
काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कमिटी बैठक उपत्यका बाहिर गर्ने गरिएको थिएन । राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकमात्रै उपत्यका बाहिर हुने गरेको थियो ।
यसपटक भने एमालेले केन्द्रीय कमिटी बैठक नै उपत्यका बाहिर गर्दै छ । बैठक कोसी प्रदेशस्थित झापाको दमकमा आयोजना गरिएको छ । बैठक यही वैशाख २९, ३० र ३१ मा दमकको कस्मिक पार्टी प्यालेसमा हुनेछ ।
पार्टी अध्यक्ष केपीशर्मा ओलीको गृह जिल्ला झापामा बैठक तोकिएको हो ।
एमाले झापा जिल्ला अध्यक्ष दीपक कार्कीले ३५ वर्षपछि बैठक बस्ने संयोग जुरेको बताए ।
तत्कालीन महासचिव झलनाथ खनालको नेतृत्वमा झापाका देवी रेग्मीका घरमा तत्कालीन मालेको बैठक बसेको थियो।
“०४५ सालको भदौमा झापास्थित धरमपुरको रेग्मीको घरमा केन्द्रीय बैठक बसेको थियो । त्यतिबेला लुकेर गर्नुपर्थ्यो,” उनले बाह्रखरीसँग भने, “३५ वर्षपछि झापामा केन्द्रीय कमिटी बैठक बस्दै छ । हाम्रो लागि सौभाग्यको कुरा हो । राजनीतिक आन्दोलनको उचाइ उठाउनु महत्वको कुरा हो ।”
बैठकको निर्णय जेठ १ गते कार्यकर्ता भेला राखेर सार्वजनिक गरिने उनले बताए ।
झापामा नै किन ?
अध्यक्ष ओलीले केही महिना अघिदेखि नै बैठक झापामा राख्ने बताएका थिए । उनले गृह नगरमा बैठक डाक्ने चाहना व्यक्त गरेका थिए ।
“अध्यक्षले झण्डै ६ महिना अघि नै केन्द्रीय कमिटी बैठक झापामा बस्नुपर्छ भन्नुभएको थियो,” कार्की भन्छन्, “अहिले विविध कारणले यहाँ बैठक जुरेको छ । ”
केन्द्रीय सदस्य निरज आचार्यका अनुसार विकेन्द्रीत गर्न पनि बैठक उपत्यकाबाहिर राखिएको हो ।
“बैठकहरू केन्द्रीकृत भए । अब विकेन्द्रीकरण गरौं भन्ने योजनाले उता बस्ने भनिएको हो । झापा जिल्ला कमिटीले बैठकको व्यवस्थापन गर्ने प्रस्ताव राख्यो,” उनले भने, “अध्यक्षले प्रस्ताव अनुमोदन गर्नुभयो ।”
केही महिना गाउँ पसेको अर्थात् ‘ग्रासरुट अभियान’ सञ्चालन गरेको एमालेले ओलीको गृहनगर पुगेर त्यसको समीक्षा गर्न लागेको हो ।
ग्रास रुट अभियानको समीक्षा बैठकको मुख्य कार्यसूची रहेको आचार्यले बताए । ग्रास रुट अभियानमा आफूले प्राप्त गरेको जिम्मेवारीको रिर्पोट बनाउन नेताहरू व्यस्त छन् ।
पोलिट्ब्यूरो सदस्य ईश्वरी रिजालले आफूले पाएको जिम्मेवारीको प्रतिवेदन तयार गरिरहेको सुनाए । “आफूले पाएको जिम्मेवारी अनुसारको प्रतिवेदन लेखिरहेको छु,” उनले बाह्रखरीसँग भने ।
केन्द्रीय कमिटी बैठकका थप एजेन्डा तय गर्न वैशाख २६ गते केन्द्रीय सचिवालयको बैठक डाकिएको छ । त्यसअघि २५ गते केन्द्रीय कार्यालयको बैठक बस्ने कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।
कसरी हुँदै छ व्यवस्थापन ?
