site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कल्चरल सिनेमामा सबल ‘जारी’
SkywellSkywell

काठमाडौं । ‘सिनेमा बनाउन साह्रै गाह्रो रहेछ, सिनेमा त लेख्न मात्रै सजिलो रहेछ,’ बिहीबार साँझ चलचित्रको प्रिमियरका क्रममा ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाले भने । उपेन्द्र ‘कबड्डी’ सिरिजका लेखक हुन् । ‘चलचित्र लेख्न गाह्रो । लेखेपछि बनाउन गाह्रो । बनाएपछि प्रदर्शन गर्न गाह्रो । प्रदर्शनपछि शो पाउन गाह्रो । शो पाएपछि हेर्न दर्शक आऊलान्/नआऊलान् भन्ने चिन्ता,’ उपेन्द्र भन्दै थिए ।

सोही प्रिमियरमा ‘जारी’का मुख्य अभिनेता दयाहाङ राईले सिनेमाबारे आफू केही नबोल्ने बताए । चलचित्र आफैँ बोल्ने उनको भनाइ थियो । हो पनि, दयाहाङले जतिसुकै राम्रो भनेर तारिफ गरे पनि दर्शकले हेरेपछि थाहा पाइहाल्छन् । राम्रो/नराम्रो मूल्यांकन गर्ने दर्शकले नै हो । हलमा आउने/नआउने निर्णय दर्शकको ‘टेस्ट’ले नै निर्धारण गर्ने हो ।

निःसन्तान दम्पतीको जिन्दगीका आरोह–अवरोह नै ‘जारी’को मुख्य कथा हो । नाम्साङ (दयाहाङ राई) र हाङमा (मिरुना मगर)ले विवाह गरेको वर्षौँ बितिसकेको छ । सन्तान जन्मिएको छैन । यसले श्रीमान् (नाम्साङ) र श्रीमती (हाङमा)बीच थोरै सम्बन्ध चिसिएको छ । परिवारको सद्भाव छ । तर, छरछिमेकी र समाजलाई चासो छ । चासो मात्र होइन, चिन्ता पनि छ । जसका कारण नाम्साङ हाङमाविरुद्ध खनिन्छ । जब हाङमाले नाम्साङको हप्कीदप्कीको प्रतिवाद गर्छिन्, तब सम्बन्धमा दरार बढ्छ । यही निहुँमा श्रीमती माइत जान्छिन् । त्यसपछि जे हुन्छ, ‘जारी’को मुख्य कथा त्यही हो ।

KFC Island Ad
NIC Asia

आफ्नै साथीभाइले नाम्साङलाई ‘नामर्द’ भन्छन् । त्यही रिसको झोकमा उनी हाङमालाई ‘थारी’ भन्छन् । आफ्नैभन्दा पनि गाउँसमाजका कारण नाम्साङ र हाङमाबीचको सम्बन्ध बिग्रिएको छ ।

श्रीमान्/श्रीमतीबीच दुवैले तातो रिस देखाउँदा परिवारमा कस्तोसम्म अवस्था निम्तिन्छ ? ‘जारी’को मुख्य कथा हो । जारी प्रथा आमनेपाली समुदायमा छ । तर, क्षेत्री, ब्राह्मण र लिम्बू समुदायमा रहेको जारी प्रथाबीच निकै फरक छ । अक्सर लिम्बू समुदायमा रहेको जारी प्रथा महिलाका लागि दिएको अधिकार हो भन्दा पनि फरक पर्दैन । कस्तो छ लिम्बू समुदायमा जारी प्रथा ? अरूभन्दा लिम्बू समुदायमा रहेको जारी प्रथामा के फरक छ ? थाहा पाउन यो चलचित्र हेर्नुपर्छ ।

Royal Enfield Island Ad

‘जारी’ जाति (लिम्बू)विशेषको संस्कृतिमा आधारित चलचित्र हो । चलचित्र सुरुदेखि अन्त्यसम्म जारीको वरिपरि घुमेको छ । भलै, यसलाई व्यावसायिक बनाउन प्रेम घुसाइएको छ । यही नै यो चलचित्रको सबल पक्ष हो । वैवाहिक सम्बन्ध सकिएपछि, अर्को विवाहका लागि नाम्साङसहित परिवार जुटेपछि र श्रीमान्को घर छोडेर हाङमा अर्को केटासँग हिँडिसकेपछि कसरी पुनः प्रेम हुन्छ ? यसको सेरोफेरोमा निर्देशक उपेन्द्रले सिनेमालाई दुई घण्टा घुमाएका छन् ।

लिम्बू संस्कृतिमाथि बनेको यो अब्बल चलचित्र हो । कुनै पनि जातिविशेषको संस्कृतिमा आधारित सिनेमा बनाउँदा ख्याल नगरे त्यो डकुमेन्ट्रीको छेउछाउ रुमलिन्छ । आमदर्शकलाई लक्षित भनेर निर्माण गरिए पनि जातिविशेषबाहेक अरू समुदायका लागि त्यो त्यति रुचिकर हुँदैन । यो खतरा र सम्भावनाबाट उपेन्द्रले कुशलतापूर्वक सिनेमालाई बचाएका छन् । यो नै उनको खुबी हो । जारी प्रथाको ‘सेटिङ’मा जारी प्रेमकथामा आधारित चलचित्र हो । जसले सिनेमालाई लिम्बू समूदायमा मात्र सीमित हुने खतराबाट बाहिर निकालेको छ । जारी प्रथासँगै सिनेमाले गरिब र धनीबीचको टकराबलाई देखाएको छ ।

जारी तिर्न नसक्दा छोडिसकेको श्रीमान्को घरमा ‘नोकर’ बस्नुपरेको अवस्था सिनेमाको रोचक कथा हो । त्यो कुरा धेरैलाई थाहा छैन । यो कथा जारी प्रथाको सेटिङमा लेखक तथा निर्देशकले भन्न खोजेका छन् । यो नै दर्शकका लागि रोचक कथा हो ।

त्यो सिनेमा सबल र सफल हुन्छ, जसमा सौन्दर्य, सम्बन्ध र संघर्ष हुन्छ । ‘जारी’मा सौन्दर्य छ । यो यसको कथा हो । सम्बन्ध पनि छ । तर, यसमा  संघर्षको पक्ष निःसन्देह कमजोर छ । श्रीमान्को एकाध शब्द र शैलीप्रति असहमति जनाउँदै विद्रोह गरेर घरै छोडेर हिँडेकी हाङमा त्यसपछि क्रमशः कमजोर हुँदै जान्छिन् । हरेक ठाउँमा मौन प्रायः हुन्छिन् ।

नेपाली सिनेमाको कमजोर पक्ष पटकथा हो । ‘जारी’ पनि यसबाट अछुतो छैन । रोचक कथामा कमजोर पटकथाले केही खल्लो बनाउँछ । चलचित्रमा लेखक तथा निर्देशक हाबी हुँदा कलाकार कमजोर भएका छन् । चलचित्र प्रेडिक्टेवल छ । क्लाइमेक्स के हो ? दर्शकले अगाडि नै थाहा पाउँछन् । विषयप्रधान सिनेमा त्यसमा पनि कल्चरल चलचित्रमा धेरै ‘ट्विस्ट एन्ड ट्रन’ त हुँदैन । तर, मिहिनेत गर्दा काम गर्न सकिन्छ ।

चलचित्रमा लेखक तथा निर्देशक हाबी हुँदा पटकथा कमजोर भएको छ । सुरुमा ‘थारी’ र ‘बैली’ भन्ने आरोप लगाएकै कारण श्रीमान् छोडेर हिँड्ने हाङमामा पछि बिनाकेही ठूलो कारण किन मन बदलिन्छ ? लेखक/निर्देशकलाई मन लाग्यो, बदलाब ल्याइदिए । रोएको चरित्रले हार्‍यो । तर, नाम्साङ त्यसपछि हाङमाको बस्न गयो । अनि, ऊ कहाँ गयो ? अन्त्यतिर आउँछ, तर फर्किन्छ । लेखक/निर्देशकलाई उसलाई ल्याउनु थियो, ल्याए । न संघर्ष न उतारचढाव । फर्काइदिनु थियो, फर्काइदिए ।

