काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । मतदाता शिक्षाका लागि काठमाडौं महानगरपालिकाले वडास्तरीय ‘मतदाता शिक्षा सञ्चालन समिति’ गठन गरेर संयोजकहरुलाई अभिमुखीकरण सम्पन्न गरेको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको संयोजकत्वमा रहेको ‘स्थानीय तह स्तरको मतदाता शिक्षा समन्वय समिति’ को बैठकले वडा सचिवको संयोजकत्वमा शिक्षा सञ्चालन समिति गठन गरेर अभिमुखीकरण सञ्चालन गरेको महानगरले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को निर्वाचन शिक्षा कार्यक्रमअन्तर्गत प्रशासन विभागले अभिमुखीकरण सम्पन्न गरेको हो । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को मतदाता शिक्षा कार्यक्रम निर्देशिकाबमोजिम मतदाता शिक्षा हेर्ने आयुक्तको संयोजकत्वमा ८ सदस्यीय निर्देशक समिति, निर्वाचन आयोगका सचिवको संयोजकत्वमा ९ सदस्यीय कार्यान्वयन समिति र सचिवकै सयोजकत्वमा ८ सदस्यीय जाँचबुझ तथा अनुगमन समिति गठन गर्ने व्यवस्था छ ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय जिल्ला स्तरीय समिति, पालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा ४ सदस्यीय स्थानीय तह स्तरको समन्वय समिति र वडा सचिवको संयोजकत्वमा ३ सदस्यीय मतदाता शिक्षा सञ्चालन समितिको व्यवस्था छ ।
महानगरको समन्वय समितिले वडा स्तरीय समितिका संयोजक (वडा सचिव) लाई महिला स्वयम्सेविका १ जना र सहायक स्तरको कर्मचारी १ जना तोक्ने अधिकार दिएको छ ।
महानगरको प्रशासन विभागका प्रमुख महेश काफ्लेकाअनुसार निर्देशिकाले वडामा सञ्चालन हुने मतदाता शिक्षा समुदायस्तर÷घरदैलो कार्यक्रमका लागि वडामै कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरु मध्येबाट न्युनतम एसईई उत्तीर्ण गरेका एकजनालाई तोक्नु पर्नेछ ।
महानगरका सहायक निर्देशक एवं निर्वाचन सम्पर्क व्यक्ति राम सापकोटाकाअनुसार कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म समुदायस्तरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुनेछ । वडा क्षेत्रभित्रका सबै मतदातालाई समेट्ने गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन कार्यतालिका तयार गरी महिला स्वास्थ्य स्वयंसेविकाबाट वडाभित्र समुदायस्तरमा घरदैलो कार्यक्रम सञ्चालन हुनेछ ।