
काठमाडौं । मुलुकको प्रमुख प्रशासकीय केन्द्र हो, सिंहदरबार । जहाँको फोहोर एक हप्तादेखि उठेको छैन ।
गृह मन्त्रालय नजिकै, देशकै पुरानो सञ्चारगृह रेडियो नेपालको आडैमा, जस्ताको छाप्रो । छाप्रो अगाडिको गल्ली हुँदै भित्र छिर्न हम्मेहम्मे पर्छ । बाटोमै राखिएका छन्, साइकलमा फोहोर । टनाटन ।
प्लास्टिकका झोला । सामानका कार्टुन । बोरा । सबै भरिएर कतै छरिएको, कतै असरल्ल पोखिएको । छाप्रोको छानो छुन लागेको फोहोरको डुंगुर । त्यो पनि कुहिने नकुहिने एकैठाउँमा मिसिएको ।
चारजना युवक धमाधम फोहोर छुट्याउँदै छन् । भएजति बोरामा कोच्ने प्रयास गर्दै छन् । भनभन्ती झिँगा । डुङडुङ्ती दुर्गन्ध । छेउछाउमा कोही आइपुग्दैनन् ।
‘कति भयो यहाँ फोहोर लिन गाडी नआएको ?’
“ठ्याक्कै एक हप्ता भयो,” फोहोर छुट्याउँदै गरेका एक युवा मास्कभित्रैबाट बोल्छन् ।
कुहिएको खानेकुरादेखि, प्लास्टिकका बोत्तल । कागजपत्रदेखि ठूलाठूला कार्टुनहरू एकै ठाउँमा गोलमटोल छन् । चारजनालाई धमाधम छ, फोहोर छुट्याउन ।
“कमसेकम कुहिने नकुहिने नमिसाइदिए पनि त हाम्रो समय बचत हुन्थ्यो,” तिनै युवक फेरि बोल्छन् ।
सिंहदरबारभित्रको कार्यालयजन्य फोहोर बिहानको समयमा संकलन हुन्छ, क्यान्टिन र अन्य फोहोर अपराह्नपछि ।
“पहिले त दिनहुँ आउँथ्यो नि गाडी, अब यो फोहोर तीन गाडी जति भयो होला । पहिले पो दिनहुँ आउँथ्यो गन्ती हुन्थेन,” उनी थप्दै जान्छन् ।
फोहोर संकलन गृहको ठ्याक्कै अगाडि सिंहदरबार प्रहरी सुरक्षागणको क्यान्टिन छ । क्यान्टिनको पछाडिको भाग फोहोरको छाप्रोसँगै जोडिएको छ । तर, पछाडि फोहोरको डङ्गुर छ भनेर न क्यान्टिन सञ्चालकलाई थाहा छ, न ग्राहकलाई नै । वा थाहा पाएर पनि बेखबरझैँ छन् ।
“यतिका ठूलाबडाहरूलाई चासो नभएको कुरो हामीले थाहा पाएर गर्नु चाहिँ के छ र ?,” तिनै युवक फेरि बोल्छन् ।
‘यसरी नै फोहोर थुप्रिरह्यो भने त पूरै सिंहदरबार प्रदूषित हुने रहेछ है ?’
“भए हुन्थ्यो नि ! डुङडुङ्ती गन्हाए हुन्थ्यो । मन्त्रालयहरू नै दुर्गन्धित भए पो सबैले थाहा पाउँथे । होइन लुकाउँछन् कि क्याहो यहाँको फोहोर । देख्या भए त समस्या समाधान भइहाल्थ्यो नि !,” निजामती पोसाकका एक कर्मचारी आफ्नो तितो पोख्दै अघि बढ्छन् ।
‘होइन सिंहदरबारभित्र साँच्चै कुहिने नकुहिने फोहोर छुट्याइँदैन त...? सर्वसाधारणलाई थर्कमान बनाएको जरिबानाको नियम सिंहदरबारलाई लाग्दो रहेनछ ?’
सिंहदरबारभरकै बढी चहलपहल हुने केन्द्रीय क्यान्टिनको किचनबाट एप्रोनसहित एक कर्मचारी बाहिर निस्किन्छन् । ठूलो हरियो बाल्टिनमा पानीको बोतल फुत्त फाल्छन् । सरासर अघि बढ्छन् । परसम्म अरू कुनै डस्टबिन देखिँदैन । ग्राहक पनि उसैगरी हातमा भएका फोहोर बाल्टिनमा खसाल्दै बाहिरिन्छन् ।
‘मुलुककै कानुन बनाउने सांसदहरूले खाने क्यान्टिनमा त केही न केही अनुशासन होला नि !’
