
काठमाडौं । कान्ति बाल अस्पतालको अंकोलोजी वार्ड, पहिलो कोठाको पहिलो बेड, एक वृद्ध टोलाइरहेका छन् । छेवैमा रहेको बालकतर्फ देखाउँदै सोधियो, ‘बाबुलाई लिएर आउनुभएको ?’
उनी केही झक्सिएझैँ भए, बोलौँ की नबोलौँजस्तो गरी सानो स्वरमा जवाफ दिए “उम...”
‘बुवा हामी पत्रकार’
हाम्रो बोली भुइँमा नखस्दै उनले अनुहार उज्यालो बनाए, मास्क चिउँडोतर्फ झारे र हतपत दुई हात जोडेर मुस्कुराउँदै भने “एऽऽऽ नमस्कार”
सायद उनको एक्लोपनामा केही राहत महसुस भएछ क्यारे हामीले थप सोध्न नपाउँदै वृद्धले बह पोख्न थाले ।
“यो मेरो ठूलो छोराको पहिलो सन्तान तीन वर्षको भयो, दुई महिना अघिदेखि एक्कासी ज्वरो आउन थाल्यो, हातखुट्टा सुन्निने, नाकबाट रगत बग्ने, आफ्नो जीउ थेग्नै नसक्ने हुन थाल्यो ।” पञ्चपुरी नगरपालिका–१, सुर्खेतका बलबहादुर टमाटा आफ्नो नातिको कहानी सुनाउँदै गए ।
“सुर्खेत जिल्ला अस्पताल दुई पटक देखाउन लग्यौँ । दोस्रो पटक लैजाँदा अस्पतालका डाक्टरले ब्लड क्यान्सर भएको हुनसक्ने भन्दै काठमाडौंको कान्ति अस्पतालमा देखाउँदा पत्ता लाग्छ भनेका थिए” उनले सुनाए ।
‘यता ठूली बुहारी सुत्केरी हुने समय नजिकिदै थियो । तर, सुर्खेतका डाक्टरले त्यसो भनेपछि सँगै काठमाडौं आउन जिद्धी गरिन्, आमाको मन न हो मानेन क्यारे । ससुराबुहारीले यसलाई कान्तिसम्म ल्यायौँ, वैशाख १३ गतेदेखि भर्ना गरेर राख्यौँ दुई–तीनवटा के–के जाँच्न लगेको थियो, आज त्यसैको रिपोर्ट आएछ, डाख्टरले भर्खर भन्नुभयो ।’
‘के रहेछ त रिपोर्टमा ?’
“के हुनु हामीले जे नहोस् भन्ने सोचेका थियौँ, त्यही रहेछ, नातिलाई ब्लड क्यान्सर नै भएको रहेछ” बलबहादुर रोकिए ।
यसबीचमा बुहारी सुत्केरी भइसकेकी छन् । उता टिचिङ अस्पतालमा नातिनी जन्मिइन् यता हजुरबा नाति कान्तिमा रिपोर्ट कुरिरहे ।
“काठमाडौंमा आफन्त छैनन्, होटलमा बस्न पैसा छैन हामी दुईजनालाई त अस्पतालले खानेबस्ने व्यवस्था गरिदिएको छ, त्यो सुत्केरीलाई के खुवाउनु, कहाँ राख्नु, चार दिन भएपछि गाउँ नै पठाइदिएँ हजुर” बलबहादुरले एकै श्वासमा सुनाए ।
गाउँमा कतैकतै कसैलाई ब्लड क्यान्सर भयो रे भन्ने सुनेका टमाटा परिवारलाई बालबालिकामा पनि क्यान्सर हुन्छ भन्ने थाहै थिएन । न त काठमाडौं आउँदा त्यसअनुसारको तयारी नै गरेर आए ।
यतिकैमा पिठ्युँमा बोकिरहेको नाति छट्पटिन्छ, हजुरबा भुइँमा उभ्याउन खोज्छन् तर बालकका खुट्टा टेकिँदैनन्, फेरि काखीमा च्याप्दै उनी बोल्छन् “हेर्नोस् न यति कमजोर भइसक्यो झन् घरबाट हिँडेपछि राम्रोसँग खुवाउन पनि सकेको छैन ।”
‘बाबुको बुवा कता हुनुहुन्छ के गर्नुहुन्छ ?’
