site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समाजवादी मोर्चा घोषणाको तयारी– बाबुराम अनिच्छुक, विप्लवको चाहना 

काठमाडौं । कम्युनिस्ट पार्टीको एकता दिवसको अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै समाजवादी केन्द्र बनाउने घोषणा गरे । 

गएको आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले तत्कालीन नेकपा ब्यूँताउने कार्यदिशासहित मोर्चा बनाउने उद्घोष गरे । 

“केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिनेछ । त्यहीँबाट कम्युनिस्ट आन्दोलनको नयाँ धुव्रीकरणतिर जानेछौँ । त्यो मोर्चाले नेकपातिर फर्कनका लागि सबैलाई अपिल गर्नेछ । किनकि त्यो नेकपा नेताहरूको सनकका कारणले दुर्घटनामा परे पनि जनता र आम लाखौँ कार्यकर्ताहरूले अनुमोदन गरेको एकता हो,” प्रचण्डको भनाइ थियो, “त्यो एकता हामीद्वारा प्रस्तावित एकता हो । त्यसकारण हामी सबै त्यो एकतालाई पुनर्जीवित गर्न चाहन्छौँ ।”

सोही कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि छिट्टै मोर्चा घोषणा गरिने जिकिर गरेका थिए । 

“छिट्टै हामी समाजवादी मोर्चा बनाएर, जनताका सामु घोषणा गरेर हामी प्रस्तुत हुन गइरहेका छौँ । त्यसका निम्ति हामी अरू समूहहरूसँग पनि कुरा गर्दैगर्दै जानेछौँ । सहभागी हुन चाहनेहरूलाई समाजवादी मोर्चामा आबद्ध गरिनेछ,” नेपालले भनेका थिए,“अझै त्योभन्दा अगाडि बढेर विचार पनि मिल्यो भने, नीति, सिद्धान्त पनि मिल्यो भने, राजनीतिक कार्यदिशा पनि मिल्यो भने, अनि हाम्रो संगठनात्मक सोचहरू पनि मिल्यो भने, हाम्रो कार्यशैली पनि व्यवस्थापन गर्न सकियो भने, मन पनि मिल्यो भने हामी एउटै पार्टी पनि हुनसक्छौँ । किनभने, हाम्रो दिलको धडकन उस्तैउस्तै ढंगले धड्किरहेको छ ।”

केही समयता नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी , जनता समाजवादी पार्टी (जसपा) लगायतका दल मिलाएर समाजवादी मोर्चाको बनाउने रटान नेताहरुले लगाउँदै आएका छन् । 

मोर्चा बनाउनका लागि केही नेताहरुलाई जिम्मेवारी पनि दिइएको थियो । तर, त्यो हल्लामा नै सीमित भएको थियो । 

माओवादी केन्द्रका कोषाध्यक्ष तथा कार्यालय सचिव श्रीराम ढकालले भने अझै छलफलकै क्रममा रहेको बताए । 

“छलफल भइरहेको छ,” उनले भने, “टुंगो भने लागिसकेको छैन ।” तर, मोर्चा साच्नै घोषणा नै गर्ने गरी गृहकार्य भइरहेको स्रोतको दाबी छ । 

मोर्चा घोषणाका लागि तीन सदस्यीय कार्यदलले गृहकार्य गरिरहेको छ । 

कार्यदलमा नेकपा माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रवेश हमाल र जनता समाजवादी पार्टी (जसपा) बाट वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ रहेका छन् । 

मोर्चा घोषणाको गृहकार्य अन्तिम चरणमा पुगेको कार्यादलका कार्यदलका एक सदस्यले बाह्रखरीलाई जानकारी दिए । 

“पहिले मोर्चा घोषणा गर्ने भनियो । तर, पहिले गृहकार्य नै भएको थिएन । अहिले गृहकार्यले मूर्त रुप पाएको छ ।  अन्तिम चरणमा पुगिसकेको छ,” स्रोतले बाह्रखरीसँग भन्यो,“ केही दिनमै पत्रकार सम्मेलन गरेर घोषणा गर्ने तहमा पुगेका छौँ ।”

मोर्चामा तीन दल, इच्छुक छन् विप्लव

मोर्चामा सुरुवाती रुपमा माओवादी, एकीकृत समाजवादी र जसपा रहनेछ ।  त्यहाँ बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) पनि आवद्ध हुने चर्चा थियो । 

तर, सुरुवाती मोर्चामा उनी संलग्न हुने सम्भावाना कम भएको नेताहरु बताउँछन्  ।   नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पनि मोर्चामा सामेल हुने इच्छा व्यक्त गरेका छन् । 

त्यस्तै नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमसँग पनि मोर्चामा आवद्ध हुनेबारे छलफल भइरहेको छ । 

“सुरुवाती चरणमा तीन पार्टीको मोर्चा बन्नेछ । बाबुराम पनि आउने त भनेका छन् बरु विप्लवले चाहिँ मोर्चामा रहन इच्छा गरेका छन्,” नाम नबताउने शर्तमा कार्यदलमा रहेका ती नेताले बताए, “वामदेव गौतमसँग पनि कुरा भइरहेको छ । अहिले तीन दलको मोर्चा घोषणा हुनेछ । विचार मिल्नेहरु बिस्तारै जोडिँदै जानेछन् ।” 

अर्का एक नेताका अनुसार मोर्चाको समितिमा तीन दलका कति सदस्य र को– को नेता रहने भन्ने चाहिँ टुंगिन बाँकी छ । 

“अब घोषणा हुन बाँकी हो । प्रत्येक पार्टीबाट समितिमा को–को रहने ? कति जना रहने भन्ने चाहिँ टुंगिन बाँकी छ्,” ती नेताले भने । 

मोर्चाले के गर्छ ?

‘कम्युनिष्ट अलायन्स’ बनाउनका लागि तीन दलको साझा अवधारणा बनेको छ ।  अहिले एउटा अवधारणापत्र सार्वजनिक हुनेछ । कार्यदलले त्यसको गृहकार्य गरिसकेको एक नेताले बताए । 

अब कार्यदल र शीर्ष नेताहरु बसेर त्यसलाई टुंगो लगाउने तयारी छ । 

अवधारणापत्रमा सरकारका साझा न्यूनतम कार्यक्रममा समावेश भएका विषयसहित राजनीतिक, आर्थिक, सामाजिक विषयवस्तु समेटिएको बताइएको छ । 

मोर्चाको उद्देश्य संघीयता, लोकतन्त्र, धर्मनिरपेक्षता, गणतन्त्रजस्ता विषयहरुको संरक्षण गर्ने हुनेछ । 

अहिले पार्टी एकता सम्भव नभएकाले सँगै बसेर विचार मिल्दै गएमा एकता गर्ने उद्देश्य रहेको कार्यदलका अर्का नेता सुनाउँछन् । 

“नेपालमा समाजवादको बाटो कस्तो हुन्छ ? गन्तव्य के हो ? भन्नेमा एकै मत भइसकेको छ । मुख्य गन्तव्य त्यही हो । संघीयता, लोकतन्त्र, धर्मनिरपेक्षता, गणतन्त्रजस्ता विषय २०६२–०६३ पछि हाइलाइट भएर आएका छन् । ती सबै कुराहरु पुराना पार्टीहरुले लैजान सकेनन्,” ती नेताले बाह्रखरीसँग भने, “०६२–६३ पछि उदाएका दलहरुले नै त्यसलाई मुख्य रुपमा उठाएको हुनाउने संरक्षण गर्ने दायित्व ति शक्तिैकै हो ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  ०९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro