
चन्द्रदीप लामिछाने
यो सृष्टि तथा चराचरजगत्का
प्राणी र वनस्पति
सम्पूर्णलाई नयाँ वर्षको शुभकामना
वनस्पति,
जीवजन्तुको सामान्य र स्वतन्त्र जीवनचक्रमा
बाँच्न पाउने अधिकारलाई शुभकामना ।
मेरो सगरमाथा र सम्पूर्ण हिमालका चुचुराहरूलाई
नयाँ वर्षको रोमाञ्चक र साहसिक शुभकामना
ती हिमकणहरू अविछिन्न यथास्थितिमा रहिरहून्
र, नदीको जीवनचक्र सदा सन्तुलित रहिरहोस्
नयाँ वर्षको शुभकामना ।
मभन्दा पर रहेको समुद्रलाई पनि
नयाँ वर्षको असीमित शुभकामना
अब कुनै सहरले पानीभित्र विलीन हुनु नपरोस्
र ठूलाठूला सुनामीहरूको त्रास पृथ्वीले भोग्नु नपरोस्
नयाँ वर्षको शुभकामना ।
अन्टार्टिकाको विशाल हिउँको पटाङ्गिनीलाई
नयाँ वर्षको शुभकामना
त्यहाँको हिउँ सदासर्वदा जस्ताको तस्तै रहिरहोस्
हिउँभित्र पुरिएर रहेका ब्याक्टेरियाहरू सदाका लागि शान्त रहिरहून्
शुभकामना ।
विश्वका सम्पूर्ण देशहरूलाई नयाँ वर्षको शुभकामना
युद्धको अन्त्यका लागि शुभकामना
शान्ति तथा मेलमिलापको दिगो जीवन्तताका लागि शुभकामना ।
महान् प्रकृतिलाई यो नयाँ वर्षको फेरि पनि शुभकामना
प्रकृतिका अनमोल रत्नहरूलाई शुभकामना
तिनका सामान्य जीवनचक्रको अपेक्षालाई शुभकामना
वन, जंगल, नदी, फाँट, ताल, तलैया, हिमाल, पहाड, तराई
सबैसबैलाई शुभकामना ।
आकाश, वायु, बादल र वायुमण्डल
सबैको नियमित निरन्तरताका लागि शुभकामना
टाढाको अन्तरिक्ष, चन्द्र, सूर्य र आकाशगंगाका सदस्यहरू
सबैलाई आ–आफ्नो नियमितताको शुभकामना ।
अन्तरिक्ष स्टेसनमा खोज र अनुसन्धानका लागि
क्रियाशील मित्रहरूलाई सफलताको शुभकामना ।
शुभकामना, ती महान् वैज्ञानिकहरूलाई
जसका आविष्कारले जीवनरक्षा, खुसी, सुखी
र भविष्य मार्गदर्शनमा योगदान दिए ।
एन्थोनी फाउचीलाई शुभकामना
एलन मस्कलाई शुभकामना
बिल गेट्स, ज्याक मा, जुगरबर्ग, रतन टाटा सबैलाई शुभकामना
मानव अस्तित्वको स्वीकारोक्तिलाई शुभकामना
मंगल अभियानलाई नयाँ वर्षको शुभकामना ।
महान् आमा र बाबालाई शुभकामना
प्रिय मित्र तथा आफन्तजनलाई शुभकामना
यो जन्म र जन्मान्तरलाई शुभकामना
नयाँ वर्ष तिमीलाई पनि शुभकामना
हामी सबैसबैलाई शुभकामना ।
(उपप्राध्यापक/त्रिभुवन विश्वविद्यालय)