खुडी
(गजलसंग्रह : कमल सङ्घर्ष)
चोटिला र गहकिला गजलहरू लिएर आएका छन्, युवा स्रष्टा कमल सङ्घर्ष । र, उनको नवीनतम गजलकृति हो, ‘खुडी’ ।
खुडीमा कमलको एउटा शेरले भन्छ–
खुसी काफिया बनेर आउँछ जिन्दगीमा
दुःख रदिफ हो बारम्बार दोहरिन खोज्छ (पृष्ठ — २१)
रदिफ र काफिया गजलका महत्त्वपूर्ण अंग हुन् । त्यही रदिफ र काफियालाई शेरमा पस्केका गजलकार कमल आफ्नो भनाइमा लेख्छन्, “नेपाली गजल साधनाको दौरानमा सडक प्रकाशन भएसँगै तपाईंहरूबाट पाएको माया, प्रेरणा, सुझाव र अपेक्षाको भारीले मलाई गहु्रंगो बनाइदियो । त्यही भारीले नै मलाई यात्रामा सतर्कता अपनाउन सिकायो । गजल यात्राकै क्रममा केही दृश्य अदृश्य अवरोधहरूसँग साक्षात्कार गर्ने मौका दियो ।...।”
उनको एउटा अर्को गजलको शेरले भन्छ—
मेहफिलमा बसेर सकियो मेरो जिन्दगी
तिम्रो पनि जिन्दगी सकियो, वाह वाह गर्दै (पृष्ठ — २९)
अछामका यी गजलकारको खुडीमा नेपाली र खस भाषामा गरी ८६ गजलहरू संगृहीत छन् ।
शिखा बुक्सद्वारा प्रकाशित १०४+४ पृष्ठको यस कृतिको मूल्य २५०– रुपैयाँ राखिएको छ ।
०००
बाँचेको युग मरेका मान्छे
(अनुभव अनुभूति : विश्वम्भर चन्चल)
नेपाली साहित्यिक वृत्तमा चिरपरिचत व्यक्तित्व हुन्, विश्वम्भर चन्चल । साहित्यका विविध विधामा कलम चलाउने चन्चलको अनुभव र अनुभूतिहरू समेटिएको सँगालो हो, ‘बाँचेको युग मरेका मान्छे’ ।
यो पुस्तक साहित्यकार चन्चलको जीवनका आरोह–अवरोहहरूको बिटो हो । उनले आफ्नो भनाइमा कृतिबारे लेखेका छन्, “समय त्यसैत्यसै खेर गएकोमा दिक्क लागेर आयो र पश्चात्तापले पनि पोल्दै गयो । लेख्न बसेँ । तर, लेखूँ के ? दोधारमा परेँ । उपन्यास लेख्न त मेरो धैर्य नै थिएन । लेख्न सुरु गरेका दुई–तीन उपन्यास पनि पहिलो एक–दुई परिच्छेद लेखेर छोडिसकेको थिएँ । कथामा आफूले आफैँलाई सन्तुष्ट राख्न सकेको थिइनँ । विचार आयो, सजिलो विषय लेख्ने । सोचेँ— लेखिसकौँ पहिले, जीवन बाँच्दै कसैलाई काम लागे राम्रै भयो । नभए, पछिका लागि होला । समय काट्न त सजिलो भयो त्यतिन्जेल ।”
चन्चलका थुप्रै कथाकृतिहरू प्रकाशित छन् । कथासँगै उनका बालकविता, बालउपन्यास, बालगीत, बालकथाहरू पनि कृतिका रूपमा प्रकाशित भइसकेका छन् ।
यस कृतिभित्र उपसंहार समेत गरी २६ शीर्षकमा जीवनका अनगिन्ती पाटाहरूलाई उप्क्याउने प्रयास गरिएको छ । एउटा समय साझा प्रकाशनको महाप्रबन्धक समेत रहेका उनले यस कृतिमा आफ्नो स्मृतिमा रहेका बाल्यकालीन उमेरदेखि अहिलेसम्मका घटना–परिघटना समेटेको जनाएका छन् ।
पुस्तकको एउटा अंशमा चन्चल लेख्छन्, “स्कुल जाँदा पिताजीले खाजा खर्च भनेर दिने गर्नुभएको पैसा पछिपछि बाइसाइकल सिक्नमा नै सकिन्थ्यो । बइसाइकल साहूले भाडास्वरूप एक घण्टाका लागि एक सुका अर्थात् २५ पैसा लिन्थ्यो । तर, म धेरैपछिसम्म पनि बाइसाइकलको पाउदानीलाई दोहोरो चलाउन जान्दैनथेँ । चढ्नका लागि अलि अग्लो ठाउँको भर गर्नु पर्दथ्यो ।...।” (पृष्ठ — २१)
रत्न पुस्तक भण्डारद्वारा प्रकाशित ५१२+४ पृष्ठको यस पुस्तकको मूल्य ८९५– रुपैयाँ राखिएको छ ।
०००
साँझको जून
(हाइकुसंग्रह : वसन्तराज अज्ञात)
काव्य र गीत लेखनमा सक्रिय छन्, वसन्तराज अज्ञात । उनी एक कुशल चित्रकार पनि हुन् ।
वसन्तको केही समयअघि हाइकुसंग्रह सार्वजनिक भएको छ, ‘साँझको जून’ । जसमा उनका हाइकुहरू समेटिएका छन् ।
चेप्टेको चेप्ट्यै
दुई ढुङ्गामाझमा
मेरो नेपाल ! (पृष्ठ — ३०)
उनको एउटा हाइकुले देशलाई यसरी प्रस्तुत गरेको छ ।
वसन्त यस कृतिको विषयमा लेख्छन्, “अहिले म यो हाइकुसंग्रह प्रकाशनको क्रममा छु । हाइकुले के दिन्छ ? त्यो आ–आफ्नै सोचमा फरक पर्छ । मैले चाहेर भन्दा पनि समय सदुपयोग गरेर लेखेका केही हाइकुहरूको संकलन हो यो । हाइकुलाई ‘चटनी’का रूपमा हेर्ने–बुझ्ने गरेको छु ।”
यस कृतिको भूमिकामा नेपाल हाइकु संघका अध्यक्ष चेतनाथ धमला लेख्छन्, “उनले भूकम्प, कोरोना, बर्ड फ्लुलगायत प्राकृतिक विपद् र महामारीबारे हाइकु रचेका छन् । विपद्मा पर्ने अभाव र वियोगको त्रासदी भयानक रहन्छ नै । त्यस्तो शोक र पीडालाई जापानी कवि र कलाकारले सिर्जनामार्फत नयाँ चेतना पैदा गर्छन् र सुन्दर हाइकु, हाइगा वा कविता आदि विधामा उतार्ने गर्छन् । यस प्रवृत्तिमा हाइकुकार वसन्तराज अज्ञात पनि देखा परेका छन् ।”
डा. देवी नेपाल लेख्छन्, “...विन्दुमा सिन्धु खिच्ने क्षमता नभएको व्यक्तिले हाइकु लेख्ने आँट गर्दैन, अनुभूतिलाई प्रकृतिक विम्बसँग अन्तरघुलन गरेर सत्र अक्षरमा समेट्न नसक्ने स्रष्टा हाइकुकार हुनै सक्दैन । वसन्तजीमा उल्लिखित दुवै क्षमता सबल देखिन्छ...।”
कौशिकी साहित्य प्रतिष्ठानद्वारा प्रकाशित १०४+४ पृष्ठको यस कृतिको मूल्य २५०– रुपैयाँ राखिएको छ ।