site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘हसपीस नेपाल’, जहाँ मृत्युशय्यामा पनि बिरामी मुस्कुराउँछन् !

काठमाडौं । ‘कस्तो छ आमा तपाइँलाई ?’ सेताम्मे फुलेको छोटो कपाल, हड्डीमै टाँसिएको मुजैमुजा परेको छाला, बुढ्यौली झल्काउने दाँत देखाउँदै उनी प्रष्ट आवाजमा बोलिन् “अहिले त धेरै ठिक छ पहिलेभन्दा, होइन त बाबु ?” छेउमा कुरुवा बसेको छोरातिर नजर लाउँदै वृद्धाले अनुहार उज्यालो बनाइन् । जवाफमा छोरा बोले, “पहिले त खाना खानुहुन्नथ्यो । यसरी उठेर बस्न पनि सक्नु हुन्नथ्यो, अलिअलि मात्रै बोल्नुहन्थ्यो । यहाँ ल्याएपछि त हो यतिको फ्रेस हुनुभएको ।” छोराले यसो भनिरहँदा वृद्धाले पाउरोटीको टुक्रोसँग कालो चिया सुरुप्प पारिन् । र, हामीतिर हेर्दै खिस्स हाँसिन् । 

उनको हाँसोमा जीवनप्रतिको प्रेमका बिम्ब मात्रै झल्किँदैनथे, स्वस्थ भएर घर फर्किने आशाका किरण पनि प्रष्टै देखिन्थे । चौथो स्टेजको फोक्सोको क्यान्सरले गलाएर झन्डै चार महिनादेखि हसपीसमा रहेकी ८६ वर्षीया उनलाई (बिरामीको परिचय गोप्य राखिएको) भेट्न आउनेहको शुभेच्छाले चाँडै ठिक हुने उर्जा जगाएको देखिन्थ्यो । त्यसो त मृत्यु कसको कति नजिक छ भन्ने अहिलेसम्म कसले तोक्न सकेको छ र ? तर, मृत्युशैयामा पुगेर पनि मुस्कुराउने भाग्य जो कोहीकोे हुँदैन, जुन ती वृद्धाले भोगिरहेकी थिइन् । अर्थात् उनी हसपीसको उपचार र हेरचाहमा हाँसीखुसी जीवनको अन्तिम लडाइँ लड्दै थिइन् ।  

के हो हसपीस ? 
‘प्यालेटिभ केयर’को माध्यमबाट जीवनको अन्तिम चरणलाई सहज बनाउने केन्द्र हो हसपीस । अर्थात्, कुनै पनि घातक रोगमा अस्पतालको उपचारले निको हुन नसकेपछि शारीरिक, भावनात्मक स्याहार गरी जीवनको अन्तिम घडीलाई सहज बनाउन उपचार सेवा दिने केन्द्र हो हसपीस । विश्व स्वास्थ्य संगठनको ‘डब्लूएचओ एनेल्जेसिक ल्याडर’ जुन हसपीसको सेवालाई गाइड गर्न बनेको प्रोटोकल हो । यसअन्तर्गत रहेर दुखाइ कम गर्ने, स्वास फेर्न सजिलो गराउने, पेटमा पानी जमेको भए सफा गराउनेजस्ता उपचारको माध्यमबाट बिरामीलाई सहज बनाइन्छ हसपीसमा । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर बर्सेनि  ५६ करोड ८० लाख जनसंख्यालाई प्यालेटिभ केयर आवश्यक हुन्छ ।

तीमध्ये सबैभन्दा धेरै ३८.५ प्रतिशत मुटुसम्बन्धि रोगी छन् । त्यस्तै ३४ प्रतिशतलाइ क्यान्सर, १०.३ प्रतिशतलाई  श्वासप्रश्वाससम्बन्धि घातक रोग, ४.६ प्रतिशत मधुमेह र अन्य विभिन्न घातक रोगका बिरामी छन् । प्यालेटिभ केयरलाई विश्व स्वास्थ्य संगठनले ‘ह्युमन राइट टु हेल्थ’ अन्तर्गत राखेको छ । यो सेवा परिवारका सदस्य, सेवा प्रदायक केन्द्रहरू र राज्यले प्रदान गुर्नपर्ने भनिएको छ । तर, यसका लागि उचित व्यवस्था नहुँदा अहिले पनि प्यालेटिभ केयर पाउनुपर्ने विश्वको जनसंख्यामध्ये १४ प्रतिशतले मात्रै यो सेवा पाइरहेको डब्लूएचओको तथ्यांक छ । ग्लोबोक्यानको पछिल्लो तथ्यांक अनुसार नेपालमा बर्सेनि २० हजार पाँच सयका दरले क्यान्सरका बिरामी थपिँदै आएका छन् । 

हसपीस नेपाल, जहाँबाट आठ हजार बिरामीले सेवा पाए 
२२ वर्षदेखि हसपीस केन्द्रको रुपमा प्यालेटिभ केयर सेवा दिइरहेको हसपीस नेपाल महालक्ष्मीस्थान ललितपुर, नेपालको पहिलो हसपीस केन्द्र पनि हो । यही केन्द्रमा भेटिएकी थिइन् ८६ वर्षीया ती वृद्धा । वि.सं. २०५७, जतिबेला क्यान्सरको पहिचान नै नभइ बिरामी ज्यान गुमाउन पुग्थे । क्यान्सरका बिरामीले घरघरमै दर्दनाक मृत्युवरण गर्नुपर्ने अवस्था थियो । त्यही अवस्थालाई सम्बोधन गर्न डा. राजेशनाथ गंगोल र उनको टिमले सुरु गरेका थिए हसपीस नेपाल । 

“सुरुआती दिनमा हसपीसको अवधारणामा आम नागरिकमाझ बुझाउनै कठिन भयो । तर, समयसँगै सेवा लिनेको संख्या बढ्दै गयो । अहिले हामी चारवटा माध्यमबाट सेवा दिन सफल भएका छौँ,” हसपीस नेपालका कम्युनिटी हस्पिस सर्भिस इन्चार्ज गणेश कोइरालाले भने । पछिल्लो समय धेरै बिरामी कम्युनिटी हसपीस सेवा अन्तरगत उपचार पाइरहेका छन् । हसपीस नेपालले आफ्नो ३० किलोमिटर आसपासका बिरामीलाई घरमै गएर सेवा दिँदै आएको छ । यसबाहेक केन्द्रमै भर्ना भएर उपचार गराउने बिरामीको संख्या धेरै छ । डे केयर र चिकित्सकहरूमार्फत् परामर्श (ओपीडी) सेवा लिनेको संख्या पनि बढ्दो छ । 

केन्द्रमा कार्यरत १० जना स्वास्थ्यकर्मी चौबीसै घण्टा बिरामीको सेवामा खटिइरहन्छन् । क्यान्सरका बिरामीलाई लक्षित गरेर सञ्चालन गरिएकोे हसपीसबाट अहिले एचआईभीबाट एड्स हुँदै गम्भीर अवस्थामा पुगेका, पक्षघात र हेपाटाइटिस बी का कारण गम्भीर अवस्थामा पुगेका बिरामीलाई पनि प्यालेटिभ केयर दिँदै आएको छ । यसरी मासिक २० देखि ३० जनाका दरले स्थापनाकालदेखि अहिलेसम्म आठ हजार बिरामीले हसपीसको सेवा लिएको कोइराला बताउँछन् । 

सामान्यत हसपीसमा ल्याइएका बिरामी कति समयसम्म रहन्छन् ? जवाफमा कोइराला भन्छन् “ल्याउँदाल्याउँदै गेटमै बितेका उदाहरण पनि छन् । १८ महिना बाँचेको रेकर्ड पनि छ । समग्रमा यहाँ ल्याएको सातदेखि १० दिन रहन्छन् । तर, जति समय बिरामीको जीवन रहन्छ, डब्लूएचओ एनेल्जेसिक ल्याडर अनुसार उनीहरूलाई सहज र पीडारहित दैनिकी होस् भनेर हामी हरसम्भव प्रयास गर्छौं। त्यसका लागि हसपीस नेपालाई उपचार केन्द्र होइन  घरजस्तो वातावरणमा बिरामीलाई राख्ने गर्छौं ।”

  
मनकारीहरूको साथ, अवस्थाअनुसार निःशुल्क सेवा 
हसपीस नेपालमा भर्ना हुन आउने बिरामीका लागि राखिएका ६ वडा बेडको कक्षबाहिरै लेखिएको छ– निःशुल्क कोठा, निःशुल्क नर्सिङ सेवा, निःशुल्क चिकित्सकीय परामर्श । यही कक्षमा ६ वटा कुरुवा बेड पनि छन्, ती बेडमा बिरामीले स्वेच्छाले शुल्क तिर्न पनि पाउँछन् । तर, शुल्क तोकिएको छैन । “यसबाहेक ३ वटा क्याबिन बेड छन्, तीनको शुल्क आठसय रुपैयाँ प्रतिदिन राखिएको छ । तर, तिनमा पनि नाजुक आर्थिक अवस्थाका बिरामीलाई  निःशुल्क गर्ने गरेका छौँ,” इन्चार्ज कोइरालाले भने । 

बिरामी र कुरुवाका लागि केन्द्रले भान्सा कोठाको व्यवस्था गरिदिएको छ, जहाँ उनीहरूले स्वेच्छाले पकाएर खान र खुवाउन सक्छन् । यी सुविधालाई हेरेर लाग्न सक्छ, हसपीस नेपाल कुनै ठूलै दातृ निकायको आर्थिक सहयोगमा चलिरहेको होला । तर, होइन । केन्द्रमा केही व्यावसायिक क्षेत्रका व्यक्तिहरूको संलग्नता छ, जसले भाडाको जग्गामा विगत २२ वर्षदेखि संस्थालाई उभ्याइरहेका छन् । यसबाहेक आजीवन सदस्यहरूबाट वार्षिक दुई/दुई हजारका दरले जम्मा हुन्छ । बाँकी आर्थिक अवस्था सबल भएका बिरामीका परिवारले तिरेको शुल्क र केन्द्रको सेवालाई नजिकबाट नियालेका मनकारी मनहरूको चन्दाको भर ।

