काठमाडौं । दैनिक जीवनमा ‘डिजिटल प्लेटफर्म’हरू जोडिँदै गएपछि हाम्रो मानसिक स्वास्थ्य र व्यवहारमा परिरहेको प्रभावलाई लिएर चिन्ता जाहेर हुन थालेको छ । विशेषगरी, डिजिटल दुनियाँ र सामाजिक सञ्जाल अत्यधिक प्रयोग गर्ने युवा वर्गमा कस्तो प्रभाव परिरहेको छ भनेर विश्वभर चिन्ता गर्न थालिएको छ ।
कतिपय देशले सामाजिक सञ्जालको प्रयोगका लागि कडा कानुन बनाउन थालेका छन् । सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्न विभिन्न उपायहरू खोज्न थालिएको छ । हालै अस्ट्रेलियाले १६ वर्षभन्दा मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
अस्ट्रेलियाको यस प्रयासले संसारभर सामाजिक सञ्जालको प्रयोगबारे बहस सिर्जना गरेको छ । युरोपमा पनि यस्ता कानुनहरू छलफलमा छन् । इटली र आयरल्यान्ड बालबालिकालाई स्मार्टफोन प्रयोगमा प्रतिबन्ध लगाउने विषयमा छलफल गरिरहेका छन् ।
बेल्जियम र नेदरल्यान्डले भने विद्यालयमा स्मार्टफोनको प्रयोगमा प्रतिबन्ध लगाइसकेका छन् । विद्यालयमा स्मार्टफोनको प्रयोगले विद्यार्थीको सिकाइ र शैक्षिक विकासमा असर गरेको बेल्जियम र नेदरल्यान्डको निष्कर्ष छ । ग्रिसले पनि स्मार्टफोनको प्रयोगमा आंशिक प्रतिबन्ध लगाएको छ । ग्रिसले विद्यालय समयमा स्मार्टफोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
अमेरिकाले पनि सामाजिक सञ्जालको प्रयोगलाई गम्भीरतापूर्वक हेरिरहेको छ । अमेरिकाका ४२ राज्यका महान्यायाधिवक्ताले अमेरिकी संसद्समक्ष बालबालिकामा पार्ने मानसिक स्वास्थ्यको असरबारे सामाजिक सञ्जालले आफ्नो ‘प्लेटफर्म’मार्फत जानकारी दिनुपर्ने माग राखेका थिए ।
अनलाइनको न्युरोबायोलोजिकल प्रभाव
सामाजिक सञ्जालका फाइदा र चुनौतीबारे बहस चलिरहँदा अध्येताहरू भने अनलाइन अन्तरक्रियाको ‘न्युरोबायोलोजिकल’ र मनोवैज्ञानिक प्रभावबारे खोज गरिरहेका छन् ।
सामाजिक सञ्जाल र डिजिटल प्लेटर्फमको द्रुत परिवर्तनले गर्दा यी माध्यमले कुनै व्यक्तिको संज्ञानात्मक क्षमतामा कस्तो प्रभाव पार्छन् र यसले मान्छेको व्यवहारमा कस्तो परिवर्तन ल्याउँछ भनेर पत्ता लगाउन मुस्किल छ । कतिपय विद्वान्हरू भने डिजिटल प्रविधिले बालबालिकाको मस्तिष्कलाई ‘रिवायरिङ’ गर्ने गरेको र यसले उनीहरूमा मानसिक समस्या आउने गरेको बताउँछन् ।
अमेरिका र युरोपका वैज्ञानिक सामेल भएर 'ह्युमन टेक्नोलोजी ल्याब'मार्फत गरिएको अध्ययनअनुसार, सामाजिक सञ्जालले परम्परागतरूपमा व्यक्तिबीच प्रत्यक्ष भेटमार्फत हुने अन्तरक्रिया घटेको छ । यो अन्तरक्रिया आजभोलि डिजिटल हुन पुगेको छ । मानव अन्तरक्रिया डिजिटल हुँदा यसले अनेक अवसर सिर्जना गरे पनि यसका मानसिक र सामाजिक प्रभाव भने छन् ।
मान्छेले लगभग आफ्नो उत्पत्तिदेखि नै प्रत्यक्ष भेटेर, संवाद, अन्तरक्रिया, छलफल गरेका छन् । यही अभ्यासबाट मान्छेले सामाजिक सम्बन्ध निर्माण गरेका छन् । प्रत्यक्ष भेटको अभ्यासबाट मान्छेले एक अर्काको भाव बुझ्ने, अनुहार पढ्ने, मान्छेको कुरा महसुस गर्ने, भावनात्मक र संवेगात्मक सम्बन्ध निर्माण गर्न सिकेको हो । यी नै मान्छेको सामाजिक सम्बन्ध र सामूहिक पहिचानका आधार हुन् ।
तर, डिजिटल अन्तरक्रियाले प्रत्यक्ष भेटघाटलाई लगभग समाप्त पार्न सक्ने देखिएको छ । डिजिटल अन्तरक्रियाले व्यक्तिलाई कोसँग अन्तरक्रिया गर्ने/नगर्ने भनेर स्वतन्त्रता प्रदान गरेको छ । विद्वान्हरूका अनुसार, डिजिटल समुदायले समान विचारधारा भएका मान्छेलाई एकसाथ ल्याउँछ र यसले समाजमा ध्रुवीकरण र असमानता बढाउन सहयोग गर्न सक्छ ।
डिजिटल अन्तरक्रियाले अफलाइन सामाजिक अन्तरक्रिया घटाउने र मान्छेलाई एक्लो बनाउने खतरा छ । अध्ययनहरूले सामाजिक सञ्जालको प्रभावको जटिल चित्र देखाउने गरेका छन् । एकातिर सामाजिक सञ्जालले सामाजिक अन्तरक्रियाको नयाँ ढोका खोलेर मान्छेका लागि अवसरको नयाँ बाटो देखाएको छ ।
डिजिटल र सामाजिक सञ्जालले भूगोलका सीमाहरू तोडेको छ । कोभिड–१९ महामारीको कठिन समयमा सामाजिक सञ्जालले वैकल्पिक सामाजिक स्थान पनि प्रदान गर्यो ।
तर, यसका बाबजुद सामाजिक सञ्जालका नराम्रा पक्ष पनि उत्तिकै छन् । डिजिटल सञ्जालले सामाजिक असमानता र मानसिक स्वास्थ्य चुनौती बढाउँछ । मानव समाजको सामाजिक आधार ‘मानिने प्रत्यक्ष भेट’लाई डिजिटल विश्वका सामाजिक सञ्जालले चुनौती दिएका छन् । अहिले नै एक्लोपन सामना गरिहेका प्रयोगकर्तालाई डिजिटल अन्तरक्रियाले झन एक्लोपनतिर धकेलेर चिन्ताको रोगी बनाउन सक्छ । एकोहोरो अनलाइन अन्तरक्रियाले अफलाइन सामाजिक सम्बन्धमा प्रभाव पार्न सक्छ ।
अनुहार र बोलीको भाव (बोली) बेगर हुने डिजिटल अन्तरक्रियामा भनिएका कुरा गलत बुझिने, साइबर बुलिङ र मिसइन्फर्मेसन फैलिने चुनौती पनि उत्तिकै छ ।
डिजिटल प्रविधिले मान्छेमा पार्ने नकारात्मक र सकारात्मक दुवै प्रभाव सर्वस्वीकार्य छैनन् । सन्दर्भ, प्रयोग र परिस्थितिअनुसार फरक–फरक छन् ।
बाह्र वर्ष मुनिका ३० हजार बालबालिकामा २३ वर्षसम्म गरिएको विश्लेषणले टेलिभिजन र कम्प्युटर गेम खेल्ने बालबालिकाको मस्तिष्कको काम गर्ने तरिकामा दीर्घकालीन प्रभाव पर्ने देखियो । स्क्रिनको अत्यधिक प्रयोग मानसिक समस्या जन्माउने कारक बन्न सक्छ ।
तर, कतिपय अध्ययनले प्रविधिले सिकाइ र ध्यानकेन्द्रित गर्न मद्दत गर्ने देखाएका छन् । भिडियो गेमहरूले बालबालिकाको संज्ञानात्मक सिप बढाउन पनि सहयोग गर्ने कतिपय अध्ययनको निष्कर्ष छ ।
ह्युमन टेक्नोलोजी ल्याबले गरेको अध्ययन अनुसार, डिजिटल प्रविधिले वर्तमान मानव समाजलाई पुन: आकार दिइरहेको छ । पुनः आकार दिने क्रममा यसले असमानता, मानसिक स्वास्थ्यको खतरा बढाएको छ । एक्लोपनसँग जुधिरहेका मान्छेलाई चिन्ता र अवसादको तहसम्म पुर्याउन सक्छ ।
बढ्दै गएको डिजिटल संसारले युवाहरूका लागि अवसरका अनेक ढोका खोलिरहँदा उनीहरूको मानसिक स्वास्थ्यको चुनौती पनि बढाएको छ । त्यसैले, विज्ञहरूले डिजिटल विश्व र परम्परागत सामाजिक अन्तरक्रियाबीच सन्तुलन कायम गर्न सके युवा पुस्ताका लागि राम्रो हुने सुझाव दिने गर्छन् ।
२१औँ शताब्दीको परिवर्तनशील सामाजिक परिदृश्यमा डिजिटल दुनियाँलाई पूर्ण वहिष्कार वा स्वीकार नभएर मानव समाजलाई जोड्ने आधारभूत तत्त्व नगुमाइकन डिजिटल दुनियाँ अँगाल्नु स्वस्थकर हुन्छ ।
थ्रिसिक्स्टीओआरजीडटइन्फोबाट भावानुवाद ।