काठमाडौं । आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा । देशभरका सरस्वती मन्दिरमा पूजाअर्चना गरेर मनाइएको छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा देशभर विद्याकी देवी सरस्वतीको पूजाआजा गरी मनाइन्छ ।
वसन्त ऋतु सुरु भएसँगै यस पर्व आउने भएकाले वसन्त पञ्चमीको नामले समेत आजको दिनलाई पुकार्ने गरिन्छ । काठमाडौंको स्वयम्भुमा रहेको सरस्वती मन्दिरमा पूजा गरी आज सरस्वती पूजा मनाइएको छ । आज सरस्वतीको पूजा गर्दा बुद्धि, विवेक बढ्ने जनविश्वास रही आएको छ ।
आजको दिन शुभ काम गर्न साइत हेर्न नपर्ने विश्वास गरिन्छ । आजकै दिन स–साना बालबालिकाहरूलाई पहिलो अक्षर लेख्न सिकाइने गरिन्छ । आज बालबालिकाहरु सरस्वती मन्दिर गई पूजा आराधना गरी मन्दिरको भित्तामा अक्षर कोर्ने गर्दछन् ।