केन्द्रीय कमिटी बैठकको व्यवस्थापनको जिम्मेवारी झापा जिल्ला कमिटीले पाएको छ । खर्च भने केन्द्रले गर्नेछ ।
केन्द्रीय सदस्यहरूलाई खानपिन र अवासको व्यवस्था गरिने जिल्ला अध्यक्ष कार्कीले बताए । तीन जिल्लाका नेताहरूलाई भने आवसको व्यवस्था नगरिने उनको भनाइ छ ।
“साढे तीन सय जनाको लागि खाना र आवासको व्यवस्थापन गरेका छौँ ,” उनले भने, “झापा, मोरङ, सुनसरी नजिक भएकाले उहाँहरूको लागि भने आवासको व्यवस्था गरेका छैनौं । बाँकीलाई व्यवस्थित बासको व्यवस्था गरेका छौँ ।”
झापामा लगेर बैठक राखिएकोमा केही नेता असन्तुष्ट पनि देखिएका छन् ।
“अध्यक्षलाई कसले उक्साएर त्यहाँ बैठक राखिएको हो,” एक नेताले असन्तुष्टि व्यक्त गर्दै भने, “बैठक त्यहाँ पु¥याउँदा सबैलाई सहज हुने देखिदैन ।”
अध्यक्ष ओलीमाथिको आक्रमण प्रयासलाई हेरिएको छ ?
केही दिन अघि झापा, पाँचथर, इलाम लगायतका जिल्लाको कार्यक्रममा जाँदा एमाले अध्यक्ष ओलीलक्षित आक्रमणको प्रयास भएको थियो ।
कोसी प्रदेशको नामकरणमा असन्तुष्टि व्यक्त गर्दै ओलीमाथि ढुंगामुढाको प्रयास भएको थियो । ओलीले पूर्वराजा र सत्तारुढ दलका कार्यकर्ताले आफूमाथि आक्रमण गरेको बताएका थिए । प्रदेशको नामाकरणको विरोध अझै जारी नै छ ।
पार्टी लक्षित आन्दोलन भइरहेका बेला एमालेले सोही क्षेत्रमा बैठक राखेको हो । उक्त आन्दोलनले बैठकको सुरक्षा चुनौती हुँदैन भन्ने प्रश्नमा जिल्ला अध्यक्ष कार्की आन्दोलनको प्रचार चाहिनेभन्दा बढी भएको बताउँछन् ।
“जति भयो भएको भन्दा बढी प्रचार भएको छ । केही ठाउँमा नारा जुलुस भएको हो । त्यो पनि प्रतिपक्षीका नेताहरूसँग किन ? भन्ने प्रश्न हाम्रो हो,” उनी भन्छन्, “प्रदेशसभाका नाममा तीन–चार जनाको भन्दा विमति थिएन । त्यो नाम संघीय नेताले राखेको होइन । प्रतिपक्ष दलको नेतामाथि आन्दोलन गर्नुपर्ने केही छैन । हामी नरम भएका छौँ । नरमपनलाई साथीहरूले कमजोरी ठान्नुभयो भने गल्ती हुन्छ ।”
केन्द्रीय सदस्य आचार्य पनि उक्त आन्दोलनको औचित्य नरहेको बताउँछन् । “त्यो आन्दोलनको औचित्य छैन । एमाले लक्षित आन्दोलन गर्नुपर्ने आवश्यकता छैन,” उनी भन्छन्, “कोसी प्रदेशसभाले नामकरण गरेको हो । एमाले लक्षित गर्नुपर्ने राजनीतिक, समाजिक कारण केही छैन ।”
यी स्थानमा गराइने छ भ्रमण
बैठकसँगै केन्द्रीय सदस्यहरूलाई विभिन्न स्थानको भ्रमण गराउने तयारी गरिएको छ । केन्द्रीय कमिटी सदस्यहरूलाई नेपालकै सबैभन्दा होचो स्थान कचनकवल भ्रमण गराइने जिल्ला कमिटी अध्यक्ष कार्कीले जानकारी दिए ।
त्यस्तै नेताहरूको हत्या भएको सुखानी लगायतका स्थानमा पनि केन्द्रीय सदस्यलाई लैजाने तयारी छ । त्यस्तै छिमेकी इलामको कन्याम भ्रमण गराउने र मेची नगरको काँकडभित्ताको पूर्वी नाकाको पनि भ्रमण गराउने तयारी रहेको कार्कीले जनाए ।