site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
देउवालाई ‘महाथिर’ नबनाए हुन्थ्यो !

जनताले आफ्नो मत प्रकट गरे । जनादेशको सम्मान गर्ने नगर्ने अब नेताहरूको नियत र विवेकको कुरा हो । यसपटक नयाँ दलहरूलाई निश्चित क्षेत्रहरूमा ‘अप्रत्याशित’ समर्थन प्राप्त भयो । मधेसमा जनमत पार्टी, बाग्मतीमा राष्ट्रिय स्वतन्त्र पार्टी र सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीलाई जनताले मत दिए । जनमत र स्वतन्त्र पार्टी त पहिलो प्रयासमै राष्ट्रिय दल बने ।

राष्ट्रिय पार्टीहरूको समूहमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)सँगै राष्ट्रिय प्रजातन्त्र पार्टी पनि मिसिन पुगेको छ । विडम्बना, २ जना पूर्वप्रधानमन्त्रीहरूले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) भने प्रतिनिधि सभामा १० स्थानमा जितेर पनि राष्ट्रिय पार्टी बन्न सकेन । अब झलनाथ खनालले कुन ‘आत्मघाती’लाई सराप्ने हुन् ? 

नयाँ सरकार बनाउने कसरत सुरु भएको देखिएको छ । सत्ता राजनीतिमा सबैभन्दा अस्थिर र अवसरवादी रहँदै आएको माओवादी केन्द्रले नै आधिकारिकरूपमा अरू दलले भन्दा पहिले ‘सबै विकल्प खुला राख्ने’ निर्णय गरेको छ । स्पष्ट नलेखे पनि मनसुवा स्पष्टै बुझिन्छ- अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने हो भने एमालेसँग मिल्न पनि माओवादी केन्द्र तत्पर छ । 

Dabur Nepal
NIC Asia

गठबन्धनमै रहेर सत्ताको निम्ति विपक्षीसँग मिल्न तयार हुनु  ‘राजनीतिक बेइमानी’जस्तो देखिए पनि यतिलाई दाहालका हकमा अनौठो नमाने हुन्छ । त्यसो त एमाले पनि सलबलाएकै छ । अध्यक्ष खड्गप्रसाद ओली उति मुखर नभए पनि उनका दूतहरू सबैतिर पुगिसकेका छन् । यो त झन् स्वाभाविक हो । संसदीय व्यवस्थामा विपक्ष सधैँ नै ‘प्रतीक्षारत सरकार’ जो मानिन्छ । अहिले पनि केही ‘कमरेड’ले एकताको मन्त्र जप्न थालेका छन् । बीचबीचमा कम्युनिस्टहरू ‘वाम एकता’को रट लगाउने गर्छन् । ‘कम्युनिस्ट एकता’ भन्न लाज लाग्ने रहेछ कि ?

कांग्रेसमा सरकार बनाउनेभन्दा पनि प्रधानमन्त्री बन्ने होड नै चलेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा निकटहरू आफ्ना नेताको कुर्सी कसैले खोसी पो हाल्ला कि भने झैँ दौडेका दौडेकै छन् । जे होस्, सत्ता राजनीति अब जनताको हातबाट नेताहरूको खल्तीमा पुगेको छ ।

केहीलाई लागेको छ चुनावको संकेत राम्रो छैन । अधिनायकवादी अनुदार सोच हो त्यो । यस्तै उद्यमी व्यापारीले चुनाव जितेको मन नपर्नेहरू पनि देखिए । लोकतन्त्र आत्मसात गर्न नसक्नेहरू समाजका नयाँ हलचल हुँदा यसरी नै छटपटाउँछन् । 

चुनावमा नयाँ दल विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीको उदयले धेरै राम्रा सम्भावनाहरूको ढोका पनि खोलेको छ । नेपाली जनतालाई आफ्ना अनुचर ठान्ने ठूला पार्टीका टाउके लाउकेहरूको मुटुमा ढ्याङ्ग्रो ढोकेको हुनुपर्छ ।

देउवालाई धन्यवाद
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संसदीय निर्वाचन सम्पन्न गर्ने सरकारको नेतृत्व गरेकोमा धन्यवाद नदिनु कृतघ्नता हुन्छ । राजनीतिक संस्कार हुँदो हो त प्रतिस्पर्धी र सहयोगी दलका नेताहरूले खुलेर धन्यवाद दिनुपर्थ्यो ।

समानुपातिक मत र निर्वाचित सांसदको तुलना गरेर हेर्दा त माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि देउवालाई विशेष धन्यवाद दिनुपर्ने हो । कांग्रेसकाे साथ नपाएकाे भए यी दुवै दलको बिजोग हुनेरहेछ त  !