कस्तो–कस्तो अवस्थाका बिरामी धेरै आउँछन् ? जिज्ञासालाई इन्चार्ज कोइरालाले गम्भीर हुँदै मेटाउन थाले , “बिरामी त उपचारको शिलशिलामा घरबारी गुमाएकादेखि लाखौँको गाडी चढ्ने परिवारका पनि आउँछन् । तर, दुःख त त्यतिबेला लाग्छ, जब आफ्नो परिवारको  सदस्य मृत्युशैयामा छट्पटिइरहँदा बिरामीका आफन्तलाई एक पेट भातको भोकले सताएको हुन्छ...।” उनी एउटा तीतो अनुभव सुनाउँदै अझै प्रष्ट पार्न थाल्छन्, – घटना २०६२ साल हिउँदको हो । धादिङका एक पुरुष बिरामी वीर अस्पतालबाट यता पठाइएको थियो । उनको मलद्वारमा भएको क्यान्सरले निकै दर्दनाक रुप लिएको देखिन्थ्यो । २७ वर्षीय छोराको कुरुवा ७० वर्षका बुवा बसेका थिए । जाडो महिना थियो, ती वृद्धको आङमा एकसरो सर्ट थियो ।  त्यसमा पनि बटम थिएन । त्यही सर्टको गोजीमा बाहिरैबाट प्रष्ट देखिन्थ्यो २० रुपैयाँको एउटा नोट । भित्रबाहिर गरिरहन्थे । गोडामा जुत्ताचप्पल थिएन । उता छोरा मृत्यु शैयामा छट्पटाइरहन्थे । बुबा बाहिर छोराको सहज मृत्युको कामना गर्दै टोलाइरहन्थे । जब एक बिहान उनको अगाडि तातोपानी र डुनोट राखिदिएर मैले भनेँ– खानोस् बुवा । उनले भने, भात खाने बेलामा खानलाई राखेको । भात खान नपाएको आज पाँच दिन भयो । अहिले कसैले भात दियो भने खानुुहुन्छ ? उनले खुसी हुँदै भने पेटभरी खान्छु । मैले ती बुवालाई खानाको व्यवस्था गरेँ । पेटभरी खाना खाएर फर्किएका बुवाले मलाई गल्र्याम्म अँगालो हाल्दै भने– मैंले आज देउता भेटेँ । तीन दिनपछि छोराको मृत्यु भयो । वृद्ध बुवाको मक्किइसकेको ढाडलाई अर्को भारीले थिच्यो । शव उठाउने र अन्त्येष्टी गर्ने चाँजो मिलाउनु थियो । आर्थिक सहयोगका लागि अपिल गर्दै मैले ब्ल्यांकेटको खोल झिकेर शवलाई बेरेँ । बुवाले अर्को सुस्केरा हाल्दै भने– आर्यघाटमा मेरो छोराको शरीरलाई काग र गिद्धले खाने भए ।  उनले त्यति भनेपछि अन्त्येष्टिको व्यवस्था गर्न म पनि सँगै पशुपति गएँ । एक ‘जोगी’को सहयोगमा अन्त्येष्टि गरियो । यति बेलासम्म जुटेको सहयोगबाट आठ सय रुपैयाँ बचेको थियो । त्यही पैसा वृद्धको हातमा थमाउँदै यसले भाडा तिरेर घर जानू भन्दै बिदाइ गरेँ ।  यस्ता घटना त कति छन् कति, कोइरालाले घटनाको बिट मारे । 

स्वास्थ्यलाई व्यापारीकरण गरिँदा गरिब नागरिकले भोग्नुपरेका यस्ता पीडाको कहानी भनिसाध्य छैन । कमसेकम यस्तो अवस्थाका नागरिकको स्वास्थ्य उपचारको जिम्मा सरकारले लिनुपर्ने होइन र ?” प्रश्नबारे प्रतिक्रिया दिन नपाउँदै कोइरालाले थपे, “विकसित मुलुकमा हेर्ने हो भने हसपीस सेवा सरकारी स्तरबाटै धेरै सञ्चालन भएका छन् । नेपालमा हामीले यति प्रयास गर्दा पनि सरकारलाई बुझाउन सकिरहेका छैनौँ । हाम्रो परिवेशमा जीवनको अन्त्य सहज रुपले हुनपर्छ भन्ने राज्यले नै बुझेको छैन । म त भन्छु प्रत्येक जिल्लामा सरकारले एउटा हसपीस सेन्टर सञ्चालन गर्नुपर्छ । जन्मिएपछि मृत्यु निश्चित छ । जीवन जीउनका लागि गरिने संघर्षको कथा झनै कहालीलाग्दो छ । तर, हरेक व्यक्तिको मरण भने सहज हुुनुपर्छ, अपहेलित र कष्टकर होइन ।  

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  ०६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro