
काठमाडौं । जम्मू कश्मीरको पहलगाममा मंगलबार भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानविरुद्ध केही कडा कदम चालेको छ । दुई देशबीचको सम्बन्ध हाल पहिलेभन्दा झनै तिक्त बनेको छ ।
यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघचीले दुई देशबीच मध्यस्थतामार्फत शान्ति ल्याउने प्रस्ताव गरेका छन् ।
उनले आफ्नो सामाजिक सञ्जालमा लेखे, "इरानको भारत र पाकिस्तानसँग शताब्दीऔँ पुरानो सांस्कृतिक र सभ्यतागत सम्बन्ध र भाइचारा छ । हामी उनीहरूलाई प्राथमिकता दिन्छौँ । यो कठिन समयमा, तेहरान नयाँदिल्ली र इस्लामाबादबीचको राम्रो सम्बन्धको मध्यस्थता गर्न तयार छ । यो फारसी कवि सादीले सिकाएको भावना अनुरूप छ ।"
उनले आफ्नो यो अनुभूति कविता मार्फत उल्लेख गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रोपटक ह्वाइट हाउसमा आउँदै गर्दा इरानसँग आणविक सम्झौताको सम्भावना बढेको छ । यसबारे दुवै पक्षबाट वार्ता भइरहेको छ । इरानको सिमाना पाकिस्तानसँग जोडिएको छ । बीबीसी