“उतै गाउँतिरै अहिले बर्दिया आएको छ, मजदुरी गर्छ ।”
‘सुनाउनुभयो बाबुको रिपोर्टको बारेमा ?’
“छैन कसैलाई केही भनेको छुइन, अब सर सल्लाह गर्नुपर्ला... एकछिन् रोकिएपछि बलबहादुरले आफ्ना घरमा भएका एक हल गोरु सम्झिए, तिनै गोरु जोतेर दुईछाक टाथ्र्यौं, सय पचास जुटाएर यसलाई काठमाडौं ल्याएको अब खै कुन पैसाले कसरी उपचार गर्नु र”..उनी निहुरिइरहे ।
सरकारले विपन्न नागरिकलाई दिने एक लाख रुपैयाँ सहयोगबारे बलबहादुरलाई थाहा रहेनछ, “डाक्टरले चार लाख रुपैयाँ लाग्छ भन्नुभाको छ, उपचार सकिन दुई वर्ष लाग्छ रे कसरी पो जुटाउने हो...” उनले निहुरिएरै बोले ।
कान्ति बाल अस्पतालमा क्यान्सरको उपचार गराएका बालबालिकाको निको हुने दर ७० प्रतिशत छ । तर, उपचार गराउँदै जाँदा आर्थिक अवस्थाले नभ्याउने भएपछि बीचमै उपचार छोडेर जाने कारणले नेपालमा बाल क्यान्सर चुनौती बनेको अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा. सुधीर सापकोटा बताउँछन् ।
“समग्र उपचारको झन्डै २५ प्रतिशत खर्च औषधिमा हुने गरेको छ । यसबाहेक परीक्षण र परिवारको बस्नेखाने लगायतमा पनि ठूलो खर्च हुन्छ । औषधि मात्रैपनि निशुल्क भए पूरा उपचार गराउनेकोको संख्या बढ्छ भन्ने हाम्रो अपेक्षा हो,” डा. सापकोटा भन्छन् ।
बाल क्यान्सरको उपचार सहज बनाउन सरकारले ३५ प्रकारका औषधि निशुल्क गर्ने व्यवस्था मिलाएको छ । विश्व स्वास्थ्य संगठनको ‘ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सर’ (जीआईसीसी) कार्यक्रमले नेपाललाई सेप्टेम्बरदेखि ३५ प्रकारका औषधि निशुल्क उपलब्ध गराउने भएको छ ।
तर, बाल क्यान्सरको उपचार सम्भव छ भन्ने बुझाइ सबै नागरिकमा अझै नपुगेका कारण अझैपनि बार्षिक झन्डै एक हजार बालबालिका उपचारमा नै आइ नपुग्ने अस्पतालको तथ्यांक छ ।
बाल क्यान्सरको उपचारका लागि सरकारले गर्ने सहयोग, स्थानीय तहका प्रयास र कान्ति बाल अस्पतालको सफलताको बारेमा हामीले सबै सुनाइसक्दा पनि बलबहादुर भने घोरिइरहेकै थिए । टुक्रुक्क बसेर औँला भाँचिरहेकै थिए ।
‘अब नातिको उपचार सुरु गर्नुपर्यो नि त’
उनले सानो स्वरमा बोले “कतैबाट सहयोग जुटे उपचार गर्न्या हो, नभए मर्ने नै त होला नि हामी गरिबले...।”
उपचारमा आर्थिक सहयोग गर्न चाहनेहरूका लागि बलबहादुर टमाटाको सम्पर्क नम्बर ९८६८३६८६६३
बाल क्यान्सरको उपचारमा प्रयोग हुने ३५ प्रकारका औषधि नि:शुल्क गरिँदै