पोखरा । एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको लमजुङमा यसपटक सत्ता गठबन्धन र एमाले दुवैका 'हेभिवेट' नेता चुनावी मैदानमा थिए । एमालेले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई मैदानमा उतारेको थियो । उनका प्रतिस्पर्धी थिए, माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ ।
देवलाई कांग्रेससहितको सत्ता गठबन्धनको साथ थियो । एक्लो एमालेका लागि सत्ता गठबन्धन चुनौती हुनसक्ने आकलन गरिएको थियो ।
तर, जसै चुनावी अभियान सुरु भयो, देवलाई 'टुरिस्ट उमेदवार'को ट्याग लाग्यो । उनीमाथि मनाङ छाडेर लमजुङ आएको भन्ने आरोप लाग्यो ।
०७४ मा उनी लमजुङबाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । अहिलेका प्रतिष्पर्धी पृथ्वीसुब्बा नै त्यतिबेला वाम गठबन्धनका उमेदवार देवलाई जिताउन लागेका थिए ।
त्यतिबेलाको गठबन्धन भत्कियो । वाम–लोकतान्त्रिक गठबन्धन बन्यो । त्यो गठबन्धनसँग एमालेको भन्दा बढी मत थियो । त्यही पनि परिणाम देवको पक्षमा आएन ।
गोरखाबाट उनका पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारी मतान्तरले चुनाव जित्दा प्रचण्डपछिको कार्यकारी भूमिकामा रहेका देव पराजित भए ।
उता बागलुङबाट माओवादीका सचिव देवेन्द्र पौडेल विजयी बने ।
कास्की–३ मा माओवादी केन्द्रीय सदस्य रामजीप्रसाद बराल जीवन पराजित बने ।
०७४ मा वाम गठबन्धनबाट प्रतिनिधिसभामा तीन सिट सुरक्षित गरेको माओवादीले यो गठबन्धनबाट चाहिँ चार सिट पाएकोमा आधामात्र जित्न सक्यो । ०७४ मा माओवादीबाट हार्ने उमेदवार गोरखा–२ मा नारायणकाजी श्रेष्ठमात्रै थिए । यसपटक भने माओवादीले थप एक सिट गुमाउँदै दुई सिटमा सुरक्षित हुन पुग्यो ।
यसपटक गठबन्धनका कारण सबैभन्दा ठुलो धक्का एमालेलाई लागेको छ । ०७४ मा गण्डकीका १८ मध्ये १४ सिट लिएर वाम गठबन्धनबाट चुनावमा होमिएको एमालेले १३ सिट जितेको थियो । नवलपुर–१ मा कांग्रेसका उमेदवार डा. शशांक कोइरालाले एमालेका भविसोर पराजुलीलाई हराएर गण्डकीमा नै कांग्रेसको साख जोगाएका थिए ।
यसपटक भने गण्डकीका १८ वटै क्षेत्रमा उमेदवारी दिएको एमालेले १७ सिटको मतपरिणाम आउँदा पाँच सिटमा खुम्चिएको छ । अघिल्लोपटक मुस्ताङ, म्याग्दी, बागलुङ जितेको एमालेले यसपटक त्यहाँ आफ्नो सिट गुमायो ।
कास्कीमा भने ०७४ मा झैँ प्रतिनिधिसभाका तीनवटै निर्वाचन क्षेत्रमा एमाले सफल रह्यो । त्यसबाहेक पर्वत र लमजुङमा एमालेले थप एक–एक सिट जित्यो ।
तनहुँ, मनाङ, नवलपुर–२, स्याङ्जा–१ एमालेले गुमाएको छ ।
अघिल्लोपटक कांग्रेसँगको तालमेलमा गोरखा–२ मा विजयी भएका तत्कालीन नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले यसपटक प्रचण्डका लागि छाडिदिए । उनले उमेदवारी नदिएपछि गोरखा–२ मा प्रचण्ड र १ मा कांग्रेसको उदय भयो ।
प्रतिनिधिसभामा अघिल्लोपटक एक सिटमा खुम्चिएको कांग्रेस भने यसपटक स्याङजा–२ लाई छाड्दा ९ सिटसहित पहिलो पार्टी बन्न सफल भएको छ ।
अघिल्लोपटक चुनावमा हारेको मुस्ताङ, म्याग्दी, तनहुँका दुई क्षेत्र, मनाङ, गोरखा–१, नवलपुरका दुई क्षेत्र र स्याङ्जा–१ मा कांग्रेस उमेदवारले जितेका छन् । राष्ट्रिय जनमोर्चाले बागलुङ–२ मा जितेको छ ।