संसद् सचिवालयको क्यान्टिनबाहिर पुग्दा दुईवटा डस्टबिन देखा पर्छन् । एउटामा प्लास्टिक र कार्टुनमात्रै राखिएको छ । हरियो डस्टबिनमा भने सबैखाले फोहोर ।
"के हेर्नुभयो र ?," किचनबाट निस्कँदै एक महिला कर्मचारी सोध्छिन् ।
‘तपाईंहरू कुहिने नकुहिने फोहोर छुट्याएर राख्नुहुन्न ?’
“अँ, चारो लैजानेजति चाहिँ छुट्यादिन्छौँ अरू त साध्य नै हुँदैन नि,” उनी सरासर अघि बढ्छिन् ।
पछाडि आउँदै गरेका एक युवक हाँस्दै बोल्छन्, "चारो त पैसा तिरेर लान्छन् नि त ।"
फोहोर व्यवस्थापनको मुख्य जिम्मेवारी पाएको काठमाडौं महानगर, महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) सिंहदरबारसँग रुष्ट छन् । उनको तर्क छ– सिंहदरबारले सहयोग गरेन । सहयोग नभएसम्म फोहोर उठ्दैन ।
गत चैत २५ गते फेसबुकमा स्टाटस लेखेर उनले भनेका थिए, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेतालाई सिस्डोलमा डम्प गर्नुपर्छ ।’
त्यही दिनदेखि सिंहदरबाभित्र फोहोर थुप्रियो । बाहिर भने जिम्मेवार मन्त्रीहरूका अभिव्यक्ति फैलिए– महानगरका मेयरले सिंहदरबारको फोहोर उठाउँदैन भन्न मिल्छ ?, मेयरले जनताको स्वास्थ्यमाथि खेलबाड गरे ।... यस्तै यस्तै ।
सिंदरबार र बागदरबार ‘जुहारी’ सामाजिक सञ्जाल र सञ्चारमामाध्यमार्फत झनै घोचक बन्दै गयो । मेयर बालेनले फोहोर व्यवस्थापन र अन्य विषयमा सहयोग माग्दा ९ महिनासम्म पनि समन्वय नगरेको भन्दै १४ वटा मन्त्रालयको 'असहयोग'को फेहरिस्त सार्वजनिक गरे । त्यो पनि फेसबुकबाटै ।
यसबीचमा सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले मेयरले कुनै अर्को उद्देश्यपूर्तिका लागि फोहोर नउठाएर ‘जनताको स्वास्थ्यमाथि खेलबाड गरेको’ अभिव्यक्ति दिइन् ।
यता मेयर बालेनको घुर्की झन् पेचिलो बन्दै गयो । फेसबुकबाटै भने, "हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी...।"
उता सिंहदरबार दिनदिनै प्रदूषित बन्दै गएको छ । आईक्यू एयरको सूचीमा विश्वकै ६० प्रदूषित सहरहरूमध्ये एक नम्बरमा परेको छ, काठमाडौं ।
अनि के जनस्वास्थ्यको पाटोलाई नियालिरहेको सरकारको कुनै पनि निकायले समस्या समाधानका लागि महानगरसँग यसबीचमा छलफल गर्यो त ?
महानगरका प्रवक्ता नवीन मानन्धर भन्छन्, “यसबीचमा महानगरसँग कुनै पनि निकायबाट छलफल र समाधानको पहल भएको छैन ।”
मेयर बालेनका आफ्नै माग होलान् । सिंहदरबारको आफ्नै शैली । तर, महानगरजस्तो जिम्मेवार निकायको घुर्कीले जनस्वास्थ्यमाथि खेलबाड भएको पनि यथार्थ हो ।
गत वर्ष यही मौसममा काठमाडौंमा देखिन थालेको हैजाले महामारीकै रूप लिएको थियो । योवर्ष पनि बर्खा नलाग्दै लामखुट्टेजन्य रोगहरूको प्रकोप बढ्न थालेको छ । स्मरणीय त के छ भने गतवर्ष काठमाडौं महानगरमा सबैभन्दा बढी नागरिक डेंगु स्रंक्रमित भइरहँदा महानगर टुकुचा खोतल्न व्यस्त थियो ।