काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा ट्रिपल अन्डरग्राउन्ड पार्किङ निर्माणको प्रक्रिया अघि बढाएपछि महानगरको आलोचना भएको छ । देशका ठूलठूला ‘राजनीतिक घटनाको साक्षी’ खुलामञ्चलाई खुला नै राख्नुपर्ने मागसहित 'अकुपाई टुँडिखेल'सहित भिभिन्न अभियान चलिरहेका छन् ।
महानगरले सवारी पार्किङको समस्या समाधानका लागि भन्दै खुलामञ्चमा पार्किङ बनाउन लागेको हो ।
तर, सवारी पार्किङको विकल्पको रूपमा खुलामञ्चलाई उपयोग गर्नु गलत रहेको अकुपाई टुँडिखेल अभियानको भनाइ छ । टुँडिखेलको अभिन्न अंगको रूपमा रहेको खुलामञ्चलाई संरक्षण र सम्बर्द्धन गर्नुपर्ने अकुपाई टुँडिखेलका संयोजक विजय श्रेष्ठले बताउँछन् ।
उनले खुलामञ्च भूमिगत जल भण्डारको पुनर्भरणको श्रोत, महाङकाल, दुई माजु, गुरु मापा जस्ता कैयौँ मूर्त अमूर्त सांस्कृतिक सम्पदाको स्थल भएको बताए । "ऐतिहासिक तथा राजनैतिक परिवर्तनको साक्षी हो, खुल्लामञ्च । खुला मञ्चलाई खुला नै रहनदिनुपर्छ," उनले भने ।
पटक–पटक अतिक्रमणमा पर्दै आएको खुलामञ्च सन् १९६७ मा ५२ प्रतिशत सार्वजनिक खुला क्षेत्र भएको टुँडिखेलको भूभाग क्रमशः सन् १९९० मा ३३ प्रतिशत, सन् २००० मा २५ प्रतिशत र सन् २०१७ सम्म आइपुग्दा १४ प्रतिशतमा खुम्चिएको छ ।
२०३६ सालमा जनमत संङ्ग्रह भएपछि बीपी कोइरालाले पहिलोपटक खुलामञ्चमा पहिलोपटक जनसभा गराएका थिए । त्यसपछि २०४६ सालको परिवर्तनपछि कृष्णप्रसाद भट्राई, मदन भण्डारी, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, गणेशमान सिंह लगायतका नेताले खुलामञ्चमै सभा गर्थे ।
सहरको मध्यभागमा रहेको खुलामञ्चलाई मास्न नहुने सरोकारवालको माग छ । सांस्कृतिक, राजनितिक र प्राकृतिक महत्त्व बोकेको खुलामञ्चलाई जोगाइराख्न महानगर पछि हट्नुपर्ने अकुपाई टुँडिखेलका श्रेष्ठ बताउँछन् ।
“हजारौँ गाडीहरू खुलामञ्चमा पार्किङ गर्दा खुलामञ्च अस्तव्यस्त बन्छ । अरू देशमा यसो हुन्छ उसो हुन्छ भनेर सिको गर्न खोजियो,” श्रेष्ठले बाह्रखरीसित भने, “दरबार हाइस्कुल र वीर अस्पताल पुननिर्माण गर्दा खुलामञ्च अतिक्रमणमा परेको थियो ।”
खुल्लामञ्च धेरैवटा गन्तव्य जाने मुख्य सडकहहरूको मध्य मागमा पर्छ । जहाँ पार्किङ गर्न सवारी छिर्दा र निस्कँदासमेत सवारी आवागमनमा ट्राफिक जाम अत्याधिक बढ्ने सम्भावना रहेको स्थानीयको भनाइ छ ।
महानगरले निर्णय गरेपछि अकुपाई टुँडिखेल अभियानले सम्बन्धित वडा २८ लाई समेत पत्राचार गरिसकेको छ । खुलामञ्चलाई जोगाउन २०७६ साल कात्तिक २३ गतेदेखि अकुपाई टुँडिखेल नामक अभियान सुरु गरिएको थियो ।
२०७२ सालको भुकम्प जाँदा हजारौँ नागरिकको आश्रयस्थल खुलामञ्च बनेको थियो । खुला सार्वजनिक ठाउँहरू संरक्षण गर्नुको साटो विभिन्न प्रयोजनमा दोहन गर्न अघि बढ्नु दुर्भाग्य रहेको सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठले बताए ।
उनले टुँडिखेलको खुलामञ्च भएको स्थान प्राकृतिक, धार्मिक, सांस्कृतिक, राजनैतिक र सामाजिक इतिहास बोकेको ऐतिहासिक स्थल रहेको बताए ।
“खुलामञ्चको मर्म आत्मसात गर्नु मेयर बालेनको पनि दायित्व हो । खुल्लामञ्चको जमिन मुनि तीनतले पार्किङ र माथि खुल्ला ठाउँ पार्क नै कायम गर्छु भनेर डीपीआर आफ्नै एकल सोचमा अघि बढाउनु गलत हो,” उनले भने, “महानगरले कम्प्लेक्सको हकमा पसल, गोदाम हटाउँदै अन्डरग्राउन्ड पार्किङ लागि चलाएको दबाबमूलक अभियान कहाँ पुग्यो ?”
