काठमाडौं । कलाकार तथा साहित्यकार कुनै राजनीतिक पार्टीप्रति आवद्ध हुनु सही हो वा गलत ? यो वर्षौंदेखिको बहसको विषय हो । कोही पक्षमा वकालत गर्छन् त कोही विपक्षमा । यो बहसमा आफ्नो विचार राखे जस्तै कलाकार र साहित्यकार पनि यसको पक्ष/विपक्ष दुवैमा देखिन्छन् । परिणाम ? आफ्नो जीवनकालमा कोही राजनीतिक दलमा आबद्ध हुन्छन् भने कोही तटस्थ ।
फरक यति हो राजनीतिमा/राजनीतिक दलमा खुलेर पक्षपोषण गर्नेले अवसर पाउँछन्, अक्सर नखुल्नेहरू किनारा लाग्छन् । तर, सबै व्यक्ति अवसरको लोभमा आफ्नो व्यक्तित्व कहाँ बेच्छन् र ? बेच्दैनन् । जस्तै ? साहित्यकार कृष्ण जोशी ।
नेपाली साहित्यको उन्यनमा महत्त्वपूर्ण योगदान गरे पनि जोशीले कहिल्यै राजनीति गरेरन् । त्यसैले उनलाई सरकारले कहिँ कतै योग्य ठानेन फगत प्रबल गोरखा दक्षिण बाहु, दीर्घ सेवा पदक ।
कुनै सरकारी साहित्यिक निकायमा नियुक्तिका लागि उनी योग्य ठानिएनन् । जबकी उनीसँग प्रशासनिक अनुभव तीन दशक लामो थियो । प्रशासनिक ज्ञान शून्य भएको व्यक्तिले भन्दा सायद अवसर पाएको भए उनले आफ्नो कुशलता खर्चिएर बाटो बिराएको नेपाली साहित्यको ‘ठेक्का’ लिएका संस्थालाई सही दिशा दिन सक्थे कि ! तर, उनले न यो चाह कसैसँग राखे । न त यसका लागि दौडधुप नै गरे ।
भन्नेले उनलाई प्रजातान्त्रिक भन्थे । मृत्युपछि ‘जोशी कांग्रेस थिए नि !’ भनेको पनि साहित्यकार प्रद्युम्न जोशीले सुने । तर, उनी स्वयंले भने उनको संगतमा यो थाहा पाएनन् । “साढे तीन दशक लामो संगतमा उहाँ कांग्रेस हो भन्ने मैले थाहा पाइनँ । उहाँ डेमोक्र्याट हो । तर, डेमोक्र्याट हुँदैमा कांग्रेसी कोही हुँदैन । विचार र आस्था त हरेक नागरिकमा हुन्छ । मैले बुझे अनुसार उहाँ डेमोक्र्याट विचारधारको समर्थक मात्रै हो, कांग्रेस होइन,” कवि प्रद्युम्न स्पष्ट पार्छन्, “यदि, उहाँ कुनै दल विशेषको झण्डा बोकेर हिँडेको भए उहाँले कतै न कतै सरकारी नियुक्ति पाउनु हुनेथियो । तर, उहाँले त्यसो नगरेकै कारण कतै राजनीतिक नियुक्ति पाउनु भएन ।”
शान्त र सौम्य शैली जोशीको विशेषता थियो । कसैको पक्ष र विपक्षमा नरही कलम चलाउनु उनको धर्म हो । त्यही निष्ठामा उनी जीवनभर हिँडिरहे ।
उपसचिवबाट रिटायर भएका जोशी एलडीओ भएर थुप्रै जिल्लामा काम गरे । सोलुखुम्बु, मुस्ताङ, काभ्रेपलाञ्चोक, दोलखालगायत जिल्लामा बसेर आफ्नो जीवनको उर्वर तीन दशक विताए ।
साहित्यमा आफूलाई अब्बल सावित गरेका पूर्वप्रशासक समेत रहेका कृष्ण जोशी लोकसेवाका विद्यार्थीले पनि सम्झिने नाम हो । लोकसेवा हुँदै सरकारी सेवामा जान प्रतिस्पर्धामा उत्रिने सायदै विद्यार्थी होलान् जसले जोशीको पुस्तक नपढेका होलान् । ‘सार्वजनिक प्रशासन आधुनिक अध्ययन’ (२०३६) लोकसेवाको तयारी गर्ने धेरै विद्यार्थीले खोज्ने पुस्तक हो । दशौं संस्करणसम्म निष्किएको पुस्तक हो यो ।
एक दर्जनभन्दा धेरै साहित्यिक कृति उनले नेपाली साहित्यलाई छोडेर यही सोमबार उनले यो धर्तीबाट बिदाइको हात हल्लाए ।
‘मृत्यु दोहोरिन्छ म बाचेँ भने’ २०३४ सालमा प्रकाशित उपन्यास हो । नेपाली साहित्यको आकाशमा यो निकै लोकप्रिय उपन्यास हो ।
प्रशासन र उपन्यामात्रै होइन जोशीको कलमले गीतिसङ्ग्रह पनि तयार गर्यो । ‘विसङ्गत स्वरहरू’ (गीति कवितासङ्ग्रह २०४९) उनले लेखे ।
भिन्नभिन्न विधामा आफूलाई डुलाइरहने क्रममा जोशीले ०५१ मा ‘असम्मत सम्मत’ नामक (उपन्यास प्रकाशित गरे । फरक विधामा कलमको निप कुदाउने क्रममा २०५४ मा ‘पोखरीभित्रको शताब्दी’ कवितासङ्ग्रह प्रकाशन गरे ।
सम्वत २०५६ मा ‘काठमाडौं वरिपरि’ उनले लेखेको अर्को उपन्यास प्रकाशित भएको थियो ।
लोकसेवाको तयारीलाई लक्षित गर्दै उनले दोस्रो पुस्तक पनि बजारमा ल्याए । जसको नाम थियो, ‘सार्वजनिक प्रशासन’ २०५७ मा प्रकाशनमा आएको यो पुस्तक पनि लोकसेवा तयारी गर्ने विद्यार्थीले रुचाएको पुस्तक मानिन्छ ।
‘आगो समुन्द्र : पानी समुन्द्र’ (कवितासङ्ग्रह २०५८), ‘चित्रदश’ (कवितासङ्ग्रह २०६१), ‘ज्यामीपत्नीको घोषणा’ (कवितासङ्ग्रह २०६९), ‘इभिनिङ इयुटि’ (कवितासङ्ग्रह २०७४) उनका कविता संग्रह हुन् ।
लेखकमा जोशी जति कुशल थिए, सम्पादनमा पनि उनको कौसल पनि त्यति नै उम्दा थियो । त्यसैले उनले एक दर्जन साहित्यिक पुस्तक सम्पादन गरेका थिए ।
उनी लेखनमा मात्रै सीमित रहेनन् । अरू साहित्यकारका रचना संकलन गरेर साहित्यिक पत्रिका पनि प्रकाशन गर्थे ।
वासु शशी परिषद्मा १२ वर्ष अध्यक्ष भएर काम गरेका उनी पछिल्लो समय सो संस्थाको सल्लाहाकार थिए । यसबाहेक करिब एक दर्जन साहित्यिक संघसंस्थामा बसेर उनले आफ्नो अनुभव साटे । र, अनुज पुस्तालाई सिकाए ।
कृष्ण जोशीले थुप्रै पुरस्कार तथा सम्मान पाएका छन् । वासु शशी साहित्य सम्मान–२०७३ द्वाार सम्मानित उनले व्यथित काव्य पुरस्कार २०५९, बगर फाउन्डेशन सम्मान २०६१, भोजपुरे सेवा समाजबाट साहित्य सम्मान २०६२, महाकवि देवकोटा शताब्दी सम्मान २०६६, बेलायत प्रतिभा सम्मान २०६६ प्राप्त गरेका थिए । उनको लेखन कौशल र नेपाली साहित्यको श्रीवृद्धिमा गरेको योगदानको कदर गर्दै दीप ज्योति साहित्य सम्मान २०७०, भानुभक्त पुरस्कार नेपाल सरकार, संस्कृति मन्त्रालय २०७१, शब्दयात्रा, कविता काव्य सम्मान २०७२, समी साहित्य साधना पुरस्कार २०७२ उनलाई प्रदान गरिएको थियो ।
यसबाहेक जोशीले प्रबल गोरखा दक्षिण बाहु, दीर्घ सेवा पदक, जनपद पदक पनि पाएका थिए ।
“उहाँ लेखनमा जति सशक्त हुनुहुन्थ्यो त्यति नै कृतिको नामकरणमा पनि विशेष हुनुहुन्थ्यो भन्ने लाग्छ,” साहित्यकार तथा वासु शशी स्मृति परिषद्मा सचिवसमेत रहेका प्रद्युम्न जोशी भन्छन्, “उहाँले कृतिको नाम कसरी राख्नुहुन्थ्यो भनेर नेपाली साहित्यमा चर्चा हुनेगर्छ । उहाँका कृतिको नाम अरूभन्दा पृथक र गज्जव लाग्छ ।”