल ल्याङवेजका विषयमा पनि असन्तुष्टि जनाएका थिए ।
यो त एउटा उदाहरण मात्र हो । पारिश्रमिक नपाउँदा धेरै कलाकार आफूले अभिनय गरेको चलचित्र रिलिजको समयमा पनि पब्लिसिटीमा नहिँडेका थुप्रै घटना छन् । पारिश्रमिक समयमै नदिँदा कतिपय निर्माता र निर्देशकबीच सम्बन्धमा दरार आएका समाचार पनि बेलाबेलामा बाहिरिन्छन् ।
अभिनेत्री लक्ष्मी बर्देवा पारिश्रमिक उठाउन सहज नरहेको अनुभव सुनाउँछिन् । त्यसैले उनी सुरुमै पारिश्रमिकबारे आफ्नो सर्त निर्मातासमक्ष स्पष्ट राख्छिन् ।
“लिखित सम्झौतामा उल्लेख भएको मितिमा पैसा नदिनु पनि समस्या नै हो । पटक–पटक फोन गरेर पारिश्रमिक माग्नुपर्ने अवस्था अहिले पनि छ,” लक्ष्मी भन्छिन्, “भाडा तिर्ने पैसा छैन । बिरामी परेँ, उपचार गर्ने पैसा भएन भनेर माग्नुपर्ने अवस्था अहिले पनि छ ।”
देखिने निर्माता एउटा तर लगानी अर्कैको हुँदा पनि यस्तो समस्या हुने गरेको उनको अनुभव छ । चलचित्रमा निर्माताको नाम एउटा हुने तर धेरै लगानी अर्कैको हुँदा पनि समस्या हुने उनी बताउँछिन् । यस्तो अवस्थामा मेकर सुरुमै स्पष्ट हुनुपर्नेमा त्यसो पनि हुन नसकेको उनी सुनाउँछिन् ।
“पारिश्रमिक उठाउन कठिन हुन्छ भनेर नै म सुरुमै मेकरसँग स्पष्ट कुरा गर्छु । त्यसैले मैले पछिल्लो समय यस्तो अवस्था कम भोग्नुपरेको छ । तर, केही मेकरलाई छोडेर हेर्ने हो भने आम समस्या हो यो,” लक्ष्मी भन्छिन् ।
सिनेमा रिलिज भइसकेपछि विभिन्न बहाना देखाएर निर्माता पन्छिने गरेको उनी बताउँछिन् ।
विशेषतः एकपटक मात्र सिनेमा बनाउने मेकरहरूमा यस्तो समस्या रहेको लक्ष्मी सुनाउँछिन् । “जसलाई एउटा मात्रै सिनेमा बनाउनु छ, फेरि अर्को सिनेमा बनाउनु छैन भने उसले पारिश्रमिक नदिन खोज्छ,” उनी भन्छिन्, “कोही निर्माताले एकपटक पारिश्रमिक दिएन भने ऊसँग अर्कोपटक काम गर्न सकिँदैन । म आफैँ पनि कोही निर्माताले पारिश्रमिक दिएन भने जतिसुकै राम्रो स्क्रिप्ट आए पनि उसको अर्को सिनेमामा काम गर्दिनँ ।”
कलाकार नदोहोर्याउने मानसिकता बनाएका निर्माताले पनि पारिश्रमिक उपलब्ध नगराउने सोच राख्ने देखिने गरेको उनको भनाइ छ ।
नायक निखिल पारिश्रमिकबापतको ठूलो रकम अझै उठाउन बाँकी रहेको बताउँछन् । नेपाली सिनेमा उद्योगमा सबैभन्दा कठिन नै पैसा उठाउन रहेको उनको भनाइ छ ।
