site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
के हो ‘जारी’ले दिएको सन्देश ?

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जारी’ यति बेला सिनेमा हलहरूमा चलिरहेको छ । सँगै रिलिज भएको चलचित्र ‘बुलाकी’ शो बाँडफाँटमा अन्याय भयो भन्दै बाहिरियो । अन्यायमै परेको हो/होइन, त्यो बहसको विषय हो । कारण, यसअघि ‘राधा’ले पनि यस्तै गरेको थियो ।

वैशाख १ गते नै आएको ‘बिहे पास’ले सुरुआती केही दिन राम्रै गरे पनि अहिले शो घटिसकेको छ । अरू आर्थिक रूपमा असफल प्रायः हुँदा त्यसको सकारात्मक प्रभाव ‘जारी’मा परेको छ ।

‘जारी’को शो बढ्दै छ । व्यापार आक्रामक छ । अफ डे नै किन नहोस्, चलचित्रमा दर्शकको क्रेज उत्तिकै छ । अहिले पनि करिब आधा शो ‘फिलिङ फास्ट’मा गइरहेका छन् । बक्सअफिस कलेक्सन लोभलाग्दो छ ।

Dabur Nepal
NIC Asia

दयाहाङ राई ‘जारी’का हिरो हुन् । मिरुना मगर हिरोइन । उपेन्द्र सुब्बा लेखक तथा निर्देशक अनि रामबाबु गुरुङ निर्माता । यो चलचित्रले सुदूरपूर्वी पहाडका रैथाने जाति लिम्बू समुदायको कल्चरको कथा उठाएको छ । विशेष गरी पालम र ख्यालीमार्फत लिम्बू समुदायको आफ्नो छुट्टै संसार देखाएको छ । लिम्बू समुदायमा कसरी विवाह हुन्छ ? त्यो सिनेमामा देखिन्छ ।

भक्तपुर होस् वा ललितपुर ‘जारी’ हेर्न हलमा दर्शकको ‘मेला’ नै लागेको छ । बिर्तामोडमा पूर्वी पहाडबाट बसाइँ सरेर झरेका लिम्बू समुदायको बाक्लो बसोबास भइसकेको छ । त्यसैले बिर्तामोडको वान स्टेपमा सिनेमा हेर्ने दर्शकको घुइँचो लागेको छ । त्यहाँका अधिकांश शो फिलिङ फास्टमा गएका छन् । सुरुका दिनमा धेरै शो ‘शोल्ड आउट’ भएका थिए ।

उपेन्द्रले लिम्बू समुदाको कल्चरमा ‘कल्चरल’ चलचित्र बनाए । दर्शकको हेर्ने भीड लाग्यो । यसको अर्थ आफ्नो समुदायको कथा हेर्न दर्शक लालायित छन् भन्ने पनि हो । कल्चरमार्फत मान्छेले आफ्नो पहिचान खोजिरहेको छ । कतिपयले बिर्संदै गएको र कतिपय कल्चरबाट टाढिएको अवस्थामा यस्तो कथाले दर्शकलाई ‘नोस्टाल्जिक’ बनाउँछ । यसको उदाहरण उपेन्द्रले ‘जारी’मार्फत प्रमाणित गरेका छन् । त्यसो त उपेन्द्र र रामबाबुलाई दर्शक हलसम्म ल्याउन कुनै जातिविशेषको कथा नै चलचित्रमा भन्नु पर्दैन । उनीहरू दुवै प्रमाणित भइसकेका लेखक तथा निर्देशक हुन् । ‘कबड्डी’ सिरिज यसको प्रमाण हो ।

उपेन्द्रले नयाँ पुस्ताले भुल्न लागेको संस्कारमा चलचित्र बनाएका छन् । पछिल्लो समय बसाइँ सर्नेको लर्कोले पहाड रित्तिँदै छ । लिम्बू समुदाय पनि यसबाट अछुतो छैन । पूर्वी पहाडको पुर्खौली थातथलो छोडेर हुनेखाने लिम्बू तराई र काठमाडौंमा बस्न थालेका छन् । कतिपय त हङकङ, बेलायतलगायत देशमा छन् ।

जुन भूगोल र समुदायमा बस्यो, त्यहीँको बहुसंख्यक समुदायको संस्कार र संस्कृति हाबी हुन्छ । अल्पसंख्यकको संस्कृति विस्तारै लोप हुँदै जान्छ । सायद यही महसुस गरे उपेन्द्रले । र, बनाए ‘जारी’ । उनले चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा पनि यो कुरा स्पष्ट पारेका थिए ।

उपेन्द्रले भनेका थिए– मैले यो चलचित्र मेरा छोरीहरूका लागि बनाएको हुँ । मेरा छोरी यतै काठमाडौंमा जन्मिए । यतै बसे । यतै पढे । यतै हुर्किए । यतैको चालचलन सिके । अहिले युट्युब र टिकटकको समय छ । अमेरिकामा के खान्छन्, के लाउँछन् र के गर्दै छन्, थाहा पाउने भए । त्यसैले हाम्रो यो संस्कार र संस्कृति के हो, हाम्रो संस्कार यस्तो छ भनेर मैले मेरो छोरीहरूलाई राम्रो संस्कृति देखाउन जारी बनाएको हुँ ।

लिम्बू समुदायमा रहेको जारी प्रथाले महिलालाई शक्तिशाली बनाएको छ । बहुविवाहका लागि स्वतन्त्रताको अधिकार दिएको छ । उपेन्द्र सचेत हुँदै भन्छन्, “तर, मैले बहुविवाहको वकालत गरेको होइन । कल्चरको कुरा मात्रै गरेको हुँ ।”

उनले बनाएको यही कल्चरको चलचित्र दर्शकले मन पराए । जसमा जारी प्रथाको जगमा सुन्दर प्रेमकथा छ । भागदौडको यो समयमा धेरैजना घर छोडेर टाढाटाढा छन् । घर छोडेर टाढिनु आफ्नो संस्कार र संस्कृतिबाट पनि बिछोडिनु हो । त्यसैले पछिल्लो समय धेरैजना आफ्नो संस्कार र संस्कृतिबाट नचाहेरै पनि टाढिएका छन् । चासो राख्न थालेका छन् ।

‘जारी’ निर्माण भयो । निर्माण पक्षले मिहिनेत गर्‍यो । मिहिनेतको कदर भयो । सिनेमा चल्यो । यसले दिएको सन्देश विभिन्न जातिविशेषका कथामा सिनेम्याटिक फिल दिएर चलचित्र बनाए चल्छ भन्ने पनि हो ।

नेपालमा थुप्रै समुदाय छन्, आफ्नै कल्चर छ । राई, मगर, चौधरी, तामाङ समुदायको छुट्टाछुट्टै कल्चर छ । लोपोन्मुख समुदाय पनि छन्, उनीहरूको भिन्नाभिन्नै कल्चर छ । यी समुदायका संस्कृतिमा राम्रो सिनेमा बनाउन सके दर्शक हेर्न उत्सुक रहेको सन्देश ‘जारी’ले दिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro