केही दिनदेखि सामाजिक सञ्जाल र सञ्चार माध्यममा काठमाडौं महानगरपालिकाका प्रहरीहरूले सडकमा नाङ्ले पसल र ठेला चलाएर गुजारा गर्नेहरूमाथि बर्बर अत्याचार गरेको श्रव्यदृश्य सामग्री व्याप्त भएको छ । नगर प्रहरीको व्यवहार हेर्दा दन्त्यकथाका राक्षसी बर्बरताको सम्झना हुन्छ ।
सार्वजनिक जमिन अतिक्रमण मुक्त गराउने वा सडक खुला र सफा राख्ने महानगरको अभियानलाई अधिकांश नगरवासीले सराहना नै गरेका छन् । तर, त्यस क्रममा अपनाइएको मध्ययुगीन बर्बरताले भने बिस्तारै नगरवासीमै पनि क्षोभ उत्पन्न हुन थालेको देखिन्छ ।
सडकमा भेटिएका नाङ्ले व्यापारीलाई हटाउने क्रममा उनीहरूलाई लछारपछार गरिएको र तिनका सामान विनाभर्पाई जपत गरेको दृश्यले महानगर प्रहरीको छवि निर्दयी लुटेराको जस्तो बनेको छ । आक्रमणको जोखिम नभएका अवस्थामा नागरिकविरुद्ध बल प्रयोग गर्ने र तिनको सम्पत्ति जफत गर्ने कर्तुतको औचित्य कहिल्यै सिद्ध हुँदैन ।
काठमाडौं महानगर प्रहरीले अपनाएको यो शैली अमानवीय र असभ्य त हुँदै हो असंवैधानिक पनि हो । नेपालको सविधानले व्यक्तिको मर्यादा र सम्पत्तिको सुरक्षाको प्रत्यनभूति गरेको छ ।
यसैगरी व्यक्तिको सम्पत्ति राज्यले भर्पाई नदिई जफत गर्नु मध्ययुगीन लुटतन्त्रको पुनरावृत्ति हो । सडकबाट जफत गरेको सामान हिनामिना गर्ने नियत नभए महानगर प्रहरीले त्यसको भर्पाई पक्कै दिनेथियो ।
महानगर प्रहरीको बर्बर र अमानवीय व्यवहारको दोष महानगरमा निर्वाचित सबै जनप्रतिनिधिलाई लाग्छ । यसैले महानगरले यस प्रकारको अमानवीय र गैरकानुनी बर्बर अभ्यास तत्काल छाडेर कानुनबमोजिमको विधि र प्रक्रिया अपनाओस् ।
काठमाडौं यसरी बर्बरताको उदाहरण बनाइएको देख्दा महानगरवासीमात्र होइन नेपाली सबैको चित्त दुख्छ । विश्वकै उत्कृष्ट सभ्यता भएको र सहिष्णुताको उदाहरण मानिएको काठमाडौंको छवि बिगार्ने अधिकार कसैलाई छैन ।