यतिमात्र होइन तत्कालीन प्रधानमन्त्री ओलीले संविधान मिचेर लगातार दुईपटक  संसद् भङ्ग गराएपछिको अन्योलमा देशलाई नेतृत्व दिएर राजनीतिक सङ्कटबाट सहजतापूर्वक अवतरण गराएकोमा पनि देउवालाई धन्यवाद दिनुपर्छ । कम्तीमा जनताका प्रतिनिधिले बनाएको संविधान क्षतविक्षत हुनबाट त जोगियो नि !

नेपाली कांग्रेसका नेताहरू पनि देउवाप्रति कृतज्ञ हुनुपर्छ । प्राविधिकरूपमै भए पनि कांग्रेस पहिलो पार्टी त भयो नि ! अर्थात्, देउवा सभापति हुँदा रहेकै ठाउँमा पार्टीलाई पुर्‍याए । अहिलेसम्म पाँचपटक प्रधानमन्त्री बन्दा चारपटक उनले विपक्षीलाई सरकार बुझाएर छाडेको इतिहास छ । यसैले सत्ता कांग्रेसकै कुनै नेतालाई हस्तान्तरण गरेर छाडे भने देउवाकाे इतिहास पनि सच्चिनेछ । 

नेतृत्व हस्तान्तरण

कांग्रेसका महामन्त्री गगन थापा पार्टीको संसदीय दलकाे नेता बन्न इच्छुक देखिन्छन् । गगनप्रति पार्टीबाहिरकाे जनमत पनि सकारात्मक देखिएकाे छ । लाग्छ, देश र कांग्रेसकै पनि हित गगनलाई अगाडि बढाउनुमै छ । तर, कांग्रेस हो । कम्तीमा ३ पुस्ताका नेताहरूको आँखा सभापति र प्रधानमन्त्रीमा पुगेकाे होला । रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला प्रकटमै देखिएका छन् । शेखर कोइराला पनि गगनका पक्षमा नखुलेका कारण आकांक्षी हुन् कि जस्तो देखिएकाे छ ।

आकांक्षा अस्वाभाविक होइन । जनमत कटु वास्तविकता हो । अहिले जनमतकाे कदर गरे न जनताले अर्कोपटक समर्थन गर्लान् । जनमत सार्थक परिवर्तनका पक्षमा छ । यसैले देशकाे चिन्ता नगरे पनि पार्टीको हित चिताउने हो भने कांग्रेसका पाका नेताहरूले ६० वर्ष नपुगेका नेतालाई बागडोर सुम्प । त्यस पुस्तामा योग्य त मनग्गे छन् तर गगनका पक्षमा प्रतिस्पर्धीहरू नै छन् । यसैले अहिले गगनकाे पक्षमा नारा गुञ्जेको हुनुपर्छ । 

‘वरिष्ठ’हुनुको पीडा 

गगन, प्रदीप, विश्वप्रकाशहरूलाई नेता बनाउन विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, एनपी साउद, ज्ञानेन्द्र कार्कीहरूलाई गगनकाे पुस्तालाई नेताका रूपमा स्वीकार गर्न पर्दाको पीडा बुझ्न सकिन्छ । तिनले देउवा नभए आफू असुरक्षित हुने ठानेका पनि हुनसक्छन् । रामचन्द्र पौडेल, अर्जुननर सिंह, गोपालमानहरूको पीडा अझ चर्को छ । उनीहरूका लागि त यही पाँच वर्ष नै अन्तिम अवसर हो ।

परन्तु, देशका सामु यिनका पीडाको अर्थ हुँदैन । जनादेशको सम्मान गर्ने हो भने सक्षम युवालाई नेतृत्व सुम्पनुपर्छ । जनमतको बेवास्ता गर्ने हो भने अर्कोपटकको चुनावमा अझ जनाधार खुम्चने निश्चितै छ । 

जनताकाे सन्देश आत्मसात गर्ने हो भने परिवर्तन र युवा नेतृत्वको अगाडि आउन दिनुपर्छ ।  अति भएपछि महाथिर मोहम्मद पनि चुनाव हारे । लीक्वान युले बिस्तारै सत्ताबाट विश्राम लिए । महाथिरकाे दिन देख्न परेन । 

अर्को चुनाव नलड्नेहरूका लागि त पुस्तान्तरण शब्द सुन्न पनि मन लाग्दैन होला । तर, जति नै कटु भए पनि चुनावमा प्रकट वास्तविकता त यही हो ।

गठबन्धनकाे धर्म

यसपटक चुनाव पहिले नै गठबन्धन गरिएकाे थियो । यसैले निर्वाचन पहिलेकै गठबन्धनले सरकार बनाउनु संसदीय परम्परा हुन्छ । यसैगरी सरकारकाे नेतृत्व सबैभन्दा ठूलो दलले गर्नु स्वाभाविक देखिन्छ । तर, संसदीय गणितमा बहुमतकाे रेखा जसले नघाउँछ उसैकाे सरकार बन्छ । 

सत्तारुढ गठबन्धन एकै ठाउँमा रहनु संसदीय धर्म भए पनि सत्ताका सामु राजनीतिक मान्यताकाे के भाउ? माओवादी केन्द्रले सङ्केत पनि गरिसकेकै छ । निर्णायक दल कांग्रेस र एमालेले राजनीतिक धर्म पालना गरे हुन्थ्यो । तर, सत्ताका लागि यिनीहरू जे गर्न पनि तयार हुन्छन् । यसैले अहिले अनुमान लगाउनु गलत हुनेछ ।

तैपनि, गठबन्धनमै बसेर बाहिरका दलसँग मोलतोल गर्नु ‘अनैतिक’ जस्तो देखिन्छ । राजनीति भन्दैमा नैतिकताको ख्यालै राख्न नपर्ने त हुँदैन नि । यसैले विकल्प खुला गरेपछि माओवादी केन्द्रले गठबन्धन पनि छाडेको भए राजनीतिक नैतिकता अनुरुप हुन्थ्यो । गठबन्धनका दलहरूले आपसमै पनि त नयाँ छलफल थाले हुन्छ ।

अहिलेको त्रिशंकु संसद् र राप्रपा तथा जनता समाजवादी पार्टीकाे सङ्ख्या हेर्दा कतै २०५२-५५ दोहोरिने त होइन भन्ने झस्को धेरैका मनमा पसेकाे हुनुपर्छ । संसद्को तेस्रो दल माओवादी केन्द्रको सरकार बनाउने चाहना यसैको संकेत त होइन ? उपेन्द्र यादव हारेर के भयो र ? पार्टीकाे लगाम त उनैकाे हातमा छ । राप्रपामा पुरानै खेलाडी पशुपति शमशेर र प्रकाशचन्द्र लोहनी छन् ।   

कांग्रेस र एमालेमा बहुमत सम्भवतः देउवा एवं ओलीका अनुचरकै छ । यसैले सत्तामा जान जे पनि गर्न तयार हुँदैनन् भन्न सकिँदैन । तर राजनीति सफा होस् भन्ने चाहना राख्ने हो भने एमालेका नेताहरूले पनि ओलीकाे सनक रोक्ने प्रयास गरून् । सक्लान् नसक्लान् कांग्रेसभित्र देउवालाई नेतृत्व नदिने प्रयास भएको त । अहिले दाहाललाई भाउ नदिनेबित्तिकै धेरै हदसम्म नेपालकाे राजनीति संग्लिँदै जानेछ ।

अहिले एमालेले प्रयास गरेकाे नयाँ गठबन्धन बन्यो भने कम्युनिस्ट मत थप स‌ङ्कुचन हुनेछ । कम्युनिस्टमात्रको बहुमत नपुगे पनि राप्रपा र जसपा एमालेका गठबन्धनका सहयोगी हुन् । बरू, जनमत र रास्वपा सायद कम्युनिस्ट नेतृत्वका लागि उपयुक्त नहोलान् । 

माओवादी केन्द्रका अध्यक्ष दाहाललाई जनताले सरकारको नेतृत्व गर्ने जनादेश दिएका छैनन् । कांग्रेस वा एमालेले काँधमा चडाए भने ‘समुद्री बूढो र सिनबाद’को कथा दोहोरिने छ र त्यतिबेला बूढोले घाँटी पहिले अठ्याउन पनि सक्छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १३:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro