
साहित्यको सबैभन्दा पुरानो विधा कविता अझै धेरै पढिने र लेखिने विधा हो । लेख्न रहर गर्नेहरू प्रायःले सबैभन्दा पहिले कविताकै रचना गर्छन् । तैपनि कविताको चर्चा कमै हुन्छ । गंगाप्रसाद खनियाका कविताहरू यसका उदाहरण हुन पुगेका छन् ।
कविता लेख्न त खनियाले पक्कै पनि उहिल्यै थालेका थिए होलान् तर पुस्तकाकारमा प्रकाशनको चाँजो असोज, २०७९ मा मात्र परेछ । लामो समय सरकारी सेवामा बिताएका खनियालाई सेवाको अनुशासन पनि बाधा बन्यो होला मन फुकाएर लेखेका कविता प्रकाशन गर्नका लागि । फुर्सद पनि नभएको हुनसक्छ । धक पो लागेको थियो कि ?
‘गंगा खनियाका कविताहरू’मा १०४ वटा कविताहरू संकलित छन् । ‘गाउँसमाज’ अन्तर्गत २१ वटा, ‘२९’ र ‘देशदेशान्तर’मा ५४ वटा कविता रहेका छन् । कविताहरूमा खनियाले एकातिर लमजुङको प्रसिद्ध गाउँ दुराडाँडादेखि अमेरिकाको मायामीसम्मको वर्णन गरेका छन् । अर्कातिर पुराणका कथाहरूमा नयाँ सन्दर्भ र एक्काइसौं शताब्दीको युगबोध प्रकट भएका छन् ।
काव्यात्मकता छिपछिपे नै छ भने विषयको विस्तार व्यापक छ । खनियाले जन्मे हुर्केको मात्र होइन आफूले पाइला टेकेका ठाउँलाई पनि आफ्ना कवितामा उतारेर सबैको रिन गुन तिरेका छन् ।
‘गंगा खनियाका कविता’मा संकलित ‘एक मान्द्रो बिस्कुन बाँड’ शीर्षकको कविताले भन्छ :
‘मलरा सदा माटो समाएरै सधैँका लागि निदाए
सुर्जे तामाङ रित्तो पेटमा नाम्लो बाँधेर बिदा भए
वीरेन्द्र गोइतवारले सिमानामै भाउन्न भएर संसार छाडे
भो कलाविहीन प्रहसन नगर
बरु बुधनीको मुहारमा खुसी उमार
अलिकति अनुराग
अलिकति ओखती
एक मान्द्रो बिस्कुन बाँड...’
प्रस्तुति : बाह्रखरी डेस्क