जनकपुरधाम । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जनकपुरधामले किसानको धान खरिद गर्न ढिलाइ गरिरहेको छ । मधेस प्रदेशका ९५ प्रतिशतभन्दा बढी किसानले खेतबाट धान घरमा भित्र्याइसके पनि अझै धान खरिद प्रक्रिया सुरु गरिएको छैन ।
धान खरिद गर्ने जिम्मा पाएका कम्पनीले खरिदसम्बन्धी कुनै सुरसार गरेको छैन । कम्पनीले खरिद प्रक्रिया अगाडि नबढाउँदा किसानहरू सस्तोमा धान बिक्री गर्न बाध्य भएका छन् ।
किसानले घरमा भण्डारणको लागि ठाउँ अभाव तथा वर्षा भए कुहिने डरले धमाधम व्यपारीलाई नै धान बिक्री गरिरहेका छन् । तर, सरकारको धान खरिद गर्ने निकाय अझै मौन बसेको छ ।
लक्ष्मीनियाँ गाउँपालिका १ का सरोजकुमार यादवले प्रत्येक वर्ष किसानको धान खरिद नगर्ने नियतले सरकारले ढिलो गर्ने गरेको आरोप लगाए । “अहिले व्यापारीसँग धान छैन, उनीहरू धमाधम सस्तोमा किसानको धान खरिद गरिरहेका छन्,” उनले भने, “त्यही धान पछि व्यपारीसँग सरकारले बढी मूल्यमा खरिद गर्छ । सरकार सधैँ किसानको पक्षमा नभइ व्यापारीकै पक्षमा छ ।” सरकारले धान खरिद नगर्दा किसानहरू व्यापारीमार्फत बिक्री गरिरहेको उनले बताए । कम्पनीले धान खरिद सीमित व्यक्तिको मात्रै गर्दा किसानले व्यापारीमार्फत नै बिक्री गर्ने गरेको उनको बुझाइ छ ।
सोही गाउँपालिकाकी अमृता यादवले पनि सरकारमाथि प्रश्न उठाइन् । वास्तविक किसानको लागि गरिएको व्यवस्था समयमा लागु नहुने गरेको उनले बताइन् । “किसानको व्यापार भनेकै कृषि हो । उत्पादन भएको धान बिक्री गरेरै सबै काम गर्नुपर्छ,” उनले भनिन्, “पढाइलेखाइ, औषधोपचार र घर खर्च पनि धान बिक्रीबाटै गरिन्छ । तर, किसानलाई आवश्यक परेको बेला सरकारले धान नै खरिद गर्दैनन् । त्यसैले किसान बाध्य भएर सस्तोमा व्यापारीसँग धान बिक्री गरिरहेका छन् ।”
कम्पनी जोगाउन धान खरिदमा ढिलाइ
खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड जनकपुरधामका प्रमुख उपेन्द्र लिम्बूले कम्पनीलाई जोगाउन प्रधान कार्यालयबाट नै ढिलाइ भएको बताए । अहिले किसानको धान खरिद गर्दा कम्पनी घाटामा जानसक्ने उनले प्रतिक्रिया दिए । “अहिले किसानको धान घर भित्र्याएको केही दिन मात्रै भएको छ । कतिपय किसानको धान भिजेकै होला, राम्ररी सुकेको छैन,” उनले भने, “हामीसँग धान सुकाएर लिने व्यवस्था छैन । अहिले धान खरिद सुरु गरियो भने पछि प्रतिक्विन्टल पाँचदेखि सात किलो सम्म तौल कम हुन सक्छ । यसले कम्पनी धेरै घाटामा जान सक्छ ।”
यद्यपि, दश दिनभित्रै किसानको धान खरिद प्रक्रिया सुरु हुने उनले आश्वासन दिए । धनुषाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्राथमिकीकरण बैठक बसेर धान खरिद प्रक्रिया अगाडि बढ्ने उनले बताए ।
“बैठकबाट नै सर्मथन मूल्य तोकिन्छ,” उनले भने, “यी सबै काम भएपछि धान खरिद सुरु हुन्छ ।”
१८ हजार टन खरिद गर्ने लक्ष्य
कम्पनीले यसवर्ष १८ हजार टन धान खरिद गर्ने लक्ष्य राखेको छ । १५ हजार सोना मन्सुली र तीन हजार जिरा धान खरिद गर्ने तयारी गरेको छ । गत वर्ष १६ हजार ६६८ क्विन्टर धान खरिद गरिएको थियो । धनुषा र महोत्तरीका करिब पाँच सय किसानको प्रति क्विन्टल २ हजार ९०२ रुपैयाँको दरले धान खरिद गरिएको थियो । तर, यस वर्षको मूल्य तोक्न बाँकी छ ।
गत वर्ष खरिद गरिएकोमध्ये करिब सात हजार टन धान गोदाममै थन्किएको छ । “हाम्रो स्रोत साधन कम छ । गोदाममा पनि काम भएर कम मात्रामा धान खरिद गर्ने गरेका छौँ,” उनले भने, “हामीसँग भएको गोदाम तीन मेट्रिक टनको भएपनि आधा भागमा चामल मिल पनि छ ।”