यस संसारबाट हामीलाई छोडेर बुवा बिदा भएको दुई वर्ष भएछ । कहिलेकाहीँ त लाग्छ उहाँ दम र पार्किङसनस्ले दिएको शारीरिक पीडा कम गर्न अपरिचित संसारमा बिदा मनाउन जानुभएको छ । अनि बिदा सकेर शारीरिकरूपमा अझै धेरै स्वस्थ, उत्साही भएर हाम्रो फर्कनु हुनेछ ।
फर्केर आएपछि आमाले पकाएको खानेकुरा दाइभाउजु, नानीबाबुहरूसँगै हाँस्दै खानु हुनेछ । अनि आमालाई रातो साडी, रातै चौबन्दी चोलो किनेर ल्याई दिनुहुनेछ ।
शिरमा पाल्पाली ढाकाको टोपी, अनुहारमा मिलेको चस्मा, ज्यानमा मिलेको सेतोसेतो रङ्गको दौरासुरुवाल अनि चिटिक्क परेको कोट लगाएर रक्षा र मलाई भेट्न लेक्सिङटन आउनु हुनेछ । म पनि सायद अबको साढे दुई वर्षजतिमा पीएचडी सक्नेछु र अशोक, आशुतोष, स्वेताहरूले आफ्नो आमा र बाबालाई दीक्षान्त समारोह बोलाएजस्तै तपाईँ र आमालाई फेरि बोलाउनेछु । मैले निलो गाउन, कालो टोपी लगाउँदा बुवाले "धेरै धेरै बधाई छ कान्छा" भन्नु हुनेछ ।
जिन्दगी जिउने क्रममा मैले के पाए अनि के गुमाए त्यो त मलाई थाहा छैन तर तपाईँले जीवनको अन्तिम सास फेर्दा चाहेर पनि तपाईसँग हुन सकिन । मैले अब आउने दिनमा अझै धेरै प्रगति गरेर परिवार अनि आफन्तसँग खुसी बाँड्दै गर्दा तपाईँलाई कहिले देख्न पाउनेछैन । जिन्दगीमा यही धोको रहने भयो ।
जिन्दगी जिउने क्रममा कहिले सैनिक त कहिले खरिदार अनि कहिले वन विभागमा नोकरी गरे पनी खेती किसान गर्दै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदै राजनीतिमा हात हालेर तपाईंले समाजको लागि गर्नुभएको योगदानप्रति नतमस्तक छु । जिन्दगी जसरी भोगे पनि इमानदार, निष्ठावान् अनि स्वभिमानी भएर बाँच्नुपर्छ भन्ने तपाईँले सिकाउनुभएको पाठ मेरो जीवनभर मनन गर्नेछु ।
पुनर्जन्म हुन्छ भने तपाईँकै सन्तानकारूपमा त्यही आँखास्वरा, बक्सिलाको घरमा जन्मिन पाऊँ । अनि त्यही घरअगाडि खोला, खेत र मैदान बारीमा खेल्दै हुर्किन पाऊँ । त्यही सिन्दुरी गाईको दूध, घर वरिपरिका सुन्तला र उखु अनि घरमुनिको बारीको कर्कलाको अचार खाएर हुर्किन पाऊँ । मलाई स्कुल पठाउन तपाईँले किनेर ल्याइदिएको ड्रेस लगाएर त्यही गाउँको पिपल डाँडा स्कुलमा गएर पढ्न पाऊँ ।
आज हामी माझ नभए पनि तपाईँको आत्मा हाम्रै वरिपरि खुसीसँग बसेको होला भन्ने लाग्छ । जहाँ र जस्तो रूपमा रहे पनि तपाईं सधैँ मन मुटुमा रहिरहनु हुनेछ बुवा !
(हाल युनिभर्सिटी अफ केन्टुकी, अमेरिका )