
काठमाडौं । भञ्ज्याङ्गको तलतिर बाटोमा उ यताउता टहलाइरहन्छ, आफ्नो मालिक भेटिन्छ कि भनेर आँखा डुलाइरहन्छ । नयाँ मान्छे र आफूजस्तै नयाँ साथीहरु देख्दा केही डराउँछ उ भोको र निरीह देखिन्छ ।
त्यही बाटो भएर कार्यालय जान लागेकी स्नेहाले उसको गतिविधि गाडीभित्रैबाट नियालिरहन्छिन् ।
निकैबेरको उसको व्यवहार र स्थानीयसँगको सोधपुछबाट स्नेहालाई पत्ता लगाउन गाह्रो पर्दैन कि उ आफ्नै मालिकले सडकमा ल्याएर छोडिदिएको घरपालुवा ‘जर्मन सेफर्ड’ कुकुर हो ।
आठ वर्षदेखि सामुदायिक कुकुरहरुको कल्याणका लागि काम गर्दै आएकी स्नेहा श्रेष्ठलाई ‘जर्मन सेफर्ड’ बाटोमै छोडेर अघि बढ्न मनले मान्दैन ।
तुरुन्तै आफ्ना कर्मचारीलाई फोन गरी उद्दारका लागि बोलाउँछिन् र उसलाई ‘स्नेहाज केयर’ भैँसेपाटी पुर्याइन्छ ।
त्यसको केही महिनापछि नै उही भञ्ज्याङतिरै एउटा घरपालुवा कुकुर दयनीय अवस्थामा भेटियो ।
लामो समयदेखि बिरामीजस्तो, निकै दुब्लो र सहारा खोजिरहेजस्तो । उही स्नेहाज् केयरका कर्मचारीले उद्धार गरी स्याहार केन्द्रमा पुर्याए ।
परीक्षणपछि थाहा भयो उसको यौनांगमा क्यान्सर भएको रहेछ, ६ साइकल केमोथेरापीपछि अहिले स्वस्थ छ ।
“त्यो कुकुरको लागि हामीले धेरै अनुसन्धान गरेर उपचार ग¥यौँ अहिले पूरै ठिक हुने चरणमा छ,” केन्द्रका पशु चिकित्सक डा. भुवन गिरी भन्छन् ।
स्नेहाज केयरमा यसरी नै सडकमा भेटिएका, घाइते, बिरामी गरी १५८ वटा कुकुर छन् । त्यसबाहेक उपचार गर्न ल्याइएका केही सामुदायिक कुकुरहरु पनि ।
धेरैजसो कुकुरहरुलाई कस्तो अवस्थामा उद्दार गरिन्छ ?
संस्थापक तथा निर्देशक स्नेहा श्रेष्ठ भन्छिन्, “अधिकांस सामुदायिक कुकुरहरु मानिसबाटै दुर्व्यवहार भएर घाइते भएको अवस्थामा भेटिन्छन् धेरैलाई सवारी साधनले हानेर घाइते बनाएको पाइन्छ अनि केही चाहिँ यसैगरी मालिकले सडकमा छोडेका ।”
धनाड्य परिवारबाटै सडकमा पुर्याइन्छ कुकुरलाई
घरपालुवा कुकुरलाई परिवारको सदस्यको रुपमा नहेर्दा सहाराविहीन बन्न पुग्ने स्नेहाको अनुभव छ ।
र, यो समस्या अधिकांस धनाड्य र देखासिकी गर्ने परिवारमा नै देखिएको छ ।
कतिपयले घरमा देखाउनकै लागि कुकुर पाल्छन् तर बुढो हुँदै गएपछि स्याहार गर्नुपर्ने, औषधि उपचार गर्नुपर्ने कुरालाई बोझ मानी सडकमा लगेर छोडिदिने गरेको उनी बताउँछिन् ।
त्यसबाहेक कुकुरलाई आफ्नो स्वतन्त्रता र आवश्यकता पूरा गर्न नदिँदा उनीहरु आक्रामक बन्ने र यही व्यवहारलाई मन नपराएर सडकमा छोडिदिने गरेको पनि उनी बताउँछिन् ।
जनावरप्रति अमानवीय बनिदिन्छ समाज
झन्डै एक वर्षअघि टिकटकमा एउटा भिडियो देखियो, केही युवाहरुले घरको छतबाट कुकुर तल फालिदिएको ।
चारतलाबाट खसेको कुकुरको त्यही ठाउँमा मृत्यु भयो । सबैले मजा मान्दै भिडियो बनाएको देखिन्छ । तर स्नेहाज केयरको टिमलाई यो घटनाले निकै पिरोल्यो ।
उनीहरु कानुनी लडाइँका लागि पोखरा पुगे र दोषीलाई सात दिन प्रहरी नियन्त्रणमा राख्न सफल भएका थिए ।
ललितपुर महानगरको खोकना क्षेत्रका सामुदायिक कुकुरहरुमा करिब डेढ महिनाअघि फाट्टफुट्ट रेबिज देखियो ।
महानगरमा फोन आयो, समुदायमा त्रासदी फैलियो के गर्ने ? महानगरसँग रेबिज भएको कुकुरलाई व्यवस्थापन गर्ने कुनै संयन्त्र छैन ।
महानगरका पशु सेवा शाखा प्रमुख डा. अमर रायले स्थानीयलाई सुझाव दिए– त्यसलाइ नचलाउनू उसको क्षेत्रमा बस्न दिनू, छेउछाउ नजानू ।
घटनाको पृष्ठभूमि खोज्दैजाँदा थाहा भयो, कसैले गाडीमै लगेर कुकुरलाई खोकना क्षेत्रको तलपट्टि जंगलमा छोडेर आएको रहेछ । कुकुरहरुको जंगलका स्यालसँग झगडा नै पर्ने गरेको रहेछ ।
घरपालुवा कुकुरलाई गाडीमै लगेर जंगल क्षेत्रमा छोडेर आउने गरेका घटना धेरै उजुरी हुने गरेको डा. राय बताउँछन् ।
स्मल इज ब्युटिफूल तर...?
