पोखरा । गण्डकी प्रदेशसभाको बैठकका लागि आफ्नो भवन छैन । नदिपुरस्थित पोखरा उपत्यका नगर विकास प्रशिक्षण केन्द्रको भवनलाई संसद् भवनको रूपमा एक कार्यकाल प्रयोग गरिसकिएको छ । कोरोनाकालमा सामाजिक दुरी कायम गर्न भनेर पोखरा सभागृहलाई पनि संसद् बैठक भवनको रूपमा प्रयोग गरिएको थियो ।
तर, गण्डकीको संसद् भवन भनेकै त्यही प्रशिक्षण केन्द्रको पानी चुहिने भवन नै हो । प्रदेश सरकारले नै नयाँ संसद् भवन बनाउने भनेर प्रक्रिया अघि बढाएको थियो । तर, प्रक्रिया अलपत्र हुँदा अब पनि संसद् बैठक पुरानै भवनमा चल्नेछ ।
०७४ माघ ७ गते प्रदेशसभा सदस्यको सपथदेखि ०७९ भदौ ८ गतेसम्म प्रदेशसभाको पहिलो कार्यकाल चल्यो । यही पुरानो भवनले नै प्रदेशको नाम गण्डकी र राजधानी पोखरा पनि तोक्यो ।
पहिलो कार्यकालका सांसदहरूको विदाइपछि खाली बनेको पुरानोमा भवनमा फेरि रङरोगन गरिएको छ । यो भवनमा बर्सेनि वर्षातमा पानी चुहिन्छ । बैठककक्षभित्रका पानीका धर्का मेटाउन प्रदेशसभा सचिवालयले नयाँ रङ लगाएको छ ।
टायलले छाएको भवनको बाहिरपट्टि पनि देखिने गरी नयाँ रङरोगन गरिएको छ । प्रदेशसभा भवनको माथिपट्टि राखिएको ‘प्रदेशसभा भवन’ लेखिएको फ्लेक्स भने फेरिएको छैन ।संसद् भवन परिसर बाहिरको चौरको घाँस काटिएको छ । कम्पाउन्ड मर्मतसँगै सरसफाइ गर्ने कार्य नियमित भइरहेको छ ।
आगामी पाँच वर्षे कार्यकाका लागि नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको स्वागतका लागि सचिवालयले सरसफाइ, मर्मतलगायतका कामलाई तदारुकताका साथ अगाडि बढाएको छ ।
सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीका अनुसार बैठककक्षको क्षेत्र सानो भएकाले कुर्सी भने पुरानै हुनेछन् । पुरानै कुर्सीलाई सरसफाइ गरेर प्रयोग गरिने उनले बताए ।
सचिवालयले यसवर्ष नयाँ प्रिफ्याब भवन थप्दै छ ।
अघिल्लोपटक गण्डकीमा एमाले, कांग्रेस, माओवादी, नयाँ शक्ति पार्टी र जनमोर्चाले चुनाव जितेर संसदीय दलको कार्यालय पाएका थिए । यसपटक भने तीन ठूला दलसहित गण्डकीमा राप्रपाले समानुपातिकमार्फत प्रवेश गरेको छ । संसदीय दलको लागि कार्यालय भने पर्याप्त नै हुनेछन् ।
अघिल्लो कार्यकालमा सांसदहरूका लागि काठको पिजन हलको व्यवस्था गरिएकोमा यसपटक भने यूएनडीपीले लकरसहितको पिजन हल उपलब्ध गराएको छ ।
सचिवालयमा हालसम्म पुस्तकालयको व्यवस्थापन भने भइसकेको छैन । नयाँ बन्ने प्रिफ्याब भवन वा खाली रहेका कुनै कोठालाई सचिवालयले पुस्तकालय बनाउने तयारी गरिरहेको छ ।
गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनबाट गण्डकीमा प्रत्यक्षतर्फ ३६ जना र समानुपातिकतर्फ २४ जना प्रदेशसभामा सदस्यका रूपमा आउँदै छन् ।
अब केही दिनमा सांसदहरूको शपथग्रहणको तयारी सुरु हुनेछ ।
प्रदेश प्रमुखले ज्येष्ठ प्रदेशसभा सदस्यलाई शपथ खुवाउनेछन् भने ज्येष्ठ सदस्यले अन्य सदस्यहरूलाई शपथ खुवाउनेछन् । औपचारिक रूपमा शपथग्रहण गरिसकेपछि सभामुख/उपसभामुखको निर्वाचन प्रक्रिया सुरु हुन्छ । सरकार गठनको प्रक्रिया पनि शपथग्रहणपछि नै सुरु हुनेछ ।