site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नारायणगोपालसँगका प्रसंगहरू  
Sarbottam CementSarbottam Cement

नारायणगोपालसँग पहिलो देखा–भेट    

वि.सं. २०३५–३६ सालतिर टीयू ब्यान्डले प्रज्ञा–प्रतिष्ठानमा सांगीतिक कार्यक्रम राखेको थियो । त्यसका प्रमुख गायक थिए नारायणगोपाल । टीयू ब्यान्ड त्रिविविमा अध्ययनरत विद्यार्थीहरूले खोलेको ब्यान्ड थियो । त्यस कार्यक्रमका प्रमुख वा हर्ताकर्ता अथवा संयोजक थिए निसुमछाङ । उनी हाम्रो गाउँ भोजपुरका ‘दाइ’ विद्यार्थी ।

खास उनको नाम नन्दराज रुङमाङ राई हो । निसुमछाङ उपनामबाट चर्चित थिए उनी । गीत–संगीत भनेपछि गाउँदेखिकै रुझान थियो मलाई । निसुम दाइलाई पछ्याउँदै भाइ विद्यार्थीका रूपमा हलभित्र म पनि जान पाएँ । ब्याकस्टेजमा बसिरहेका नारायगोपाललाई नजिकबाट मैले देखे । गम्भीर मुद्रा, गठिलो शरीर र पावरवाला चस्मा, कलर मिलेको सर्ट–पेन्ट र टिलिक्क चम्केको कालो जुत्तामा व्यक्तित्व आफैँ झल्किन्थ्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रम सुरु भयो । गायन, वादन, नाच र हास्यव्यंग्य क्रमशः प्रदर्शित भए । नारायणगोपालको गायन सुरु भयो । गीत गाउँदागाउँदै बीचैमा केही उटपट्याङ विद्यार्थी ‘आउट’ भनेर कराए । नारायणगोपालले लाइभ बाजागाजा रोके र ‘को हुटिङ गर्ने ?’ भन्दै सर्टका बाहुला सुर्किए ।

खेल्ने भए बाहिर आइज एक एक भन्नेसम्मको स्थिति भयो । पछि कोही बोलेनन् र गायन सुचारु भयो । कुनै कलाकारको जीवनमा यस्तो हुन्छ हुँदैन हिजोआज, त्यो बेला त्यस्तो परिघटना भएको थियो ।

Global Ime bank

२०३६–३७ भरि म प्रज्ञा–प्रतिष्ठानको संगीत प्रशिक्षार्थी थिएँ । सोही बेला शकुन्तला गीति नाटकका गीतहरू प्रतिष्ठानको हलमा रेकर्ड हुन थाल्यो, राष्ट्रकवि माधव घिमिरेको रचना र चन्द्रराज शर्माको संगीतमा ।

नारायणगोपाल, भक्तराज आचार्य, संगीत–प्रवीण नरराज ढकाल, तारादेवी आदि आ–आफ्ना ‘पार्ट’ गायनका लागि आउने गर्दथे । त्यस बेलाको एउटा प्रसंग अविष्मरणीय छ, नारायगोपालसँगको नजिकी र संगीत–प्रवीणलाई गायनमा अप्ठ्यारो । शास्त्रीय संगीतका धुरन्धर गायक भए पनि नरराज ढकाललाई चन्द्रराज शर्माको संगीतमा आधुनिक गीत गाउनु अप्ठ्यारो भएको थियो ।

नारायणगोपाल जीवन–वृत्त

नारायणगोपालको घरघराना नै शास्त्रीय संगीत घराना हो । सानै उमेरदेखि उनले शास्त्रीय संगीतका तान–तराना, मुर्की–मूच्र्छनाहरूका भर्‍याङ चढ्न पाएका थिए । त्यसैले उनको आवाज साधकीय भएर सधैँ रह्यो । र, अन्तिम समयसम्म उनको स्वरमा कुनै खराबी देखिएन । सानै उमेरदेखिको शास्त्रीय स्वर–साधनाले उनको गायन स्थिर बनाएको रहस्य भने हिजोआजका गायकले नबुझेकै देखिन्छ ।

यिनका आमाबाबु राममाया र आशागोपाल हुन् । आशागोपाल (वि.सं. १९६२–२०३५), किलागल, काठमाडौंमा जन्मेका हुन् । उनले सुरुमा कोमलध्वजसँग सितारवादन सिकेका थिए । त्यसपछि पण्डित पूर्णचन्द्र रेग्मीसँग सिक्नुका साथै उस्ताद सिद्धिवीर, प्रो. बालाप्रसाद शर्मा, उस्ताद भगतकृष्ण आदि शास्त्रीय संगीतकर्मीसँगका साधनाले उनलाई कुशल शास्त्रीय सितारवादक तुल्याएको थियो ।

आशागोपालकै प्रेरणाले छोराहरू नारायणगोपाल, मनोहरगोपाल, रामगोपाल, हेमगोपाल आदि गायन क्षेत्रमा लागेका हुन् । आशागोपालका आमाबाबु लालकुमारी र लक्ष्मीदास गुरुवाचार्य हुन् । नारायणगोपालकी धर्मपत्नी पेमला लामा (२००१–२०६१) हुन् । उनले पनि नारायणगोपालको सांगीतिक यात्रामा अनवरत सहयोग पु¥याएकी थिइन् ।

नारायणगोपाल परम्परा 

वि.सं. १९९६ सालमा जन्मेका नारायगोपालको सांगीतिक लीला २०४७ मंसिर १९ गते आएर समाप्त भयो । त्यसबीचमा उनले नेपाली गायनको मिथक, स्कुल अफ थट्स आदिको स्थापत्य र एकल गायनको स्टेज प्रस्तुति परम्पराको निष्पादन समेत गर्न भ्याए ।

हुन त नेपाली सांगीतिक परम्परामा एकपछि अर्को गायन प्रभाव, शैली र देखासिकी प्रचलनमा रहेको छ । सबभन्दा बढी नारायणगोपालको गायनशैलीलाई अनुज पुस्ताले पछ्याउने प्रयत्न गरेको देखिन्छ । त्यस शैलीलाई बोकी हिँड्दा पनि धेरै युवा गायकहरू स्थापित हुने मौका पाएको देखिन्छ ।

२०५० पछि नारायणगोपालजस्तो बन्ने होड र ‘ह्याङ’मा तत्कालीन युवा कलाकार नहिँडेका होइनन् । तर, यो बीस–एक्काईस वर्षभित्र कोही गायक नारायणगोपालको रिप्लेसमा आएनन् । किनकि, त्यो भ्रम थियो ती कलाकारमा ।

गायनशैलीमा अनुज पुस्ताले सर्वाधिक ‘फलो–फ्यान’ गरिएका गायकमध्ये नारायणगोपाल र अरुणा लामा हुन् भने अन्य कलाकारहरू प्रेमध्वज प्रधान, तारादेवी, दीप श्रेष्ठ, ओमविक्रम विष्ट, मीरा राणा, भक्तराज आचार्य, योगेश वैद्य, रसिक–भोजपुरे वा बच्चुकैलाश हुन् । उनीहरूको आ–आफ्नै सांगीतिक स्थापत्य पनि छ ।

नारायणगोपालकै मृत्युदेखि प्रज्ञा–प्रतिष्ठानमा कलाकारको शव राख्न थालिएको हो । कुनै बेला मदनमणि दीक्षित उपकुलपति रहनुभएको बेला उहाँले भन्नुभएको थियो, ‘के प्रज्ञा–प्रतिष्ठान मुर्दा घर हो’ ? यो साँच्चै मननीय कुरा हो । पछि–पछि अरू साहित्यकार तथा प्राज्ञहरूका शव पनि प्रतिष्ठानलाई सुम्पन थालियो । त्यो सन्दर्भ, विषयको अर्कै लेख हुनसक्छ ।

नारायणगोपाल संगीतयात्रा  

सर्वप्रथम उनले प्रेम–माणिकको संगीतमा ‘आँखाको भाका आँखैले’ –रचना राममान तृषित– गीत गाएका हुन् । ‘ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो’ –युगलस्वर तारादेवी, ‘स्वर्गकी रानी मायाकी खानी’ –रचना रत्नशमशेर थापा, ‘मैले गाएको गीतमा’ –रचना भूपी शेरचन, सहगायन तारादेवी, संगीत नारायणगोपाल, ‘मलाई जिन्दगी यो लाग्दछ’ –रचना ईश्वरवल्लभ, ‘मेरो गीत म उभेको धूलोले सुनोस्’ –रचना नगेन्द्र थापा, ‘तिमीले पनि म जस्तै’ –रचना÷संगीत भीम विराग, ‘जीवनको हरेक मोडमा’ –सहगायन अरुणा लामा, ‘बिछोडको पीडा नसकी खप्न दसैँको बेलामा’ –रचना भूपी शेरचन, सहगायन दिलमाया खाती, ‘ए कान्छा ठट्टैमा’ –सहगायन तारादेवी, ‘तिमी फूल हौ भने’ र ‘हिमालसरि म’ –सहगायन अरुणा लामा, ‘सिरिमा सिरी’ –सहगायन ज्ञानु राणा, ‘पहाडको माथि माथि’, ‘तिम्रो मनमा लुकेको’, ‘मोहनी लाग्ला है’ –सहगायन आशा भोसले, संगीत रन्जित गजमेर, ‘म त लालीगुराँस भएछु’ –रचना क्षेत्रप्रताप अधिकारी, ‘प्रेयसीका यादहरू’, ‘मायाको आधारमा’, ‘विपना नभई’, ‘सधैँ म हासेँ तिमीलाई रुवाइ’ –(२०३६ असार ३१), रचना÷संगीत दिव्य खालिङ, ‘तिमी जुन रहरले ममा फुल्न आयौं’, ‘यो सम्झिने मन छ म बिर्सूँ कसोरी’ –रचना दिनेश अधिकारी, ‘तिमीलाई म के भनूँ’– रचना÷संगीत दीपक जंगम, ‘आँखा छोपी नरोऊ भनी’ –रचना कालीप्रसाद रिजाल, संगीत नारायणगोपाल, ‘तिमीलाई भुल्दा म एक्लो परेछु’ –रचना कञ्चन पुडासैनी, संगीत दिव्य खालिङ आदि गीतहरू उनले गाएका अमर गीत मानिन्छन् ।

‘आज र राति के देखेँ सपना’, ‘दुइटा फूल देउरालीमा’, ‘मैले पुण्य मन पराएँ या पाप मन पराएँ’ आदि कालजयी गीतका लोकप्रिय गायक नारायणगोपालले ‘बागीना’ मासिक पत्रिकाको प्रकाशन–सम्पादन गरेका छन् । उनका ‘यो देश नछोडी’ –रचना प्रदीप रिमाल, ‘बिर्सेर फेरि मलाई नहेर’ –रचना नगेन्द्र थापा, संगीत गोपाल योञ्जन, ‘सारा दिन अरूलाई बाँडे’, ‘तिम्रोजस्तो मुटु मेरो पनि’, ‘यति चोखो यति मीठो’, ‘मेरो गीत मेरै प्रतिबिम्ब हैन’, ‘केही चोटले ज्ञानी हुन्छ’, ‘मलाई माफ गरिदेऊ’, ‘ए मलाई माया गर्छु भन्नेहरू’, ‘जीवनदेखि धेरै धेरै नै थाकेर’ –रचना÷संगीत गोपाल योञ्जन आदि ।

उनको ‘द ब्लु नोट्स’ लङ–प्ले डिस्क रेकर्ड पनि रत्न रेकर्डिङबाट प्रकाशित छ ।

नारायणगोपाल पत्रकार–कथाकार

नारायणगोपाल पत्रकार तथा कथाकार थिए भन्दा आश्चर्य लाग्न सक्दछ । उनले ‘बागीना’ (बाजा, गीत र नाच) सांगीतिक पत्रिकाको प्रकाशन–सम्पादन गरेका थिए । कतिपय अंक अहिले पनि पुस्तकालय, संग्रहालयमा पाइन्छन् । जसमा नेपाली गीत–संगीत र सांगीतिक यात्रासम्बन्धी लेखहरू पनि छापिएको देखिन्छ ।

सर्वप्रथम नेपाली संगीत (शास्त्रीय, लोक, आधुनिक) र संगीत क्षेत्रलाई उजिल्याउने अर्थात् प्रकाशमा ल्याउने काम बागीनामार्फत नारायणगोपालले गरेका हुन् । यस अर्थमा उनी पत्रकार पनि हुन् ।

नारायणगोपालले ‘कान्छी मस्याङ्ग’ गीति नाटकको कथा पनि लेखेका छन् । यो कुरा प्रचारमा आएको देखिँदैन । तर, हो त्यही । उनमा साहित्यिक प्रतिभा र दक्षता पनि थियो भन्ने पुष्टि यी दुई कृति बागीना र कान्छी मस्याङ्गले गरेको देखिन्छ ।

त्यसैले उनको भनाइ यहाँ सान्दर्भिक देखिन्छ– नेपाली संगीतको विकास नेपाली साहित्यसँग सानिध्य राखेर हुन्छ । उनको भनाइले पनि पुष्टि गर्दछ कि उनी एक साहित्यकर्मी पनि थिए ।

नारायणगोपालको स्रष्टा–सर्जक व्यक्तित्व सगरमाथाजस्तै उठेको छ । त्यो संगीत विधामा मात्र सीमित देखिँदैन । त्यसैले केही व्यक्तिहरू उनको प्रसिद्धिसँग जलेको पाइन्छ ।

कुनै पनि समाजमा आँखी, डाही वा ईष्र्या हुन्छ नै । तर, प्रतिभा प्रतिभा नै हो । दक्षता, क्षमता र योग्यतासँग जो कोही सहमत हुनैपर्छ । नेपाली गीत–संगीत वा गायन क्षेत्रमा विशिष्ट योगदान पु¥याउन र सम्मानित तुल्याउन सफल नारायणगोपाल नेपाली संगीतको इतिहासमा मात्र होइन, नेपाली जनमनमा अमिट–अमर छन् । उनको कर्म, कृति र सुकीर्ति आफतावको उज्यालो जस्तै छ ।

(चाबहिल–७, लामोपोखरीमार्ग) 
 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  ०९:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC