भकुन्डोमा जस्तै आफ्नै टाउकोमा हावा भरेर फुत्रुङ्गफुत्रुङ्ग उफ्री हिँड्ने र आफैँलाई मै हुँ भन्नेहरूले कहिल्यै सोचेका होलान्, भकुन्डोमा हावा फुस्किएझैँ टाउकोबाट पनि फुस्कियो भने तिनको गति के हुन्छ ?
फुटबल मैदानमा बाइसतिघ्रेको लात्ती सहने क्षमताका साथ विद्यमान भकुन्डो हावा हुँदा निकै फुर्तिलो देखिने सबैलाई थाहा भएकै कुरा हो । तर, त्यसको हावा फुस्किँदा न त भकुन्डो नै काम लाग्छ न त ती बाइसतिघ्रेले नै मैदानमा केही चमत्कार देखाउन सक्छन् ।
यसको अर्थ खेल खेल्न टन्न हावा भरिएको भकुन्डो आवश्यक छ । अनि, खेलाडी पनि । यो भकुन्डोमा मात्रै होइन, मानिसमा पनि लागु हुन्छ ।
मजस्तै लाखौँ हावा भरेका टाउकाहरू हाम्रो देशमा पाइने कुरा सबैलाई विदित छ । अनि, तिनलाई भकुन्डो जस्तै लात्तो हान्ने खेलाडीरूको पनि कमी छैन । मजस्तालाई यी खेलाडीको आवश्यकता छ, तिनीहरूलाई मजस्ताको ।
आखिर खेल त खेल्नैपर्यो । उदेक लाग्ने कुरो के भने संसार कहाँबाट कहाँ पुगिसक्यो, हाम्रो देशमा न त टिम परिवर्तन भएको पाइन्छ न त खेलाडी नै । अनि त खेलको तालमाल के होला ! कहिलेकाहीँ त लाग्छ, सबै टाउकोहरूको हावा फुस्काएर लतारेर हुर्याऊँजस्तो ।
त्यसो भएपछि फेरि तिनमा हावा भरेर चिरिच्याँट्ट पारिने थियो, अनि केही परिवर्तन देखिने थियो कि ! अचम्म त के भने, अनेक टिमबाट सिंहदरबारभित्र खेल खेल्ने शिक्षण र प्रशिक्षणमा लागेका खेलाडीहरूले देशका कुनाकुनामा गएर हावा टाउकेसँग खेल खेल्न थालेको यतिका वर्ष बित्दा पनि मुलुक बनाउने सानदारको ‘गोल’ हुनै सकेको देखिँदैन । मुलुकको चाहिँ हावा फुस्किएको फुस्कियै । छैन त अचम्म !
हाम्रा गुरुले केटाकेटीमा ‘टाउकोमा गोबर भरिएको छ कि क्या हो ?’ भनेर सोध्ने गर्दथे । अचेल त गुरुले भनेको साँच्चै हो कि जस्तो लाग्न थालेको छ । नभए यतिका वर्षसम्म एउटै खेल तिनै टिमका खेलाडीहरूसँग बारम्बार खेल्दा वाक्क लाग्नुपर्ने हो नि । तर, ख्वै कसैलाई लाग्दैन ! त्यसैले होला, यतिखेर गुरुका कुरा सोचनीय भएको ।
बेलाबेला आफैँले छानेर पठाएका खेलाडीहरूले आफैँलाई भकुन्डो बनाएको देख्दा टाउकोभरि हावा मात्रै छ जस्तो पनि लाग्छ । गुरुलाई गोबरको डल्लो, तर ती खेलाडीलाई हावा भरेको भकुन्डो । गजब छ हाम्रो यो भकुन्डे टाउको । अनि, गजब छ मजस्तै ती लाखौँ छरिएर बसेका टाउकाहरू जसलाई आफ्नो टाउकोमा पम्फु फुकीफुकी लात्ती हानेको पनि हेक्का छैन ।
मजस्तै हावा भरिएका टाउकाहरू गजबका भए भए, ती खेलाडी पनि गजबकै छन् । टिम परिवर्तन गरिरहने यिनको चाला देख्दा कुन खेलाडी कुन टिमबाट कहिले खेल्छन्, अनुमान गर्नै मुस्किल भएको छ । एक टिम एक झन्डा बनाएका झन्डावाल खेलाडीहरू पनि आज एउटा झन्डा त भोलि अर्कै झन्डा बोक्दै हिँडेका देखिन्छन् ।
यही खेमा परिवर्तन, भनौँ टिम परिवर्तनको क्रममा कैयौँको हावा नफुस्किएको होइन । यी हावा फुस्किएकाहरू कता बिलाए, अत्तोपत्तो छैन । हुन त हावा फुस्किसकेपछि के काम, न खेल्न मिल्ने न खेलाउन मिल्ने !
एउटा रमाइलो कुरो त लेख्नै बिर्सेछु । प्रायः हरेक टिम बूढा खेलाडीले भरिएको हेर्नु निकै रोचक विषय हो । यी बूढाहरूमा मजस्तै हावा भरिएको टाउकोलाई भकुन्डो सरी उफार्दै पछार्दै आफ्नो टिममा सामेल गर्ने कला गजबले भरिएको रहेछ । त्यसैले गर्दा होला, पाँच÷पाँच वर्षमा खेल्नुपर्ने खेल यिनीहरु एक–दुई वर्ष नबित्दै खेलिरहन्छन् । अनि, तिनका टिममा पर्ने आशाले मसहित अनेकौँ हावा भरिएका घनटाउकेहरू उनीहरूकै पछि लागिरहन्छौँ ।
यति भएपछि तिनले कहिले दायाँ लात्ती हान्छन्, कहिले बायाँ । गोल हुने कुरा सुनिन्छ मात्रै, गोल भने हुँदैन । यसै क्रममा कैयौँको टाउकाको हावा फुस्किन्छ । यीमध्ये केही भाग्यमानी पम्फु लगाएर फेरि हावा भर्छन् र लात्ती खान्छन् । अरू त्यतिकै सेलाउँछन् र हराउँछन् ।
उता, कोही बूढा भने खेल खेल्न झन्डा बोक्दै चितवन पुग्छन् त कोही गोरखा । कोही सुदूरपश्चिम लाग्छन् त कोही सुदूरपूर्व । राजधानीमा पनि खेलाडीहरूको तँछाड मछाड उस्तै । तर, जहिल्यै बूढाहरूको हालीमुहाली । बिचरा तन्नेरी !
तन्नेरी खेलाडी भनाउँदाहरू बूढा कहिले थाक्लान् र आफ्नो पालो आउला भनेर फिल्डबाहिरै बसिरहेका भेटिन्छन् । यिनलाई सधैँ बाहिर बेन्चमै बसिरहेको देख्दा लाग्छ– बरु, मजस्तै हावा भरेको टाउको नै बेस । यता ठक्कर खाउ उता ठक्कर खाउ, जिन्दगी चलाउ ! कमसे कम ठक्करै ठक्करमा खेलको अनुभव त मिलिरहेछ । बेन्चमै स्थिर बकुल्लोले पोखरीमा माछा ढुकेजस्तो त बस्नु त परेको छैन ।