विशेष
काठमाडौं । दाङमा तिजको भोज खुवाएर एक युवकले आफ्ना दुई साथीको गोली हानी हत्या गरेका छन् ।
पुरानो रिसिबी मेट्न दाङ खबरी–५ का ३० वर्षीय कर्णबहादुर पुनले गएराति आफ्नै साथीहरू ३२ वर्षीय राजु रोका र ४५ वर्षीय कालु रोकाको हत्या गरेका हुन् ।
दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहका अनुसार कर्णबहादुरले आइतबार गाउँमा तिजको भोज आयोजना गरेर साथीहरूलाई बोलाएका थिए । भोज खाएर राति घर फर्किने क्रममा कर्णबहादुरले भरुवा बन्दुकले हानेर दुई जना साथीको हत्या गरेका हुन् ।
एसपी सिंहले बाह्रखरीसँग भने, “कर्णबहादुर र मृतक तीन जना पहिलेका मिल्ने साथी हुन् । उनीहरु एकै गाउँका हुन्, तर पछि विवाद भएपछि दुवैको हत्या योजनामा कर्णबहादुर जुटेको देखिन्छ ।”
प्रहरीका अनुसार कर्णबहादुरले उनीहरूलाई हत्या गर्ने योजनाले नै तिजको दर खान बोलाएका थिए । दिउँसोदेखि सँगै मदिरा सेवन गरी नाचगान गरेर राति साढे १० बजे मोटरसाइकलमा घर फर्कंदै गरेका राजु र कालुलाई पुनले पछाडिबाट गोली हानेका थिए ।
“पुनले हत्या योजना गरी दिउँसै भरुवा बन्दुक ल्याएर राखेका रहेछन्,” एसपी सिंहले भने, “दिनभर सँगै मदिरा खाए, नाचे, रमाए अनि राति भएपछि गोली चलाए । पुनले पहिले पनि दुई जनाको हत्या गर्ने प्रयास गरेका रहेछन् ।”
गोली लागेर गम्भीर घाइते भएका दुवैको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । गोली हानी फरार रहेका पुनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ६, २०७३ १०:३६
प्रतिक्रिया दिनुहोस्