घरपालुवा कुकुरहरुलाई बेवारिसे बनाउने मानव प्रवृत्ति शतप्रतिशत गलत भएको डा. रायको बुझाइ छ ।
उनी भन्छन्, “स्मल इज ब्युटिफूल भनिन्छ नि सानो छँदा त्यही कुकुरको बच्चा मायालु, क्युट देखेर घरमा लैजान्छन् । तर बढ्दै गएपछि उनीहरुका जैविक आवश्यकता बढ्दै जान्छन् । उनीहरुले स्वतन्त्रता खोज्दैजान्छन्, साङलोमा बाँधेर राख्दा त्यो स्वतन्त्रता हनन् हुन्छ, र कुकुरहरु रिसाहा बन्दै जान्छन् । मालिकलाई लाग्छ कुकुर भनेको नटेर्ने भयो, अब सम्हाल्न नसकिने भयो, रातारात लगेर एकान्त ठाउँमा छोडिदिन्छन् । यो गैरजिम्मेवारपूर्ण काम हो ।”
घरपालुवा कुकुरलाई जातअनुसार उनीहरुको स्याहार र स्वास्थ्यमा ध्यान दिनुपर्छ ।
डा. भुवन गिरी भन्छन्, “सामान्यतः ४५ दिनदेखि एक वर्षसम्मको कुकुरलाई विभिन्न रोगविरुद्धको खोप सात पटकसम्म दिनुपर्छ । नियमित जुकाको औषधि र मौसम परिवर्तन हुनासाथ उनीहरुको स्वास्थ्य परीक्षण गर्नुपर्छ । त्यस्तै सरसफाइमा ध्यान दिने, छालाको विभिन्न समस्याबाट जोगाउनुपर्छ । तर कतिपय व्यक्तिहरुले यी सबै कुराहरुमा ध्यान नदिँदा उनीहरु रोगी हुनपुग्छन् र मालिकले बोझको रुपमा लिएको पाइन्छ ।”
पशु कल्याणमा ध्यान खै ?
चाहो मानवजाति होस् या जनावर स्वतन्त्रता उसको पहिलो अधिकार हो । जनावरको हकमा पनि ‘फाइभ फ्रिडम’को अवधारणा विश्वभर लागु छ ।
जसमा स्वस्थ पानी र खाना खान पाउनुपर्ने, वासस्थान सहज हुनुपर्ने, दुखाई तथा रोगको उचित उपचार हुनुपर्ने, आफ्ना व्यवहारहरु स्वतन्त्रतापूर्वक अभिव्यक्त गर्न पाउनुपर्ने तथा डरत्रासमुक्त वातावरण पाउनुपर्नेजस्ता विषयहरु समेटिएको छ ।
नेपालमा भने पशुको स्वतन्त्रताको पर्याप्त अभ्यास नभएको स्नेहाको ठहर छ ।
पशु कल्याण ऐनको अभावमा कतिपय विकृति र अमानवीय घटनासमेत हुँदासमेत कारबाही भएको पाइँदैन ।
कतिपय भिडियोमा सामुदायिक कुकुरहरुलाई क्रुर व्यवहार गरेको देखिन्छ , कतिपय हामी नै बाटोमा हिँड्दा यस्ता गतिविधि देख्छौँ, खै त उनीहरुलाई सहज रुपमा बाँच्ने वातावरण ? उनी प्रश्न गर्छिन् ।
समाधान के त ?
कुनै पनि पशुलाई घरमा पालेपछि उसलाई खाना, बासस्थान र उसका आवश्यकताहरु पूरा गर्नु मानसिको दायित्व हो र मानवीयता पनि यही नै हो ।
स्नेहा भन्छिन्, “पालेको कुकुरलाई पनि आफ्नो परिवारको सदस्यजस्तो व्यवहार गरे त यी समस्या नै आउँदैनन् नि । कतिपय पशुका व्यवहार मानिसभन्दा उच्च छन् तर कति अवस्थामा मानिस नै पशुप्रति गलत व्यवहार गरिरहेको देखिन्छ ।”