site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दसैंमा दैनिक २५ करोडको सुन कारोबार हुने अनुमान, भाउ बढेपछि ग्राहक ‘पर्ख र हेर’को रणनीतिमा

काठमाडौं । यो वर्षको दसैंमा दैनिक २५ करोड रुपैयाँको सुन कारोबार हुने अनुमान व्यवसायीहरुले गरेका छन् । सिजनको बेला अनपेक्षित रुपमा माग बढ्ने गरेका कारण ठूलो परिमाणमा सुन कारोबार हुने गरेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाडपर्वमा सामान्य समयमा भन्दा सुनको माग निकै बढी हुन्छ । “दसैंमा दैनिक ५० किलोसम्म पनि माग हुन्छ । यो अरु समयको भन्दा दोब्बर हो,” महासंघका महासचिव दियशरत्न शाक्यले भने, “यो दसैंमा पनि ५० किलोसम्म माग हुने अनुमान गरेका छौं ।”

सुनको माग उच्च भए पनि सरकारले भने दैनिक २० किलोमात्र उपलब्ध गराउँदै आएको छ । महासंघले भने यो कोटा बाढाएर सामान्य दिनमा २५ किलो र सिजनमा दैनिक ३० किलो माग गर्दै आएको छ । 

“सरकारले हामीले मागेजति दियो भने पनि माग धान्न त्यही सुनले त पुग्दैन । तर, हामीसँग रहेको स्टक र फिर्ता आएको सुनले ग्राहकको माग धान्छौं,” महासचिव शाक्यले भने, “हामीले १५ किलोबाट कोटा बढाएर २० किलो पुर्याउन ५ वर्ष कुर्नुपर्यो । हेरौं, यो पटक सरकारले कति समय लगाउँछ । मन्त्रालयमा कुरा गर्दा उहाँहरु सकारात्मक कुरा गर्नुहुन्छ । आशा गरौं, हाम्रो मागको चाँडै सुनुवाइ हुन्छ ।”

सुनको भाउ बढेकाले अहिले बजारमा उल्लेख्य चहलपहल भने छैन । “सुनको भाउ अकाशिएकाले गाह्रक पर्ख र हेरको रणनीतिमा छन् । भाउ सस्तो हुन्छ र किनौंला भनेर ग्राहक पर्खिरहेका छन् । सस्तो भएको भए बजार सुरु भइसकेको हुने थियो,” महासचिव शाक्यले भने । 

महासंघका अध्यक्ष मोहनबहादुर बिक चाडबाड र सिजनमा सधैं सुनको अभाव हुने गरेको बताउँछन् । “माग अनुसारको सुन नहुँदा चाडबाडमा सधैं अभाव हुन्छ ।  हामी पहल गरिरहेका छौं कोटा बढाउनका लागि तर सरकारले हाम्रो मागअनुसार कोटा वृद्धि गरेको छैन,” बिकले भने, “सुन नभई नहुने वस्तु नभए पनि चाडबाडमा लगाउने चलन भएकाले सकेसम्म सबैले किन्न खोज्नुहुन्छ । तर बजारमा खोजेका बेला सुन पाइँदैन ।” 

सरकारको लापरबाहीका कारण बजारमा सुनको अभाव भइरहेको महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्य बताउँछन् । “सरकारले सुनको बजार २० किलोमा सीमित गर्दा कालोबजारी भइरहेको छ । सबैलाई थाहा भएकै हो, सामान्य दैनिक माग पनि सरकारले दिएको सुनले धान्न नसकेको अवस्थामा तस्करीको सुन कहाँ गइरहेको छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ,” उनले भने, “तस्करीको सुन प्रयोग गर्नुपर्छ भन्न खोजेको होइन । सरकारले २० किलोमा बजारलाई सीमित गर्दा गैरकानुनी बाटोबाट आएको सुन पनि बजारमा प्रयोग भइरहेको छ भन्ने हो ।”

ठूला सुन व्यापारीलाई दैनिक २–३ किलो सुन चाहिने गरेकोमा उनीहरुको कोटामा आउने १०–१५ तोलाले माग धान्न नसक्ने शाक्यको भनाइ छ । यस्ता पसलले माग कसरी धानिरहेका छन् भन्ने बुझेर सरकारले सुनको कोटा बढाउनुपर्नेमा शाक्यको जोड छ । 

सरकारका कारण नेपालीले आफ्नो इच्छाअनुसार चाहे जति सुन किन्न र बेच्न नपाएको उनको गुनासो छ । “हामी नेपाली सधैं सुन्न किन्न सक्दैनौं । यस्तै चाडपर्वमा पैसा जोहो गरेर सुन किन्ने हो तर सुन पसलले आफ्ना नियमित ग्राहकको अर्डर पनि लिन सकेका छैनन्,” संघका पूर्वअध्यक्ष शाक्यले भने, “यो अभावको फाइदा तस्करीको सुन प्रयोग गर्नेले उठाइरहेका छन् । अन्ततः यसको  प्रभाव सरकारलाई नै पर्छ । यसमा सरकारले गम्भीर भएर सोच्नुपर्छ ।” भूकम्पपछि सुधार हुँदै गएको सुनको बजार सरकारको २० किलोको कोटाले उठ्न नदिएको शाक्यको गुनासो छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३०, २०७४  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro