काठमाडौं । बेटिङ एप्लिकेसन वन एक्स बेटलगायतका एप्समार्फत सट्टेबाजी गराई रकम संकलन गर्ने कार्यमा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङ सुन्दरबजार नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–२ टोखा चण्डेश्वरी बस्ने २६ वर्षीय सुजन गौली छन् ।
उनी फिफा विश्वकप २०२२ लगायतका अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा उक्त एप्समार्फत सट्टेबाजी गराई रकम संलग्न गर्ने/गराउने कार्यमा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले वन एक्स बेटका एजेन्टको रूपमा सक्रिय रहेका उनलाई काठमाडौं महानगरपालिका–२८ कमलपोखरीबाट पक्राउ गरेको हो ।
उनले वन एक्स बेटमा एजेन्टको रूपमा कार्य गर्ने गरेको, बढी रकम संकलन र भुक्तानीको लोभमा विभिन्न व्यक्तिको नाममा वन एक्स बेटको खाता खोली कारोबार गर्ने गरेको र ईसेवा, आईएमई पे र खल्ती तथा विभिन्न बैंकिङ प्रणाली मार्फत दुई करोड ३६ लाख ३३ हजार १ सय ३८ रुपैयाँको कारोबार गरेको खुलेको छ ।
यसबाहेक अन्य विभिन्न २६ वटा डिजिटल वालेट तथा बैंकिङ प्रणाली मार्फत सात करोड ७२ लाख ८९ हजार ४६ रुपैयाँ बराबरको करोबार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनलाई सट्टेबाजी गर्न गराउन नहुने कसुरअन्तर्गत थप अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।