“पैसा उठाउन नेपाली सिनेमा उद्योगमा पैसा नपाएसम्म डबिङ नै नगरिदिने कठोरता देखाउनुपर्थ्यो,” निखिल भन्छन्, “डबिङ सकिएपछि पैसा आउँदैन थियो । तर, मैले त्यो नेचर बनाउन सकिनँ । त्यसैले मैले ठूलो रकम उठाउन बाँकी छ ।”
आफूले उक्त रकम माया मारिसकेको निखिल बताउँछन् । “मैले अधिकांशलाई टेन्सन नलेऊ, पुराना कुरा छोड्देऊ भन्दिसकेको छु,” निखिल अगाडि भन्छन्, “धेरैले मेरो २०, ३०, ५० हजार, एक लाख, दुई लाख रुपैयाँसम्म दिन बाँकी राखेका छन् । प्रायः अधिकांश मुभीले कहीँ न कहीँ पैसा दिन बाँकी राखेका छन् ।”
आफूसँग पैसा नदिने मुभी र मेकरको फेहरिस्त नै रहेको उनी सुनाउँछन् ।
नेपाली चलचित्र उद्योग पूर्ण रूपमा व्यावसायिक नहुँदा थुप्रै समस्या हुने गरेको र त्यसको असर सिनेमा मेकिङमा पर्ने गरेको उनको निष्कर्ष छ ।
निखिलको भनाइमा केही हदसम्म सत्यता रहेको निर्माता रोहित अधिकारी बताउँछन् । ऋण गरेर सिनेमा बनाउने प्रवृत्ति नेपाली चलचित्र उद्योगमा रहेको रोहित स्वीकार गर्छन् ।
“अरूसँग पैसा मागेर पनि सिनेमा बनाउने चलन छ । यसरी सिनेमा बनाउँदा अन्ततः यसको असर समग्र चलचित्र उद्योगमै पर्छ,” रोहित भन्छन्, “चलचित्र बनाउन आउने मान्छेले यसबारे विस्तृतमा बुझेर आउनुपर्छ । बैंकको ब्याज समेत हिसाब गरेर निर्माताले लगानी गर्नुपर्छ । अन्यथा, बीचैमा समस्या झेल्नुपर्छ ।”
नेपाली सिनेमा उद्योगमा कतिपय चलचित्र बजेट अभावमै निर्माण हुँदाहुँदै बीचमै अलपत्र पर्छन् । पूर्वनिर्धारित बजेटमा सिनेमा नसकिएपछि पैसा थप्न नसक्दा ठूलो लगानी फस्ने गरेको छ । यसरी बीचमै बजेट अभावमा अलपत्र परेर ‘डम्प’ हुने सिनेमाको संख्या उल्लेख्य रहेको निर्माता रोहित बताउँछन् । यस्ता चलचित्रले कलाकारलाई पारिश्रमिक दिन नसक्नेदेखि अरू धेरै समस्या झल्ने गरेको उनी सुनाउँछन् ।
बजेट अभावमा जबरजस्ती चलचित्र सक्नुपर्दा त्यसले ‘क्वालिटी’मै समस्या हुने गरेको रोहित बताउँछन् । कतिपय चलचित्र रिलिज र पब्लिसिटी खर्चको अभावमा प्रदर्शन नै नहुने गरेका छन् । त्यसैले पैसा नहुने तर रहर भएकाहरूले सिनेमा बनाउने उद्योग हो भन्ने कुरालाई शतप्रतिशत नकार्न नसकिने रोहितको तर्क छ ।
निर्मातासँग भएको पैसा सकिए पनि सिनेमाको काम बाँकी नै रहेपछि टालटुल गरेर रिलिज गर्ने गरिएको उनी बताउँछन् ।
पारिश्रमिककै समस्या लिएर कतिपय कलाकार निवेदनसहित चलचित्र निर्माता संघमा पुग्ने गरेका छन् । संघले निर्माता र कलाकारबीच मध्यस्थकर्ताको भूमिका खेलेर समस्याको समाधान गर्ने प्रयास गर्दै आएको छ ।