काठमाडौं । तपाईंलाई कसैले एक्कासि हिरोइनको नाम सोध्यो भने दिमागमा झट्ट कसको नाम आउँछ ? सायद करिष्मा मानन्धर, रेखा थापा, जल शाह, विपना थापा आदि । रेखापछि नेपाली सिनेमा उद्योगमा हिरोइन नै आएका छैनन् ? निःसन्देह छन् । अहिलेका रोजाइकै हिरोइनहरू स्वस्तिमा खड्का, केकी अधिकारी, मिरुना मगर, वर्षा राउत, ऋचा शर्मा, सुरक्षा पन्त, बेनिशा हमाल आदि । तर, पछिल्लो समयका हिरोइनका सिनेमा संख्यात्मक हिसाबले उल्लेख्य छैनन् । धेरै त एक/दुई सिनेमामा अभिनय गरेपछि पलायन नै हुने गरेका छन् ।
कारण के हो ?
अभिनेत्री सुरक्षा पन्त अघिल्लोे दशकसम्म नायिकाहरू पनि सुपरस्टारका रूपमा चलेको स्मरण गर्छिन् । पछिल्लो समय स्टारडम र सुपरस्टारभन्दा पनि नायिकाहरू चरित्र अभिनयमा केन्द्रित हुने गरेको उनको भनाइ छ ।
“सायद फिमेल सेन्ट्रिक सिनेमाको संख्या धेरै भयो भने सायद अभिनेत्रीहरू पनि धेरै दोहोरिने अवस्था आउँछ होला,” उनी भन्छिन्, “महिला कलाकारको संख्या बढ्यो । तर, महिलाकेन्द्रित सिनेमाको संख्या कम भयो । महिलाप्रधान सिनेमालाई पनि खासै महत्त्व दिएजस्तो लाग्दैन ।”
पहिलेपहिले नायिका नै कम हुने गरेको निर्माता छविराज ओझा बताउँछन् । पहिले घरबाट पनि धेरैलाई मनोरञ्जन क्षेत्रमा आउन नदिने गरेको उनी सुनाउँछन् । “पहिलो कारण त पहिला अहिलेको जस्तो नायिकाको संख्या नै धेरै थिएन । अहिलेजस्तो नायिकालाई सहज पनि थिएन । धेरैलाई सिनेमामा आउन घरबाटै दिइँदैन थियो,” उनी भन्छन्, “अहिले नायिकाको संख्या पनि धेरै छ । धेरै नायिका त म्युजिक भिडियोबाट आउनुहुन्छ ।”
पछिल्लो समयका नायिकालाई आफूले खेलेका सिनेमाको संख्या १० वटा पुर्याउन पनि कठिन हुने गरेको निर्माता छवि बताउँछन् । “अहिले संख्या पनि धेरै भयो । म्युजिक भिडियोबाट आउने भएपछि यसै पनि संख्या धेरै हुने भयो,” उनी भन्छन्, “दोस्रो पक्ष, अहिले स्क्रिप्ट हेरेर सिनेमा खेल्ने/नखेल्ने निर्णय गर्छन् । स्क्रिप्ट भयंकर भयो भने मात्रै खेल्ने भन्ने छ । स्क्रिप्ट पढेर १५ जनासँग सल्लाह गरेपछि कसले के भन्छ, कसले के खोट लगाइदिन्छ, अनि कसरी खेलिन्छ सिनेमा ?”
करिष्मा, जल शाहको पालाका एकै नायिकाले सय/डेढ सयसम्म चलचित्रमा काम गर्ने गरेको छवि स्मरण गर्छन् । राजेश हमालले दिनकै तीनवटासम्म सिनेमा छायांकन गर्ने गरेको सुनाउँदै छविराज भन्छन्, “पहिला हामीले सिनेमा बनाउने भनेर बोलाएपछि कस्तो रोल छ भनेर सोधिन्थ्यो । यस्तो रोल भनेपछि ‘म गर्छु’ भन्थे, स्क्रिप्ट कसैले माग्दैन थियो ।”
तर, यो विचारमा सुरक्षा सहमत छैनन् । रिस्क लिएर भए पनि नयाँ विषयमा काम गर्नु उचित हुने र त्यो आफूले लागु गर्ने गरेको उनी बताउँछिन् । एकैप्रकारका सिनेमामा दोहोरिरहनुभन्दा नयाँ विषय र चरित्रमा काम गर्नुपर्नेमा उनको जोड छ ।
चलचित्र चल्छ कि चल्दैन भनेर स्क्रिप्ट हेरेर पूर्वानुमान गर्ने प्रचलन नै बसिसकेको छविराज बताउँछन् । “हिँड्ने मान्छे नै लड्ने, लडेपछि उठेर हिँड्ने हो । दयाहाङ वर्षकै ६/७ वटा सिनेमामा काम गरिरहेका छन्,” उनी भन्छन्, “त्यसैले चल्ने सिनेमाको संख्या पनि उनकै धेरै छ । पहिला पनि त्यही नै हुन्थ्यो । राजेश हमाललगायत त्यो समयमा हिरोइनले पनि गरेको त्यही हो ।”
निर्देशक दीपेन्द्र के खनाल नायिकाको स्टारडम कम हुनु नै हिरोइन धेरै नदोहोरिनुको कारण रहेको बताउँछन् । स्टारपावर नहुनु नै पछिल्लो समय नायिका नदोहोरिनुको कारण भएको उनको तर्क छ ।
“म सिनेमा मेकिङमा आउँदा झरना थापा, रेखा थापा, विपना थापाजस्ता स्टारपावर भएका नायिका हुनुहुन्थ्यो । जसका कारण दर्शक सिनेमा हेर्न आउँथे । रेखा थापा सिनेमामा भएकै कारण दर्शक हलसम्म आउँथे,” दीपेन्द्र भन्छन्, “त्यो बेलाका नायिकामा जस्तो अहिलेका हिरोइनमा हलसम्म दर्शक तान्ने स्टारपावर नभएका कारण धेरै नायिका नदोहोरिएको हो भन्ने लाग्छ ।”
जुन नायिकासँग स्टारपावर छ, उसैलाई मेकरले खोज्ने र त्यो स्वाभाविक भएको दीपेन्द्र बताउँछन् । रेखापछि साम्राज्ञी आरएल शाहमा केही समय स्टारपावर देखिएको थियो । तर, केही समययता उनमा पनि त्यो देखिन छोडेको उनी बताउँछन् ।
फ्रन्टमा रहेका केही अभिनेताबाहेक अधिकांश कलाकार नदोहोरिने उनको भनाइ छ । अहिलेका फ्रन्टका अभिनेता भने निरन्तर दोहोरिइरहेका छन् ।
“फ्रन्टलाइनका अभिनेता भने दोहोरिरहेका छन् । एकैजनाले यो वर्षका लागि नौवटा सिनेमा साइन गरेको सुनेको छु,” दीपेन्द्र भन्छन्, “नायिका भने जो राखे पनि हुन्छ भन्ने मानसिकता मैले देखेको छु । नायिका राखेकै भरमा सिनेमा चल्दैन भन्ने भएकाले हुनसक्छ ।”
महिलाप्रधान कथा भएका बाहेक अभिनेत्रीकै कारण चलचित्र नचलेको यथार्थ भएको दीपेन्द्र बताउँछन् ।
अहिले नायिका अनुबन्ध गर्दा विकल्प पनि धेरै रहेको उनी बताउँछन् । म्युजिक भिडियो, मोडलिङदेखि टिकटकसम्मबाट सिनेमामा आउँदा संख्या नै धेरै रहेका कारण पनि दोहोरिने नायिकाको संख्या कम हुने गरेको उनको अनुभव छ ।
नायिका नदोहोरिनुको अर्को कारण उनीहरूको उच्च डिमान्ड भएको अर्का निर्देशक ज्ञानेन्द्र देउजा बताउँछन् । पहिलो चलचित्रमा दुई/तीन लाख रुपैयाँ पारिश्रमिकमा काम गर्ने नायिकाले दोस्रोमा १२/१५ लाख डिमान्ड गर्ने गरेको उनको भनाइ छ ।
“हिरोइनका कारण सिनेमा चल्छ भन्ने छैन । उनीहरूलाई १२/१५ लाख रुपैयाँ तिर्ने तर उनीहरूका कारण त्यति व्यापार हुँदैन भने किन त्यति धेरै लगानी गर्ने भन्ने मेकरलाई हुनु स्वाभाविक हो,” ज्ञानेन्द्र भन्छन्, “कामभन्दा पनि धेरै अहिले हल्ला हुने गरेको छ । कामभन्दा पनि हल्लामा रमाउनेहरूको भीड छ । वास्तविक कमाइ एकातिर छ, तर डिमान्ड अर्कैतिर भएपछि कसरी काम हुन्छ ?”
नायिकालाई तुलनात्मक रूपमा निकै कम पारिश्रमिकमा अनुबन्ध गर्न खोज्ने र त्यसमा सहमत नभए विकल्प रोज्ने गरेको सुरक्षाको अनुभव छ । मेकरले अफर गर्ने न्यूनतम पारिश्रमिकमा काम गर्न तयार भए अहिले पनि धेरै नायिका दोहोरिने उनको जिकिर छ ।
कसको सिनेमा गर्ने र कुन मेकरको नगर्ने भन्ने ग्रुपिजम पनि रहेको उनको भनाइ छ । “पहिला यो वा त्यो मेकर भन्ने प्रचलन थिएन । मेकरले अफर गरेपछि नायिकाहरू काम गर्थे । मेरै फिल्ममा रेखाले काम गर्दा उनी एकैदिन तीनवटा सिनेमाको छायांकन भ्याउँथिन् । तर, यसको सिनेमा गर्ने, त्यसको नगर्ने भन्ने गरेको देखिन्छ ।”
चलचित्रमा लगातार काम गर्न कुनै समूहसँग टिमअप गर्नुपर्ने अथवा आफ्नो विचारलाई थाती राखेर अरूसँग सम्झौता गर्न सक्नुपर्ने अवस्था रहेको सुरक्षा बताउँछिन् ।
महिला कलाकार मुख्य भूमिकामा रहेको सिनेमा राम्रो बनेको अवस्थामा सबैले पहल गरेर बक्सअफिसमा सफल बनाउनुपर्ने उनको धारणा छ । अन्ततः चलचित्र बिजनेस नै भएकाले यसतर्फ सबै मेकर र कलाकारको ध्यान खिचिनुपर्नेमा उनको जोड छ । तर, नेपाली सिनेमा उद्योगमा हालसम्म यो संस्कार नदेखिएको उनको गुनासो छ ।