site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भागी विवाहपछि तीन महिना सँगै बसे, परिवारले छुट्ट्याएपछि एउटै रुखमा झुन्डिए !

काठमाडौं । झापाको कचनकवल गाउँपालिका–४, केचनास्थित चिया बगानमा रहेको सिरिसको रुखमा झुन्डिएर आत्महत्या गरेका युवक–युवतीले भागी विवाह गरी तीन महिना केटाको घरमा बसेको खुलेको छ ।

करिब एक वर्षको प्रेम सम्बन्धपछि भागेका उनीहरूको भागी विवाह परिवारले अस्वीकार गर्दा आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं डीएसपी वसन्त पाठकले प्रेम सम्बन्ध असफल भएपछि आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको बताए ।

एभरेस्ट चिया बगानको रुखमा पासो लगाएर झुन्डिएको अवस्थामा प्रहरीले मंगलबार बिहान २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशीको शव फेला पारेको थियो । “प्रेम सम्बन्ध असफल भएपछि यस्तो भएको भन्ने बुझिन आएको छ । दुवैजनाले भागी विवाह गरेको र पछि छुटेको भन्ने छ,” डीएसपी पाठकले बाह्रखरीसित भने ।

मृतक युवकका मामा रघुनन्दन गणेशका अनुसार डेढ वर्षअघि उनीहरूले भागी विवाह गरेका थिए । “डेढ वर्षअघिदेखि नै उनीहरूको प्रेम सम्बन्ध थियो । त्यसपछि उनीहरूको भागी विवाह भएको हो । तीन महिना केटाको घरमा मिलेर बसेका थिए,” उनले भने ।

उनका अनुसार सोही समयमा पवित्राका बुवाले आफ्नी छोरीलाई ललाइफकाइ लगेको भन्दै मुद्दा हालेका थिए । गणेश भन्छन्, “त्यस बेला केटीका बुवाले ललाइफकाइ लगेको भन्दै मुद्दा हाले । अनि, जिल्ला अदालत झापाले दुवै पक्षलाई बोलाएर जेल हाल्यो ।”

केटा (राजेशकुमार) जेल परेपछि पवित्रालाई माइती पक्षले लिएर गएका थिए । केही महिना जेल बसेपछि राजेशकुमार छुटेको गणेशले बताए । “केटा छुट्दा केटी माइतीघरमै बसेकी थिइन् । दुवैजनाबीच अझै पनि कुराकानी भइरहेको छ भन्ने सुनिन्थ्यो । यस्तो घटना होला भन्ने कसैलाई थाहा थिएन । तर, आज एक्कासि यस्तो भयो । यसअघिका पारिवारिक घटनाक्रमहरूकै कारण दुवैजनाले आत्महत्या गरेको हुनसक्छ,” गणेशले बाह्रखरीसित भने ।

कचनकवल–४ का वडाध्यक्ष नरजजमा मियाँले पवित्राको उमेर नपुगेकाले उनका बुवाले मुद्दा हालेको बताए । उनका अनुसार त्यो घटना ०७८ साउनको हो । 

“पहिले भागेर गए । तीन महिना केटाको घरमा मिलेर बसे । पछि मुद्दा परेर उनीहरू छुट्टिए । अहिले यस्तो भयो,” वडाध्यक्ष मियाँले भने ।

डीएसपी पाठकका अनुसार उनीहरूको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । झुन्डिएको अवस्थामा युवतीले सिउँदोमा सिन्दूर लगाएकी थिइन् । “उहाँहरूले बिहे गरेको भन्ने होला । झुन्डिएकै अवस्थामा केटीको सिउँदोमा सिन्दूर थियो,” डीएसपी पाठकले भने ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro