पोखरामा आज उद्घाटित विमानस्थल नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । यसअघि काठमाडौं र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । यीमध्ये पनि यात्रुको चाप र भारतीय सहयोगको अभावले गर्दा भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान राम्ररी हुन सकेको छैन ।
आकर्षक पर्यटक गन्तव्य पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको सपना देखिएको भने पचासौ वर्ष भइसकेको छ । यसको निर्माण गर्ने निर्णय भइसकेपछि पनि विभिन्न अवरोध भइरह्यो । निर्माण सुरू भएपछि पनि सम्पन्न हुन अनपेक्षितरूपमा बढी समय र लागत लाग्यो ।
लागत बढ्न गएकै कारण कतै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपालका लागि ‘सेतो हात्ती’ हुने त होइन भन्ने सन्देह पनि शुभारम्भको उत्साहसँगै प्रकट भइरहेको छ । पर्यटन व्यवसायमा आधारित पोखराको मात्र होइन गण्डकी र लुम्बिनी क्षेत्रकै विकासका लागि यो अन्तर्राष्ट्रिय विमानस्थलको योगदान मशत्त्वपूर्ण हुनसक्छ भन्ने विश्वास गर्नेहरूसमेत सरकारी कार्यशैलीले यसको नियति पनि भैरहवाकै जस्तो हुने हो कि भनेर तर्सेका देखिन्छन् ।
विश्व पर्यटन बजारमा पोखराको प्रचारप्रसार गर्न गराउन सके अन्तर्राष्ट्रिय विमानस्थलले देशकै अर्थतन्त्रमा सकारात्मक योगदान गर्न सक्ने विश्वास लिनेको सङ्ख्या पनि सानो छैन । तत्काल घाटा देखिए पनि दीर्घकालीनरूपमा यसमा गरिएको लगानीको राम्रै प्रतिफल देशले पाउने उनीहरूको विश्वास देखिन्छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालनका लागि भने राज्य, निजी र सरकारी वायुसेवा तथा पोखराका पर्यटन व्यवसायी सबैको उत्तिकै साथ र सहयोग आवश्यक देखिन्छ । निजी र सरकारी क्षेत्रका विज्ञहरूको परामर्शमा योजनाबद्ध प्रयास भएमात्र त्यो सम्भव हुनेछ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण करिब २२ अर्ब चिनियाँ ऋण सहयोगबाट भएको हो । चिनियाँ ऋणमा चर्को ब्याज र अपारदर्शी सर्तहरू जोडिने गरेको चर्चा विश्वभर हुँदै आएको छ । नेपालमा भने नेपाल वायुसेवा निगमले किनेका विमानबाहेक अरू खासै कटु अनुभव छैन ।
यसैले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका हकमा अहिले विवादमा अलमलिनुपर्ने अवस्था देखिँदैन । सबैको ध्यान र हरसम्भव सहयोग यस विमानस्थलको उच्चतम सदुपयोगमै केन्द्रित हुनु उचित हुन्छ ।
पोखरालाई भैरहवा विमानस्थलमा भारतीय असहयोगका कारण उत्पन्न अवरोध टार्ने एउटा उपायका रूपमा पनि प्रयोग गर्ने सकिन्छ किरु यद्यपि, आन्तरिक विमानस्थलकै रूपमा पनि काठमाडौंको चाप कम गर्न यो विमानस्थल उपयोगी हुनसक्छ ।
नेपालको तेस्रो तर सम्भावनाका दृष्टिबाट सायद दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएका अवसरमा पोखरेलीहरू विशेष बधाईका पात्र भएका छन् । निर्माणमा संलग्न मजदुर, प्राविधिकका साथै व्यवस्थापकहरू र ऋणै भए पनि सहयोग गर्ने मित्र राष्ट चीनप्रति आभार प्रकट गरौँ ।