काठमाडौं । सरकारले संसद् भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयहरूको अध्ययन गरेर छानबिन गर्ने भएको छ ।
सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यको आत्मदाह र उनले उठाएको विषयबारे अध्ययन गरेर छानबिन गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले छानबिनको जिम्मा गृहमन्त्रालयलाई दिएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।
उनका अनुसार अब गृहले छानबिन गरेर आवश्यक कदम चाल्नेछ । उनले छानबिनबाट आएका निष्कर्षमाथि आवश्यक कारबाही सुरु गरिने बताए ।
मंगलबार दिउँसो बानेश्वरको संसद् भवन अगाडि शरीरमा पेट्रोल छर्केर इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले आत्मदाहको प्रयास गरेका थिए । उनको बुधबार बिहान उपचारका क्रममा निधन भएको थियो ।