महानगरले धर्मपथमा बनाउदै गरेको भवनमा पार्किङ समेत पार्किङ नराखिएको उनले बताए । “पुरानो बसपार्क हटाएर भ्यूटावर निर्माणका लागि मनोज भेटवालसँग गरेको सम्झौता कहाँ पुग्यो ? भ्यूटावरको ७० प्रतिशत काम सकिसक्यो तर खै बसपार्क र पार्किङ ?,” उनले भने, “बालेनको भाषामा सेतो टावर धरहरा प्रधानमन्त्रीले उद्धाटन गरेको कति भयो ? तर खोई हजारौँ पार्किङ अट्ने अन्डरग्राउन्ड खुलाएको ? अन्य सरकारी जग्गामा बहुतल्ले प्रविधियुक्त पार्किङ भवन बनाउन किन पहल हुन सकेन ? विकल्प धेरै छन् । तर त्यसको विकल्प खुल्लामञ्च कदापि हुन सक्दैन ।”
डीपीआरका लागि खुलामञ्चमा डोजर चलाए आफूहरू कडा संघर्षमा उत्रिने संरक्षणकर्मीहरूको चेतावनी छ ।
वडाध्यक्ष खड्गी भन्छन्– खुलामञ्च खुला नै हुनुपर्छ, पार्किङ बनाउन मेरो सहमति हुँदैन
वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गी अन्डरग्राउन्ड पार्किङ निर्माणका लागि आफ्नो सहमति नहुने बताउँछन् । आफूलाई परिपत्र आयो भने विज्ञ तथा सम्पदा संरक्षणकर्मी राखेर समाधानको बाटो खोजिने उनले बताए ।
“यसमा मेरो सहमति हुँदैन । खुलामञ्चको आफ्नै महत्त्व छ । खुलामञ्च खुला नै हुनुपर्छ,” उनले बाह्रखरीसित भने, “त्यहाँ अन्डरग्राउन्ड पार्किङ बनाउन सुरु गरियो भने सुरुमा सम्पदा विज्ञहरूलाई सम्पर्क गर्छु र वृहत छलफल गर्छु ।”
महानगर भन्छ– विवाद छैन
महानगर भने अन्डरग्राउन्ड पार्किङ बनाउन कुनै विवाद नरहेको दाबी गर्छन् । उनका अनुसार हाल सम्भाव्यता अध्ययन भइरहेको छ ।
सम्भाव्यता अध्ययनपछि खुलामञ्चमा भूमिगत पार्किङ बनाउन मिल्ने भए अघि बढ्ने हो नत्र अघि बढ्दैनौँ । अहिलेको अवस्थाभन्दा धेरै अघि बढ्ने गरी सोचिएको योजना हो,” लम्सालले भने, “अहिले भइरहेको विवाद विनाकामको हो ।”
उनका अनुसार अन्डरग्राउन्ड पार्किङ पाँच हजार सवारी साधनहरू एकैपटक पार्क गर्न मिल्नेछ ।
गत कात्तिक २९ मंगलबार महानगरका मेयर बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा राष्ट्रिय सभागृहमा बसेको १० औँ कार्यपालिका बैठकले अन्डरग्राउन्ड पार्किङ बनाउने प्रस्ताव पारित गरेको थियो । २८ नम्बर वडामा पर्ने खुलामञ्चमा नगर विकास कोषको प्राविधिक सहयोगमा ट्रिपल अन्डरग्राउन्ड निर्माणको डीपीआर प्रक्रिया अघि बढाइसकेको छ ।
खुलामञ्चमै पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने पनि महानगरको तयारी छ । कहिले बसपार्क त कहिले पार्किङस्थलको रूपमा खुलामञ्च परिणत हुँदै आएको छ ।