सन्तान नभएको आरोप नाम्साङ र हाङमाले एकार्कालाई लगाउँछन् । सम्बन्ध त्यसैले सकिन्छ । तर, पछि बिनाकारण उनीहरूमा त्यति ठूलो बदलाब आउँछ, कारण के हो ? दर्शकलाई जवाफ दिन लेखक/निर्देशक आवश्यक ठान्दैनन् । सिनेमालाई क्लाइमेक्समा पुर्‍याउनु थियो । त्यसका लागि लेखक निर्देशकलाई सम्बन्धलाई नयाँ मोडमा पुर्‍याउनु थियो, पुर्‍याइदिए । तर, कथा विश्वसनीय हुनु पर्दैन ? पटकथा कमजोर हुँदाको उपज हो यो ।

चलचित्रको सबल पक्ष सिनेमेटोग्राफी पनि हो । शैलेन्द्र डी कार्कीको सिनेमेटोग्राफीले निर्देशकलाई कथा भन्न थप मद्दत गरेको छ । चलचित्रका पात्रहरू दुःख र समस्यामा पर्दा घाम डुब्छ । यी दृश्यले कथा मात्र भन्दैन, नेपाली आमजनविश्वास पनि बोल्छ । तर, यस्ता दृश्य प्रयोग गरिरहँदा यसको कति सान्दर्भिक छ र कहाँ सान्दर्भिक छ भन्ने पनि सम्पादकले भुल्नु हुँदैन । 

विम्बका रूपमा प्रयोग भएका थारो भैँसी, गाई र बाछोले चलचित्रलाई थप सुन्दर बनाएका छन् । अर्को राम्रो पक्ष भाषा हो । स्थानीय बोलीचालीको शब्द सिनेमामा प्रयोग गरिएको छ । जतिसुकै आदर्श र शिष्टताका कुरा गरे पनि स्थानीयस्तरमा रैथाने शब्दहरू प्रयोग हुन्छ नै । त्यसैलाई टपक्क टिपेका छन्, लेखकसमेत रहेका निर्देशक उपेन्द्रले । त्यसले सिनेमालाई जीवन्त बनाउन सहयोग गरेको छ । दर्शक अझ सोही क्षेत्रमा बसेको वा नजिकबाट बुझ्ने व्यक्तिलाई सिनेमाले नोस्टाल्जिक बनाउँछ । धेरैलाई ‘जारी’मार्फत घरगाउँमै फर्काएका छन्, निर्देशक उपेन्द्रले ।

चलचित्रमा कलाकारको अभिनय राम्रो छ । दयाहाङ, मिरुना, विजय बराल, अनिल सुब्बाको अभिनयले दर्शकको ध्यान खिच्छ । उनले पनि लय बिग्रिन दिएकी छैनन् । चलचित्रमा विजयको अभिनय लोभलाग्दो छ ।

ब्याकग्राउन्ड स्कोरमा कमजोर छैन । स्थानीयता ब्याकग्राउन्ड स्कोरमा झल्किँदा कथा भन्न सहयोग नै भएको छ । लिम्बू समुदाय त्यसमा पनि उनीहरूको विवाहसम्बन्धी कल्चर बुझ्नका लागि चलचित्र सहयोगी बन्न सक्छ ।

उपेन्द्रले सिनेमा लेखनमा आफूलाई प्रमाणित गरिसकेका छन् । यसमार्फत निर्देशकका रूपमा पनि प्रमाणित गर्ने प्रयास गरेका छन् । प्रेम सम्बन्धमार्फत कथा भन्न माहिर मानिने उपेन्द्रले निर्देशकीय क्षमता देखाएका छन् । हँसाउँदै कथा भन्ने शैली उनको पहिचान हो । टिपिकल शब्द राख्ने उनको बानी हो । उनको यो मौलिकपन आफ्नै निर्देशनमा पनि देखिएको छ । 

० ० ०

निर्देशक : उपेन्द्र सुब्बा
कलाकार : दयाहाङ राई, मिरुना मगर, विजय बराल आदि
निर्माता : रामबाबु गुरुङ 
सिनेमेटोग्राफर : शैलेन्द्र डी कार्की ।


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro