काठमाडौं । एसिया कप १६औँ संस्करणको आयोजनास्थल पाकिस्तानबाट श्रीलंकामा सारिन सक्ने सम्भावना छ ।
भारतीय सञ्चार संस्था ‘द इन्डियन एक्सप्रेस’का अनुसार एसीसीका अध्यक्ष तथा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)का सचिव जय शाहले भारतीय टोलीले सीमापार यात्रा नगर्ने बताएका थिए । सोही बेलादेखि उनी आयोजनास्थल परिवर्तन गर्ने पक्षमा थिए ।
पाकिस्तानले एसिया कप आयोजना गर्दा भारतीय टोली त्यहाँ नजाने कारणले प्रतियोगिता नै अन्योलमा परेको छ । पाकिस्तानको यात्रा नगर्ने निर्णयमा बीसीसीआईलाई श्रीलंका, बंगलादेश र अफगानिस्तानले सहयोग गरेपछि आयोजनास्थन सर्ने निश्चित भएको इन्डियन एक्सप्रेसले जनाएको छ ।
प्रतियोगिताको आयोजना अधिकार श्रीलंकामा सारिने तयारी गरिँदा पाकिस्तानको सहभागिता भने अनिश्चित बनेको छ ।
पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी) अझै पनि प्रतियोगिता आफ्नै भूमिमा आयोजना गर्न इच्छुक छ । तर, बीसीसीआईले अरू देशको समर्थन पाउँदा प्रतियोगिता सार्नेबारे यही महिनाभित्र औपचारिक निर्णय हुन सक्ने इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।
भारतले आफ्नो देश भ्रमणमा अनिच्छा देखाएपछि केही लचिलो बनेको पाकिस्तानले बीसीसीआईलाई ‘हाइब्रिड मोडेल’को प्रस्ताव गरेको थियो । एसिया कप पाकिस्तानमै हुने भए पनि भारतका खेलहरू तटस्थ भूमिमा सञ्चालन गर्ने प्रस्ताव थियो । भारतले यो प्रस्तावमा पनि सहमति नजनाउँदा प्रतियोगिता पाकिस्तानबाट सारिने सम्भावना बढेको हो ।
सेप्टेम्बरमा गर्मी उच्च हुने हुँदा युनाइटेड अरब इमिरेट्स (यूएई)मा प्रतियोगिता सार्ने विषयमा अरू राष्ट्रले सहमति जनाएका छैनन् । प्रतियोगिता आयोजनाका लागि ओमानले पनि प्रस्ताव गरेको सार्वजनिक भएको छ ।
ओमानको वातावरण पनि यूएईको जस्तै भएकाले प्रतियोगिता आयोजनाका लागि श्रीलंका उपयुक्त देखिँदा त्यहाँ सार्न लागिएको इन्डियन एक्सप्रेसले खुलाएको छ । श्रीलंका प्रतियोगिताको साविक विजेता पनि हो ।