यो वर्ष पनि तराईमा शीतलहर सुरु नहुँदै मधेस प्रदेशका दुई जिल्लामा जाडोले कठ्याङ्ग्रिएर नागरिकहरूको ज्यान गएको समाचार सार्वजनिक भइसकेको छ । राज्यले बेलैमा ध्यान नदिए शीतलहर सुरु भएमा अरूको पनि ज्यान जाने अनुमान सहजै गर्न सकिन्छ ।
सबैले त कञ्चनपुर नगरपालिकाका प्रमुखले जस्तो ज्यान गुमाउने विपन्नहरूलाई ‘रक्सी खाएर मरेका’ भन्ने क्षुद्रता प्रकट नगर्लान् तर अधिकांशले भने जाडोलाई दोष दिन्छन् । जाडो याम लागेपछि उनीहरूको ज्यान गएकाले जाडोले दोष पाउने नै भयो ।
गरिबीको मारमा सबैभन्दा बढी दलित समुदायका बालबालिका, बूढापाका, गर्भवती, सुत्केरी र अपाङ्गता भएकाहरू अर्थात् अपेक्षाकृत कमजोर वर्गका नागरिक पर्छन् । जुलुस निकाल्न र सडक बन्द गर्न नसक्ने भएर हो कि उनीहरूप्रति राज्य चलाउनेहरूले खासै ध्यान दिँदैनन् ।
परन्तु, मानिसको ज्यान गरिबीका कारण जाने हो । जाडो त समाजका सबैलाई हुन्छ तर ज्यान भने मुसहर समुदायका विपन्नहरूको मात्र गएको छ । मुसहर समुदायमा प्रायः अतिविपन्न परिवारको बाहुल्य भएकाले पनि मृत्युको कारण गरिबी रहेको पुष्टि हुन्छ ।
राज्य संयन्त्रका हर्ताकर्ता भने सधैँ टालटुलमात्र गर्न रुचाउँछन् । पहिलो त मर्नुको मूल कारणको खोजी नै हुँदैन । कठ्यांग्रिएर मर्नेहरू भोकै थिए कि लाउने लुगा र ओड्ने ओछ्याउने थिएन कि भनेर कहिल्यै खोजी गरिँदैन ।
समाचार बनिहाल्यो कसैको मृत्यु भने बाँचेकालाई ‘न्यानो लुगा’ बाँडेको फोटो खिचेपछि जिम्मेवार पदाधिकारीले दायित्व पूरा भएको ठान्छन् । मरेपछि परिवारजनलाई सान्त्वना र समवेदना दिइन्छ तर नमरुन्जेल त कसैले वास्तै गर्दैन ।
राज्यले त निवेदन नपरी काम गर्दैन । सत्ताले न गरिबी देख्छ न गरिबीका कारण ज्यानै जान सक्छ भन्ने नै बुझ्छ । अहिलेका राज्य सञ्चालक पनि कुनै राजाले ‘पेटभर दूधभात पनि खान पाउँदैनन् र रु’ भनेकै मानसिकतामा देखिन्छन् ।
राज्यका हर्ताकर्तामध्ये राजनीतिक नेतृत्व अहिले सायद सत्ताको ‘तपस्या’मा ध्यानस्थ छन् । उनीहरूलाई कसैको मृत्यु वा भोक र जाडोले यतिखेर छुनै सक्तैन । कर्मचारीलाई पहिले निवेदन चाहिन्छ । अनि प्रक्रियाअनुसार कारबाही हुन्छ ।
लोकतान्त्रिक शासन व्यवस्थामा यस्तो संवेदनहीनता सह्य र स्वीकार्य हुनुहुँदैन । यसैले विपन्नहरू विशेषगरी जाडो वा गर्मीजस्ता सामान्य प्राकृतिक चक्रमा पनि ज्यान गुमाउनु पर्नेहरूप्रति राज्य साँच्चै नै संवेदनशील हुनुपर्छ ।
तत्कालका लागि न्यानो लुगाफाटा वितरण गर्नुका साथै खानेकुराको व्यवस्था मिलाए ज्यान जोगाउन सकिएला । तर, अर्को वर्ष पनि उही परिवारलाई सहायता दिन नपर्ने गरी गरिबीबाट बाहिर निकाल्न नसके यो दुश्चक्र कहिल्यै रोकिनेछैन ।
यसैले राज्यका सबै संयन्त्र संवेदनशील र सक्रिय भएर यो समस्या सम्बोधन गर्नुपर्छ । नागरिकको ज्यान गरिबीले जाने र शासकहरूले विलासी जीवन बिताउने बिसङ्गति अन्त्य नभए त्यस्ता शासकहरूकै अन्त्य हुन्छ । इतिहासले सिकाएको यही हो ।