
काठमाडौं । बलिउड सिनेमा ‘हाउसफुल–५’ आजबाट रिलिज भएको छ । अक्षय कुमार, अभिषेक बच्चनसँगै थुप्रै स्टार कलाकारको अभिनय रहेको चलचित्र ‘हाउसफुल–५’ दुईवटा भर्सनसहित आजबाट रिलिज भएको हो ।
नेपालमा उच्च शो पाएको यो सिनेमामा शुक्रबार राम्रो अकुपेन्सीमा चलिरहेको छ । ‘हाउसफुल–५’का दुईवटा भर्सन छन् । ‘हाउसफुल–५ ए’ र ‘हाउसफुल–५ बि’ ।
‘हाउसफुल–५’मा दुईवटा क्लाइमेक्स छन् । ‘हाउसफुल–५ ए’ र ‘हाउसफुल–५ बि’मा छुट्टाछुट्टै क्लाइमेक्स छन् । अन्तिम २० मिनेट यी दुई भर्सनमा छुट्टाछुट्टै क्लाइमेक्स रहेको छ ।
‘हाउसफुल–५ ए’ अथवा ‘हाउसफुल–५ बि’ हेरेपछि दर्शकलाई आफू हेरेको बाहेक अर्को भर्सनको क्लाइमेक्स हेर्न मन लागे पुनः टिकट काटेर हेर्नुपर्नेछ ।
त्यसैले निर्माणपक्षले नयाँ प्रयोग भने पनि एउटै सिनेमा बनाएर दुईवटा सिनेमाको बराबर अथवा दोब्बर कमाउने उद्देश्यले दुईवटा भर्सन तयार गरिएको टिप्पणी भइरहेको छ ।
तरूण मनसुखानले निर्देशन गरेको चलचित्रमा अक्षय कुमारसँगै अभिषेक बच्चन, ज्याकलीन फर्नान्डिस, रितेश देशमुख, श्रेयस तलपडे, फरदिन खान, चंकी पान्डे, सौन्दर्या शर्मा, जोनी लिवर, निकेतन धीर, डिनो मोरिया, नरगिस फाखरी, सोनम बाजवा, रन्जीतलगायत कलाकारको अभिनय छ ।
चलचित्रमा सञ्जय दत्त र ज्याकी श्राफको पनि महत्वपूर्ण भूमिका छ ।