
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको सेवा आयोगको कार्यालयले विभिन्न पदहरूमा अनलाइन आवेदन फारम भर्न म्याद थप गरेको छ ।
यसअघि चैत ०३ गतेदेखि सेवा आयोगको कार्यालयको सर्भरमा समस्या आएपछि अनलाइन आवेदन प्रक्रिया रोकिएको थियो ।
हाल उक्त समस्याको समाधान भई पोर्टल सूचारु भइसकेको भन्दै त्रिवि सेवा आयोगबाट दरखास्त दिने म्याद बढाइएको हो ।
इच्छुक उम्मेदवारले पूर्ववत् रूपमा आयोगको वेवसाइटमा रहेको लिंकमा गएर आवेदन फारम भर्न सकिने सूचनामा जनाइएको छ ।
त्रिविले ०८१ माघ २३ गते अधिकृत द्वितीय र सोभन्दा माथिका पदहरूमा आवेदन माग गरेको थियो । त्यस्तै, ०८१ फागुन ६ गते अधिकृत तृतीय र सोभन्दा तलका पदहरूमा आवेदन आह्वान गरेको थियो ।
अब अधिकृत द्वितीय र सोभन्दा माथिका पदहरूमा आवेदन दिन चाहने उमेदवारले ०८२ वैशाख १ गते रातको १२ बजेसम्म साविकको साधारण दस्तुरमा फारम भर्न सक्नेछन् । यी पदमा ०८२ वैशाख ८ गते रातको १२ बजेसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न पाइने सेवा आयोगले जनाएको छ ।
त्यसैगरी, अधिकृत तृतीय र सोभन्दा तलका पदहरूमा आवेदन दिन चाहने उम्मेदवारले साधारण दस्तुरमा वैशाख ९ गतेसम्म र दोब्बर दस्तुर तिरेर वैशाख १६ गते रातको १२ बजे सम्म फारम भर्न पाइने जनाइएको छ ।
चैत १४ गतेको सूचना बमोजिम हाललाई पदपूर्ति सम्बन्धी प्रक्रिया स्थगित गरिएका पदहरूका सम्बन्धमा भने सर्वोच्च अदालतबाट आदेश भइ आए बमोजिम हुने त्रिवि सेवा आयोगका प्रमुख विष्णुप्रसाद अर्यालले जानकारी दिएका छन् ।